हितेन्द्रका दुखः प्राधिकरणबाट लखेटिए, घरमा आगजनी

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यको फेरि पुरानै नियति दोहोरिएको छ । उनी छोटो समयमै प्राधिकरणबाट लखेटिएका छन् ।

आफ्ना चिरप्रतिस्पर्धी कुलमान घिसिङ अचानक ऊर्जामन्त्री बनेपछि हितेन्द्रको पद संकटमा परिसकेको थियो । कुलमानले कुनै धैर्यता नराखिकन तत्कालै हितेन्द्रलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरिदिएका छन् । हितेन्द्र कुलमानसँग मिलेर काम गर्ने मुडमा थिए । तर, कुलमानले आफू अनुकूलको कार्यकारी निर्देशक ल्याउन चाहे । फलतः हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा थान्को लगाइएको छ ।

नेपाल प्रेससँग संक्षिप्त फोन सम्वादमा हितेन्द्रले चरम नैराश्यता व्यक्त गरे । अब फेरि कानूनी लडाइँ लड्नुहुन्छ कि लड्नु हुन्न भन्ने जिज्ञासामा खुइय गर्दै भने, ‘म थाकेँ हौ… अहिले त केही सोचेकै छैन ।’

हितेन्द्र यति धेरै निराशामा पुग्नुपछाडि प्राधिकरणको कार्यकारी निर्देशकको पद गुमाउनु मात्र कारक होइन । अर्को कारण हो उनको घर आगजनीमा परेर ध्वस्त हुनु । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हितेन्द्रको ज्वागलस्थित घरमा पनि आगो लगाइयो । त्यसबेला उनी देशबाहिर थिए । परिवारका सदस्यहरु घरमै भएको बेला आक्रमण भएको थियो । उक्त घटनापछि हितेन्द्रकी पत्नी ट्रमामा छिन् ।

हितेन्द्र शनिबार मात्र नेपाल आए । घरको अवस्था देखेर स्तब्ध बनेका उनले आफ्नो फेसबुक प्रोफाइलमै जलेको घरको फोटो राखेका छन् । उनी तत्काल बासस्थानको व्यवस्थापन गर्नुपर्ने तनावमा छन् ।

शाक्यले भने, ‘घरमा सबै कुरा सखाप गरिएको छ । बस्नलायक नै छैन । म अहिले त थातथलोको खोजीमा छु ।’

हितेन्द्र आफ्नो बर्खास्तीका विरुद्धमा अदालत जाने बलिया आधारहरू छन् । तर, उनी अदालतप्रति पनि उति आशावादी देखिँदैनन् । कारण उनले यसअघि आफूलाई हटाइँदा हालेको मुद्दामा ३७ पटक पेशी तोकिँदा पनि फैसला भएन ।

कुलमानको पहिलो चार वर्षको कार्यकाल सकिएपछि केपी ओली सरकारले २०७७ साल माघमा हितेन्द्रलाई खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गरेको थियो । चार वर्षको कार्यकाल भए पनि उनी त्यसपछि बनेको शेरबहादुर नेतृत्वको सरकारले उनलाई हटाएर फेरि कुलमानलाई ल्यायो । उक्त निर्णयविरुद्ध हितेन्द्र अदालत गएका थिए ।

अदालतले सुरूमा उनको पक्षमा अन्तरिम आदेश दियो तर पछि कुलमानलाई काम गर्न रोकेन । उक्त मुद्दा अदालतमा लामो समय विचाराधीन रह्यो । त्यसको फैसला नहुँदै फेरि ओली सरकारले कुलमानलाई हटाएर हितेन्द्रलाई प्राधिकरणमा फर्कायो ।

उक्त निर्णयविरुद्ध कुलमान पनि अदालत गए । अदालतले कुलमानको पक्षमा अन्तरिम आदेश दिएन । तर, समयचक्रमले कुलमान मन्त्रालयकै नेतृत्वमा पुगेका छन् । उनले उर्जामन्त्री बनेलगत्तै हितेन्द्रलाई राजीनामाका लागि दबाब दिएका थिए । हितेन्द्रले राजीनामा नदिने बताएपछि उनलाई मन्त्रीपरिषदबाट निर्णय गरेर ‘सरुवा’ गरिएको हो ।

हितेन्द्र प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृति लिएर गत २१ भदौमा एक कार्यक्रमका लागि फ्रान्स गएका थिए । कुलमान ऊर्जामन्त्री नियुक्त हुँदा पनि उनी त्यतै थिए । पदभार ग्रहणमा उपस्थित हुन नसकेका उनले सामाजिक सञ्जालबाट कुलमानलाई बधाई तथा शुभकामना दिए ।

गत शनिबार उनी नेपाल फर्किए । फर्किएलगत्तै ऊर्जा मन्त्रालयमा पुगेर कुलमानलाई ब्रिफिङ गरे । मन्त्रीको निर्णय अनुसार डेडिकेटेड फिडर र ट्रङ्कलाइनको जरिवाना असुल गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका थिए । तर, पनि कुलमान उनीसँग विश्वस्त हुन सकेनन् ।

हितेन्द्रले विद्युत प्राधिकरणमा ३० वर्ष बिताएका छन् । कुलमानजस्तै उनी पनि एक दक्ष इन्जिनियर हुन् । उनले भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट जलस्रोत इन्जिनियरिङ गरेका छन् । भारतबाटै उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका थिए । शाक्यले २०४७ सालमा सातौं तहको इन्जिनियरको रुपमा प्राधिकरणमा आफ्नो करिअर थालेका हुन् ।

उनले प्राधिकरणका लगभग सबै महत्वपूर्ण विभागहरूमा रहेर काम गरिसकेका छन् । नजिकबाट चिन्नेहरू उनलाई कुशल प्राविधिक र सोझो व्यक्तिका रूपमा चित्रण गर्छन् ।

दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा दुवैपटक उनलाई केपी ओलीको सालो भनेर प्रचारित गरिएको थियो । तर, ओली र उनकी पत्नीसँग आफ्नो कुनै पनि पारिवारिक सम्बन्ध नरहेको उनले प्रष्ट्याइसकेका छन् । अहिले हितेन्द्रको घरमा आगजनी हुनुमा पनि यही गलत प्रचारले काम गरेको हुन सक्ने उनको अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *