लुम्बिनीमा नेताका घर ध्वस्त भएसँगै परिवारसहित आफन्तकोमा आश्रय लिन बाध्य

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भदौ २४ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा आन्दोलनकारीहरूले ठूला राजनीतिक दलका नेताहरुको घर आगजनी र तोडफोड गरेपछि उनीहरु परिवारसहित आफन्तको आश्रय लिन पुगेका छन् भने केहीले छिमेकीको बसेर घर मर्मतको तयारी थालेका छन् ।

मुख्य पर्व दशैं नजिकै आइरहेको समयमा उनीहरुका घरमा भएको क्षतिले नेताहरुलाई भन्दा बढी घरमा बसेका परिवारलाई बढी समस्यामा पारेको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीको रुपन्देही तिलोत्तमास्थित शंकरनगरमा रहेको घर बस्नै नहुनेगरी क्षति पुगेपछि उनी बुटवलमा आफन्तकोमा बसेका छन् ।

श्रीमति इन्दिरा गिरी, छोरा राजकुमार, बुहारी गंगा र नातिनातिनासहित त्यो घरमा बसेका उनीहरु अहिले लिला श्रीमतीसहित बुटवलमा आफन्तकोमा बसेका छन् भने बुहारी माइतीमा पुगेकी छन् छोराछोरी लिएर ।

‘घर बस्नयोग्ग नहुनेगरी ध्वस्त पारिएको छ, पछाडि भान्सा कोठा शुक्रबारबाट मर्मत थालिएको छ, केही दिनमा एउटा कोठा तयार गरेर भएपनि दशैंअघि सोही घरमा बस्नमिल्नेगरी तयारी गरिएको छ’ उनका एक आफन्तले भने ।

लिलाको घरसँगै जोडिएको तिलोत्तमा १ का वडाध्यक्ष फर्सुराम गिरीको घर पनि बस्नै नमिल्नेगरी जलेको छ । भरखर छोराको बिहे गरेका उनको घरबाट ३२ तोला सुनसहित धेरै सामग्री लुटिएपछि घर जलाइएको फर्सुरामले जनाएका छन् । उनीपनि अहिले परिवारसहित आफन्तकोमा बसेका छन् ।

रुपन्देहीमै पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड, उनका भाई श्यामकृष्ण खाँडको घर बस्नै नमिल्नेगरी जलाइएको छ । अर्का भाई रुपन्देही कांग्रेस सभापति तथा तिलोत्तमाका मेयर रामकृष्णको घरमा तोडफोड भएपनि धेरै क्षति पुगेको छैन ।

बालकृष्ण यहाँ नबसेपनि उनकी आमा र जेठी श्रीमती त्यो घरमा बस्दथे । बालकृष्ण र श्यामकृष्णको घरमा सिलिण्डर नै पड्काएर ठूलो क्षति भएको छ । अहिले उनीहरु आफन्तकोमा बसेका छन् ।

रुपन्देहीमको सैनामैनामा रहेका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालको घर पनि बस्नै नमिल्नेगरी जलाइएको छ । अहिले ढकालको परिवार पनि आफन्तकोमा बसेको छ ।

सैनामैनाकै मेयर तथा कांग्रृेस नेता फणेन्द्र शर्माको घर पनि बस्नै नमिल्नेगरी जलाइएको छ । शर्मा आमासँग रन्यौरा गाउँमा बस्न पुगेका छन् । सैनामेनाकै पूर्वमेयर चित्रबहादुर कार्कीको घरमा भएका सबै सामग्री बाहिर ल्याएर जलाइएको छ । घरको तल्लो तला भाडामा रहेकाले स्थानीयले जलाउन दिएका थिएनन् । उनीपनि अहिले घरमा बसेका छैनन् ।

रुपन्देहीमै देवदह नगरपालिकाका मेयर धुव्र खरेल, प्रदेश खेलकुद मन्त्री सन्तोष पाण्डेय, सिद्धार्थनगर मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, बुटवलका उपमेयर सावित्रा अर्याल, एमाले प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, राप्रपा नेता सागर प्रताप राणा, संघीय सांसद सर्वेन्द्रनाथ शुक्ला लगायतका घरमा क्षति ठूलो क्षति पुगेको र ती घरमा तत्काल बस्न नमिल्ने भएको उनीहरुका आफन्तले जनाएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँची सन्धिखर्क–१ हटारिमास्थित घरमा आगजनी र तोडफोड भएपछि उनकी श्रीमती दीपा आचार्य आफन्तकहाँ बसेका छन्। लामो समय शिक्षक पेशामा रहेर उनले बनाएको घर क्षणभरमै ध्वस्त पारिएको थियो ।

उनका निजी सचिव प्रदीप नेपालीका अनुसार पछिल्लो समय दाङ र बुटवलमा बस्ने गरेकाले घरमा कमै मात्र बस्ने गरेका थिए । तर अहिले बुटवलको सम्पर्क कार्यालय पनि जलेको छ र अर्घाखाँचीको घर पनि जलेको छ ।

पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको दाङ तुलसीपुर–६ डुम्रीगाउँस्थित घरमा पनि आगजनी हुँदा परिवार आफन्तकहाँ आश्रित छ । बिरामी आमालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

उनको सचिवालयका अनुसार अहिले घरको मर्मत सुरु भएपनि तत्काल बस्न नमिल्ने अवस्था छ । यस्तै कांग्रेस नेता गेहेन्द्र गिरीको तुलसीपुर–६ सल्लाङ्ग रोडस्थित घर जलेपछि उनी नेपालगञ्जमा बस्न पुगेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ सल्लाङ्ग रोडमा रहेको गिरीको घर जलेपछि उनी पनि परिवारसहित नेपालगञ्जमा आफन्तकहाँ गएका हुन् ।

कपिलवस्तुमा पूर्वमन्त्री तथा कांग्रेस नेता दीपकुमार उपाध्याय, माओवादी केन्द्रीय सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनाल (बलदेव), राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य बलराम अधिकारी, कांग्रेस नेता सुरेन्द्र आचार्य, एमाले नेता डम्बर शर्मा, जिल्ला भूमि आयोग अध्यक्ष छविलाल पोख्रेललगायत नेताहरूका घर आन्दोलनकारीको निशाना परेपति ती घरहरु अहिले बस्न नमिल्ने भएका छन् ।

पूर्वमन्त्री बलराम अधिकारी र उनकी पत्नी बसुन्धरा हाल काठमाडौंमा बसिरहेका छन् भने सुरेन्द्र आचार्यले आफ्नो घर सरसफाइ गरी पुनः बस्न थालेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार नेताहरूको घरमा भौतिक क्षति भए पनि अहिले सुरक्षाको त्रास नरहेको बताए । कतिपय नेताहरू घर सरसफाइ र मर्मत गरेर फर्किसकेका छन् भने धेरै अझै आफन्तकहाँ आश्रित छन् ।

पूर्वीनवलपरासीमा मेयर शम्भुलाल श्रेष्ठ, कांग्रेस नेता विक्रम खनाल, संघीय सांसद सरिता खनाल, मेयर रुद्र प्रकाश उपाध्याय, पूर्वमेयर धीरज बस्याल, प्रदेश सांसद विश्व प्रेम पाठक, सुनवल मेयर विमला अर्याल, एमाले नेता थानप्रसाद गैरे, प्रतापपुर अध्यक्ष उमेशचन्द्र यादव, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका घरमा पनि आगजनी तथा तोडफोड भएको छ । अहिले उनीहरुमधये धेरै आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने केहीले मर्मतको काम थालेका छन् ।

दाङमा एमाले महासचिव शंकर पोखरेल, घोराही उपमहानगरका पूर्वमेयर नरूलाल चौधरी, पूर्वसांसद कोमल वली, नेता हीराचन्द्र केसीको घरसमेत क्षतिग्रस्त भए । वलीको होटलसमेत तोडफोड गरिएको छ ।

बर्दियामा कांग्रेस नेता एवं निर्वतमान संघीय सांसद सञ्जयकुमार गौतमको घर तोडफोड र आगजनी गरिएको छ । बाँकेमा सरकारी कार्यालय, राजनीतिक दलहरूको कार्यालय बढी क्षतिग्रस्त भए पनि धेरै नेताहरुको घरमा क्षति पुराइएको छैन । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको घरमा भने आगजनी गरिएको छ ।

लुम्बिनीमा क्षति हुने धेरै एमालेका नेताहरुको घर र त्यसपछि कांग्रेस नेताहरुको घर रहेको छ । केही माओवादी र केही अन्य दलका नेता तथा जनप्रतिनिधिको घरमा क्षति पुराइएपनि धेरैजसो एमाले र कांग्रेसकै नेताहरुको घर निशानामा परेका हुन् ।

बर्दियामा कांग्रेस नेता एवम् निवर्तमान संघीय सांसद सन्जयकुमार गाैतम र बाँकेको काेहलपुर नगरपालिकाका मेयरकाे पनि घर जलेकाे छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *