प्रतिबन्धमा परेकाको चलखेल बढेपछि जेनेभाले भन्यो- नेपाल रेडक्रसलाई स्वार्थी गतिविधिले बन्धक नबनाओस्

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (IFRC) ले आउँदो अक्टोबरमा गभर्निङ बोर्डको बैठक बस्नुअघि नै नेपाल रेडक्रसको समस्या समाधानका लागि पुन: ध्यानाकर्षण गराएको छ ।

आईएफआरसी अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलालेले विहीबार रेडक्रसका देशभरका सबै संयन्त्रलाई शुक्रबार पत्राचार गर्दै केही मानिसका स्वार्थ क्रियाकलापहरूबाट रेडक्रस र यसको सेवाबाट लाभान्वित हुने व्यक्तिलाई दु:ख पाउन नहुनेतर्फ सचेत गराएको छ ।

नयाँ तदर्थ समिति गठनको निर्णयलाई लिएर मुद्दा मामिला गरिएको विषयले निराश बनाएको भन्दै राजनीतिक अथवा व्यक्तिगत स्वार्थसहितका मुद्दा फिर्ता लिन आईएफआरसीले यसअघि आग्रह गरिसकेको छ ।

नेपाल रेडक्रस फेरि प्रतिबन्धको संघारमा, मुद्दा मामिलामा चासो राख्दै जेनेभाको पत्र

विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिविरुद्ध जेनेभाले प्रतिबन्ध लगाएका सुदर्शनप्रसाद नेपालसमेतले दायर गरेको रिटमा अल्पकालीन आदेशपछि अहिले फेरि रेडक्रस नेतृत्वविहीन छ ।

देशको विषम परिस्थितिका कारण मुद्दाको सुनुवाइ अनिश्चित बनेको अवस्थामा आईएफआरसीले नेपाल रेडक्रसको भविष्यलाई लिएर सरोकारवालासमक्ष चिन्ता जनाएको छ ।

नेपाल रेडक्रसको स्थापना दिवसमा सुदर्शनले शुभकामना सन्देशमा वार्ता गर्न तयार रहेको भनेको स्मरण गर्दै आईएफआरसीले त्यसलाई अस्वीकार गरेको छ ।

‘निज सुदर्शनसँग र निजको पहिलेको समितिको कुनै पनि सदस्यसँग हामी छलफलमा छैनौं भन्ने कुरा हामी स्पष्ट पार्न चाहन्छौं’, पत्रमा भनिएको छ ।

आफ्नो स्वार्थभन्दा संस्थाको हितलाई सर्वोपरि राखी सरकारको निर्णयको सम्मान गरेकोमा डा. विशालकुमार भण्डारी र उनको टीमप्रति भने आईएफआरसीले धन्यवाद व्यक्त गरेको छ ।

संकटबाट नेपाल रेडक्रसलाई मुक्त पार्न सरकारद्वारा गठित तदर्थ समितिमाथि लगाइएको मुद्दा फिर्ता गर्न आवाज उठाउनेलाई पनि धन्यवाद दिइएको छ ।

सरकारले अनुरोध गरेबमोजिमको समयसीमाभित्र समस्या समाधान गर्न आईएफआरसीले पुन: स्मरण गराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *