हितेन्द्रदेवलाई राजीनामा दिन दबाब, कुलमानको रोजाइमा छन् मनोज सिलवाल

काठमाडौं । आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशमा मनोज सिलवाल ल्याउने तयारी गरेका छन् । आफूलाई हटाएर नियुक्त भएका हितेन्द्रदेव शाक्यलाई उनले बदलिएको अवस्था बुझेर आफैँ बाटो लाग्न सन्देश पठाइसकेका छन् ।

उनले नेपाल प्रेससँगको कुराकानीमा शाक्यले आफैँ बाटो खुला गर्ने अपेक्षा जनाएका थिए । शाक्यले राजीनामा नदिएमा उनलाई हटाउने वा मन्त्रालयमा हाजिर गराउने तयारी छ । घिसिङ मन्त्री बन्न उनी विदेशमा थिए,त्यसैले मन्त्रीको पदभार ग्रहणमा उनी उपस्थित थिएनन् ।

केही दिन अघि मात्रै घिसिङले जेनजीको भावना अनुसार बाटो खुला गर्न अप्रत्यक्ष रूपमा शाक्यलाई निर्देशन दिएका थिए । शाक्यले भने मिलेर काम गर्न सकिने बताएका थिए । शुक्रवार मात्र स्वदेश फर्केका शाक्य आज मात्रै कार्यालयमा फर्किँदै छन् ।

शाक्यको ठाउँमा प्राधिकरणबाटै अवकाश भएका मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने तयारी घिसिङको छ । घिसिङ प्राधिकरणको प्रमुख हुँदा सिलवालले उनी निकट भएर घिसिङलाई सफल बनाउने काम गरेका थिए ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए । उनी १२ औ तह (एमडी) भएपछि २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए । प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका सिलवाल इन्जिनियर हुन् ।

सिलवाल निकट स्रोतले पनि घिसिङबाट अनौपचारिक रूपमा कार्यकारी प्रमुख बनाउने भनेर प्रस्ताव आएको र सम्भवतः दशैं अगाडी नै सिलवाललाई प्रमुख बनाउने गरी तयारी भइरहेको स्रोतको दाबी छ ।

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार अहिले प्राधिकरण भित्र पनि आफूहरूले यस्तै हल्ला सुनेको र ऊर्जा मन्त्री घिसिङ र शाक्यबीच सम्बन्ध राम्रो नभएकाले पनि सिलवाल ल्याउने कुरामा सत्यता भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *