
काठमाडौं । अन्तरिम सरकारको मन्त्री बन्न विभिन्न क्षेत्रका विज्ञहरूलाई गरिएको अफर कतिपयले अश्वीकार गरेका छन् । डा. सन्दुक रुइतसँगै स्वास्थ्यमन्त्री बन्न आग्रह गरिएका डा. भगवान कोइरालाले पनि आफू त्यसका लागि इच्छुक नभएको बताएका छन् ।
कोइरालालाई सरकारको तर्फबाट र यो सरकार गठनमा संलग्नहरूले समेत अन्तरिम सरकारमा सहभागी भएर सघाउन आग्रह गरेका थिए । तर, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले आफू इच्छुक नरहेको जवाफ दिएको संवादमा सहभागीले बताएका छन् । कोइरालालाई पहिलो चरणमै अफर गरिएको थियो ।
बाल अस्पताल निर्माण अभियानमा लागेका डा. कोइरालाका सबैभन्दा ठूला दातामध्येको एक भाटभटेनी आन्दोलनकारीको निशानामा परेर ध्वस्त भएका बेला उनी मन्त्री बन्न अनिच्छुक भएको अनुमान छ । जेनजी आन्दोलनकारीमध्येकै केहीले डा. कोइराला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेको आरोप समेत लगाएका थिए । कोइरालालाई मन्त्री बनाउनका लागि अहिले पनि विभिन्न सूत्रबाट कुरा भइरहेको छ ।
त्यस्तै आविष्कार केन्द्रमार्फत काम गरिरहेका महावीर पुनलाई पनि मन्त्री बन्न अफर गरिएको छ । पुनले भने विज्ञान तथा प्रविधि मन्त्रालय चलाउन इच्छा व्यक्त गरेका छन् । अहिले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय एउटै रहेकाले उनको चाहना विज्ञान प्रविधिमा मात्र देखिएको गाँठो फुकाउनुपर्ने हुन्छ । अहिले मन्त्री बनाउन खोजिएकाहरू तर्किने र मन्त्री बन्न खोज्नेहरूको लर्को लागेकाले प्रधानमन्त्री सुशीला कार्की आजित बनेको निकट स्रोतले जनाएको छ ।
सानो आकारको मन्त्रीपरिषदलाई पूर्णता दिन ढिला भइसकेको भन्दै उनी दबाबमा छिन् । जेनजीका नाममा विभिन्न समूहले कार्कीमाथि दबाब थपिरहेका छन् भने बालेन साहले आफ्नो कोटाबाट गृहमन्त्री बनाएको भन्दै अरुले पनि आ-आफ्नो भाग मागिरहेका छन् ।
केही विज्ञ र पूर्वप्रशासकका साथै जेनजीको समेत प्रतिनिधित्व गरेर सरकारलाई पूर्णता दिने र न्यायिक छानबिन आयोग गठन गर्ने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । आजै मन्त्रिपरिषद बैठक बसेर आयोग गठन हुने सम्भावना छ ।

Leave a Reply