युएईपछि साउदी, कतार र मलेसियामा पनि नेपालीलाई जान कडाइ

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जेलबाट कैदीहरु भागेको विषयलाई लिएर विभिन्न देशले नेपालीहरुलाई कडाइ गर्न थालेका छन् । अहिलेसम्म आधिकारिक रुपमा कुनै पनि देशले नेपालीलाई भीसा रोकेको नभने पनि अघोषित तवरबाट कडाइ गरिएको हो ।

नेपालीहरुको प्रमुख श्रम गन्तव्य युएईले नेपालीलाई भिसा दिन पूर्णरुपमा बन्द गरेको छ । पछिल्ला दिनमा नेपालीले युएईको भिजिट भिसा र वर्किङ भिसा समेत पाएका छैनन् । नेपाल सरकारलाई कुनै पनि जानकारी नगराइकन भिसा दिन बन्द गरिएको हो ।

यूएईले भिसा रोक्दा नेपाली क्रिकेट टिमको भ्रमण समेत प्रभावित बनेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले धेरै प्रयास गरेपछि बल्लतल्ल खेलाडीलाई भिसा दिइएको छ । नेपाली टिम भोलि यूएई प्रस्थान गर्दैछ । तर, यूएईमा नेपाल र वेस्ट इन्डिजको खेल हेर्न जान चाहनेहरुले भने भिसा पाउन सक्ने अवस्था छैन ।

एनआरएनएका कोषाध्यक्ष ठाकुर ढुङ्गानाले दुबईमा नेपालबाट घुम्न र काम गर्न आउने कामदारलाई भिसा नदिएको बताए ।

उनले भने, ‘अहिले दुबईमा नेपालबाट घुम्न र काम गर्न आउनेहरुका लागि भिसा रोकिएको छ ।’

यसअघि बङ्गलादेश, पाकिस्तान र श्रींलकामा पनि आन्दोलन हुँदा यसैगरि भिसा रोकिएको ढुंगाना बताउँछन् ।बङ्गलादेश र पाकिस्तानको भिसा अझै खुलेको छैन । श्रींलकाबाट कामदार आउन थालेका छन् । नेपालको पनि त्यस्तै अवस्था हुन सक्ने ढुंगानाको चिन्ता छ । पहिला भिजिट भिसामा आएर कामदार भिसामा परिवर्तन गर्न चाहनेहरुको भिसा परिवर्तन भने भइरहेको उनले जानकारी दिए ।

अहिले नेपालबाट दुबईले भिजिट र कामदार भिसा केही समयका लागि रोकेको छ । तर, आधिकारिक कति समयको लागि भन्ने कसैलाई थाहा छैन । केही समयको लागि होल्ड गरिएको भनेर त्यहाँका अधिकारीहरुले बताइरहेका छन् ।

‘नेपालमा अवस्था सामान्य हुँदै गएमा करिब १ महिना जतिमा कुनै सूचना निकालेर नेपालीलाई भिसा दिन्छ होला,’ ढुंगानाले आशा व्यक्त गर्दै भने ।

यूएई मात्र नभएर साउदी, कतार र मलेसियाले पनि नेपालीहरुलाई कडाइ गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘साउदी, कतार र मलेसियाले पनि नेपाली कामदार लैजान कडाइ गरिरहेको जानकारी आएको छ । ती देशहरुले पनि औपचारिक जानकारी भने दिएका छैनन् ।’

वैदेशिक रोजगार व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष राजेन्द्र भण्डारीले दुबईमा भिजिट र कामदार भिसा रोकिएपछि कतार र साउदीले पनि कडाइ गर्न थालेको बताए ।

उनले भने, ‘नेपालमा कैदी भागेपछि कतार र साउदीले पनि नेपाली कामदार लैजान कडाइ गरेका छन् । नेपालको अवस्था हेरेर ती देशले पनि रोक्न सक्छन् । यी लगायत अन्य देशमा पनि नेपालीलाई कडाइ गर्ने वा रोक्ने स्थिति छ ।’

कतार र साउदीमा करिब ४/४ लाख नेपाली काम गरिरहेका छन् । दुबई, साउदी र कतार नेपालीको प्रमुख श्रम गन्तव्य हो ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिजिट र कामदार भिसा रोकिएको विषयमा कुनै जानकारी दुबईले नदिएको नेपाल प्रेससँग बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *