जेन-जी आन्दोलन : ड्रेसिङ गरेर अस्पतालबाट निस्केका मोहन सरदार घर पुग्न पाएनन्

विराटनगर ।  निर्माण मजदुर मोहन सरदार इटहरी आसपास घर बनाउने गर्थे । कामका सिलसिलामा उनको हातमा चोट लागेको थियो । त्यही चोटले गर्दा केही दिनदेखि काममा जान सकेका थिएनन् ।

भदौ २४ गते सरदार हातमा लागेको घाउको ड्रेसिङ गर्न घरबाट हिँडे । उनले इलाका प्रहरी कार्यालय अगाडि नै रहेको इटहरी सामुदायिक अस्पतालमा घाउको ड्रेसिङ गरे । इलाका प्रहरी कार्यालय अगाडि जेन जी आन्दोलन चलिरहेको थियो ।

अघिल्लो दिन उपमहानगरपालिकामा आगजनीमा संलग्न केही युवा पक्राउ परेका थिए । पक्राउ परेकालाई छाड्नुपर्ने माग राख्दै प्रदर्शनकारी उपमहानगरसँगै जोडिएको इलाका प्रहरी कार्यालयमा घेराउ र तोडफोडमा उत्रिएका थिए । इप्रकामा पनि तोडफोड भइसकेको थियो । सरदारले अस्पतालबाटै यी सबै दृश्य देखे ।

प्रदर्शनकारीले प्रहरी कार्यालयमा आगजनी गर्न थाले । डीएसपीको कमान्डमा रहेका प्रहरीहरू कार्यालय त परकै कुरा ज्यान जोगाउन प्रयासरत थिए । भीड तितरबितर पार्न प्रहरीले गाेली चलायाे । ड्रेसिङ गरेर भिड छल्दै अस्पतालबाट पश्चिमतर्फ लाग्दै गर्दा उनलाई गोली लाग्यो ।

४० वर्षीय सरदार भुइँमा ढले । उनलाई प्रदर्शनकारीले नै एम्बुलेन्समा हालेर धरानस्थित घोपा क्याम्प पुर्‍याए । अस्पतालमा डाक्टरले सरदारलाई मृत घोषणा गर्‍यो ।

मोहनका दाजु गवनलाल भन्छन्, ‘ड्रेसिङ गर्न गएको भाइ नफर्किएपछि खोजी गर्‍यौं । कहीँ कतै फेला पारेनौं । आन्दोलनमा गयो भन्ने त लागेकै थिएन । कहिलै यस्ता आन्दोलनमा नहिँडेको भाइ आन्दोलनमा परेर मर्‍यो होला भन्ने अनुमान नै गरेनौं ।’

४ दिनसम्म घर नफर्कएपछि भाइ खोज्दै उनीहरू अस्पताल पुगे । बल्ल मोहनको मृत्यु भइसकेको अस्पतालबाट जानकारी पाए । परिवार अस्पताल पुगेपछि मात्र सरदारको पहिचान खुलेको थियो ।

विदेश उड्ने तरखरमा थिइन् श्रीमती

मोहन सरदारको परिवार सुकुमबासी बस्तीमा बस्दै आएको थियो । यहाँका अधिकांश मानिस ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । सरदारका दुई छोरीहरू छन् । मोहनलाई पत्नी मञ्जुले मजदुरीमा सघाउँथिन् । मजदुरीले घर नचलेपछि उनी वैदेशिक रोजगारीका लागि कुवेत गएकी थिइन् ।

कुवेतमा कमाएर श्रीमतीले अलि अलि पैसा पठाएपछि सरदारले घर बनाउँदै थिए । घर पूर्णरूपमा बनिसकेकै छैन । बिदामा घर आएकी मञ्जु पुन: फर्किने तयारीका साथ जहाजको टिकटसमेत तयार थियो । तर, उपचार गर्न हिँडेका पति कहिलै नफर्किएपछि उनी रनभूल्ल परेकी छन् ।

मञ्जु भन्छिन्, ‘छोरीहरूलाई कसरी पढाउने ? के खाने ? दबाई गर्न गएका थिए । किन मारे ?’

‘एक पटक विदेश गएर आएपछि घर बनिसक्छ भन्ने लागेको थियो । अब त जान पनि नसकिने भयो । घर बनाउने सपना थियो । यो घर पनि अब कसरी बनाउने ? कसरी चलाउने ‘, उनी भन्छिन् ।

जेनजी आन्दोलनका क्रममा इटहरीमा उनीसँगै २४ वर्षीय अभिषेक श्रेष्ठको पनि गोली लागेर मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *