
कैलाली । सरकारले जेनजीहरूको प्रदर्शन दबाउने प्रयास गरिरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले भदौ २४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत पदमा नरहेको घोषणा गरे ।
तर, केही दिनपछि अर्को स्टाटस लेख्दै आन्दोलनकारीहरूले आफूलाई कुटपिट गर्दै घर जलाइदिने, मारिदिने धम्की दिएपछि आफू राजीनामा दिन बाध्य भएको तर पुनः जिम्मेवारीमै रहने जानकारी उनले दिए ।
यसैबीच भदौ २८ गते पार्टीलाई असहज हुँदा राजीनामा दिएर भागेको र सहज भएपछि पुनः फर्कन खोजेको भन्दै उनको फोटो र नेमप्लेट समेत अखिलका कार्यकर्ताहरूले फोडेका थिए । बागमती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, जिल्ला अध्यक्ष र संयोजकहरूले नेतृत्वको विरोध जनाउँदै तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् ।
महाधिवेशनबाट प्रतिनिधिको मतसहित निर्वाचित अध्यक्षले सामाजिक सञ्जालमार्फत राजीनामा दिएर फिर्ता लिएपछि अहिले अखिलभित्र दुई प्रकारको बहस सुरु भएको छ । एक पक्षले संकटको बेला अध्यक्षले खुट्टा नटेकेको भन्दै उनलाई अध्यक्ष स्वीकार गर्न नसकिने बताउन थालेको छ भने अर्को पक्षले राजीनामा पत्र पार्टी कमिटी वा संगठनमा नआएको र उनले राजीनामा फिर्ताको घोषणा गरिसकेको हुँदा अब जिम्मेवारीमा फर्काउनु पर्ने धारणा राख्न थालेको छ ।
संगठनभित्र डा. सुजन कडरियालाई विदा गर्नुपर्छ भन्ने पक्षमा दुई उपाध्यक्ष, महासचिव र केही सचिव छन् । त्यस्तै, उनलाई जिम्मेवारीमा फर्काउनु पर्छ भन्नेमा उपमहासचिव र केही सचिव छन् ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको ग्रपबाट समेत अध्यक्षलाई हटाएर उपाध्यक्ष र महासचिवलाई त्यसमा जोडिएको छ । पदाधिकारीको ग्रुपबाट पनि उनलाई हटाइएको छ । नयाँ नेतृत्वका लागि पहल गर्नु पर्ने धारणा केही पदाधिकारीहरूले राख्दै आएका छन् ।
‘उहाँ (कडरिया)ले राजीनामा दिनुभएको कुरा सर्वविदित छ । अब नयाँ ढंगले संगठनलाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो धारणा हो,’ उपाध्यक्ष अञ्जना सिवाकोटी भन्छिन्, ‘अहिले हामी संगठनलाई अझ बलियो र मजबुत बनाउने छलफलमा छौँ ।’
स्रोतका अनुसार उपाध्यक्ष सिवाकोटी, अर्का उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव दीपक धामी र सचिव रचना सापकोटा कडरियालाई अब स्वीकार गर्न नसकिने पक्षमा छन् ।
उपमहासचिव कमलराज जोशी र सचिवहरू आकास घर्ति, गोपाल नेपाल र समिमबाबु खान भने अध्यक्षमा कडरियालाई निरन्तरता दिन चाहन्छन् ।
‘फेसबुकमा राजीनामा दिएको आधारमा पदबाट हटाउने हो भने ४५ प्रतिशत विदा हुन्छन्’, उपमहासचिव जोशी भन्छन्, ‘उहाँले ९कडरिया० विधिवत् राजीनामा दिनुभएको छैन । फेरी जिम्मेवारीमा आउँछु भन्नुभएको छ । जनमतबाट निर्वाचित अध्यक्षलाई मानेर जानु नै अबको आवश्यकता हो ।’
उनले अहिले अर्को अध्यक्ष चयन गर्ने सम्भावना नरहेको र स्वयम् व्यक्तिनै तयार भइसकेकाले विवाद गर्नुको औचित्य नरहेको तर्क गरे । उनका अनुसार, पदाधिकारीमध्ये अध्यक्षलाई स्वीकार गरेर जाने मत बढी छ ।
शुक्रबार उपमहासचिव कमल जोशीसहितले अमृत साइन्स क्याम्पसमा उनलाई अखिल अध्यक्षकै हैसियतमा कार्यक्रमको प्रमुख अतिथि बनाएका थिए । उपाध्यक्ष महासचिवसहितले आयोजना गर्ने कार्यक्रममा भने उनलाई सहभागी गराइने गरिएको छैन ।
यता, अध्यक्ष कडरियाले पनि आफूले दिएको राजीनामा फिर्ता लिएको भन्दै नियमित जिम्मेवारीमा फर्किएको बताउँछन् । ‘मैले विद्यार्थीमाथि भएको हिंसालाई हेरेर राजीनामा दिएको थिएँ । ममाथि धम्कीहरू पनि आएका थिए,’ उनले भने, ‘पार्टी नेतृत्वले भनेपछि विदा हुने कुरा हो, नत्र कसैले विरोध गर्दैमा म जिम्मेवारीभन्दा पर रहन्नँ ।’
देशको चिन्ता गर्ने बेला पदको चिन्ता गर्नु नहुने उनको तर्क छ । पदाधिकारीमध्ये झण्डै आधाले अध्यक्ष स्वीकार गर्ने र आधाले नगर्ने विषयले अखिलभित्र थप संकट पैदा गरेको छ । यस विषयमा अहिलेसम्म पार्टीले कुनै सुझाव वा निर्देशन दिएको छैन ।
अनेरास्ववियु इञ्चार्ज किशोर विक्रम मल्ल समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन् । ‘म अहिले पनि त्यही समस्याको समाधानको प्रयासमा छु । नेताहरूसँग कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरिरहेको छु,’ उनले भने, ‘चाँडै यसको निकास आउँछ ।’
उनका अनुसार, महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले पहिलो प्राथमिकता अध्यक्षलाई स्वीकार गरेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित छ । तर संकटको बेला जिम्मेवारीबाट भागेको आरोप धेरैले लगाएका हुँदा त्यसमा सहमति हुने सम्भावना कम छ ।
दोस्रो, स्वयम् व्यक्तिले मार्ग प्रसस्त गर्ने र अन्तिममा राष्ट्रिय भेलाबाट नेतृत्व परिवर्तन गर्ने विकल्प छ । पार्टीले सहजीकरण गरेर विवाद मिलाउने प्रयास पनि जारी रहने उनको भनाइ छ ।
अहिलेसम्म पार्टी यस विषयमा मौन छ । यता, केन्द्रदेखि जिल्लासम्म यो विषयले समस्या सिर्जना गरेको छ ।

Leave a Reply