
काठमाडौं । जेनजी आन्दोलनका प्रमुख पात्रका रुपमा उदाएका सुदन गुरुङ आज मन्त्रीपरिषद बैठक चल्दाचल्दै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगे । आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा गुरुङविरुद्ध जेनजी आन्दोलनका घाइतेहरुले नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री कार्यालय कार्यालय छिर्नुअघि उनलाई केहीबेर सञ्चारकर्मीले घेरे । गुरुङले आफू ‘मन्त्रीपरिषद विस्तार हुन लागेको सुनेर हेर्न आएको’ दावी गरे । मन्त्रीपरिषदमा को–को थपिँदैछन् भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो ।
खारिएको राजनीतज्ञको भाषा बोल्दै गुरुङले भने, ‘मन्त्रीपरिषद विस्तार प्रधानमन्त्रीले गर्ने हो । मैले यसमा कुनै पनि हस्तक्षेप गर्दिनँ । नत्र त म र केपी ओलीमा के फरक भयो र ? निस्पक्ष र योग्य मान्छे जानुपर्छ भन्ने मात्रै मेरो चासो हो ।’
आफूलाई मन्त्री बनाइदिनुपर्यो भनेर फोन आएर हैरान भएको गुनासो गुरुङले गरे ।
उनले भने, ‘मलाई थाहै थिएन यस्तो साह्रो मान्छेहरुले फोन गर्छ भनेर । मन्त्री बनाइदिन भनेर मेरोमा हेर्नुस यति धेरै कल आइरहेको छ । मेरो भाइबहिनीको रगतले खाली भएको पद हो । मलाई लाज लाग्छ कुरा गर्न । मैले आफूलाई त मन्त्री मागेको छैन । मान्छेहरु लडेको लड्यै छन् । मन्त्रीका लागि मलाई फोन नगर्नुस । मैले इन्टरेन पनि गरको छैन ।’
प्रधानमन्त्री कार्कीले नै सम्भावित मन्त्रीहरुको सूची तयार पारेको र त्यसकै आधारमा आफूले केही व्यक्तिहरुलाई अनुरोध गरेको उनले बताए ।
उनले भने, ‘म्यामले नाम राखेको भरमा मैले दाइहरुलाई ढोगेको हो । आउनुपर्यो भनेर अनुरोध गरेको हो । कुलमान दाइलाई ढोगेको हो । भाइ म आउँदिन भन्नुभएको थियो । दाई तपार्इंहरु आउनुभएन भने सरकार कमजोर हुन्छ भनेर रिक्वेस्ट गरेँ । महावीर पुन त ताप्लेजुङमा छु भन्नुहुन्थ्यो । मैले रिक्वेस्ट नै गरेको हो । बाँकी म छान्दिनँ । म्यामले आफैं काम गर्न पाउनुपर्छ । मन्त्रीपरिषद विस्तार हुँदैछ भन्ने सुने । कोको रहेछ भनेर हेर्न आएको मात्र हो ।’
बाहिर आफ्नो विषयमा भइरहेका टिकाटिप्पणी र विरोधहरुप्रति उनले दुख व्यक्त गरे । उनले आफू परिस्थितिले बनाएको नेता भएको बताए ।
नेताहरुलाई संविधानले रक्षा गरेकाले समात्न नमिलेको उनको भनाइ थियो ।
गुरुङले भने, ‘संविधानले उहाँहरुको रक्षा गरेको छ, समात्न नमिल्ने रहेछ । संविधान फालौं भने इन्डियाले क्याप्चर गर्ला कि भन्ने डर छ रे । कस्तो दोधारमा छु । के गर्ने गर्ने । राजनीति नबुझ्ने मान्छेलाई एकदम गाह्रो भएको छ ।’
उनले मेयर, सिडिओ सबै पुरानै भएकाले अप्ठेरो परेको पनि बताए । ‘मेयर, सिडिओ सबै पुरानै रहेछन् । सबै मिलेर जेनजी भाइबहिनीलाई समात्दै बसेको रहेछ,’ उनले भने ।
भित्र जाँदाजाँदै गुरुङले आफ्नो भनाइ नकाटिकन जस्ताको तस्तै राखिदिन सञ्चारकर्मीलाई पटक पटक आग्रह गरेका थिए ।

Leave a Reply