
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीरु पुनले नचाहँदा नचाहँदै आफू मन्त्री बन्नुपरेको बताएका छन् । मन्त्रीको सपथ ग्रहण समारोहमा उनले पत्रकारहरुलाई झर्रो जवाफ दिएर एकछिन हँसाए ।
पुनले आफूलाई मन्त्री भएपछि केही पनि सेवासुविधा नचाहिने बताए ।
अरु मन्त्रीहरुले सेवासुविधा त्यागिरहेका छन्, तपाईं के गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई सेवा सुविधा केही पनि चाहिँदैन । मन्त्रालयमै ओछ्याएर सुत्ने हो । मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र खुरुखुरु काम गर्छु ।’
पत्रकारले उनलाई मन्त्री भएपछि के के काम गर्नुहुन्छ भनेर सोधेका थिए । उनले ठट्यौलीमिश्रित जवाफ दिए ।
पुनले भने, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तो यस्तो गर्छु भन्ने थिएँ । अपर्झट मन्त्री भइएको छ । प्लान बनाएर आएको भए पो त । राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो । किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्छस भनेर कसरी भन्ने ।’
सबैभन्दा पहिलो काम के गर्नुहुन्छ रु भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मन्त्रालयमा गएर के के काम छ त्यसपछि भन्छु ।’
पुनले यसअघि नेपालमै बसेर केही गर्न चाहनेले सामाजिक सञ्जालमा सुझाव माग्दा ‘जे मन लाग्छ त्यही गर्नु’ भन्ने जवाफ दिएका थिए, जुन निकै भाइरल भएको थियो । यो विषयमा आज उनलाई पत्रकारले कोट्याए । पुनले यस्तो जवाफ दिए :
‘युवाहरुलाई जेसुकै गर, आफ्नो बुद्धि लगाएर गर भनेको हो । अहिले पनि मैले भन्ने त्यही हो । हरेक युवाले कसैको पुच्छर लागेर काम गर्ने होइन । जे गर्न सकिन्छ, जे मन लाग्छ गर्ने हो । आफ्नो बुद्धिले गर भनेको हो त्यतिबेला । जेसुकै गर, सुतेर बस भनेको त छैन नि ।’
तपाईं शिक्षा मन्त्री भएपछि सबैले निशुल्क शिक्षा पाउँछन् ? भन्ने अर्को प्रश्नमा पुनले जवाफ दिए, ‘म भगवान हो र निशुल्क शिक्षा दिन ? केही न केही होला, गरम्ला । अहिले कसरी भन्ने रु पत्रकारले आजै मर्लाइ नपेल्नु न हो ।’

Leave a Reply