यूएईले भिसा रोक्दा क्रिकेट टीमको भ्रमण प्रभावित, आईसीसी र इमरेट्स बोर्डमा पहल गर्दै क्यान

काठमाडौं । जेनजी आन्दोलनपछि यूएईले नेपालीहरुलाई भिजिट भिसा दिन रोकेपछि यसको असर क्रिकेटमा पर्न सक्ने जोखिम देखिएको छ । यूएई भ्रमणमा जान लागेको नेपाली क्रिकेट टिमका खेलाडीहरुले भिसा पाएका छैनन् ।

नेपालले वेस्ट इन्डिजसँग तीन टि २० म्याचको श्रृंखला यूएईमा खेल्दैछ । उक्त श्रृंखलाका लागि आज नेपाली टिम यूएई प्रस्थान गर्ने सेड्यूल थियो । तर, यूएईको दूतावासले नेपाली खेलाडीहरुलाई भीसा दिएको छैन ।

खेलाडीहरुले केही दिनअघि भिसाका लागि आवेदन दिए पनि अहिलेसम्म प्राप्त नभएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । वेस्ट इन्डिजविरुद्धको श्रृंखलाका लागि अझै केही दिन बाँकी रहेकाले त्यसअघि भिसा आउने आशा रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा कैदीहरु जेलबाट निस्किएपछि यूएई सरकारले नेपालीहरुलाई भिसा रोक्ने निर्णय गरेको थियो । यद्यपि, यसबारे कुनै औपचारिक सूचना निकालिएको छैन । अहिले भिजिट भिसा दिने देशको सुचीबाट नेपालको नाम हटाइएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

यसअघि यूएई दूतावासले खेलाडीहरुलाई ‘एप्लाइ’ गर्नासाथ सहजताका साथ एक दिनमै भिसा दिन्थ्यो । तर, अहिले भिसा नआइपछि यूएईको क्रिकेट बोर्ड र आइसीसीमा समेत पहल भइरहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘रेगुलर प्रोसेसबाट भिसा नआएपछि हामीले युएईको बोर्ड र आइसीसीमा समेत पहल गरेका छौं । आशा छ उनीहरुले सहजीकरण गरेर भिसा छिट्टै आउने छ ।’ यूएई बोर्ड र आइसीसीमा क्यानले गरेका पहलबाट पनि समाधान नभएको खण्डमा नेपाल सरकारको तर्फबाट कुटनीतिक पहल गर्नुपर्ने हुन्छ ।

नेपालले आउँदो २७ देखि ३० सेप्टेम्बरसम्म यूएईको शारजाह रंगशालामा वेस्ट इन्डिजविरुद्ध तीन टि २० म्याचको सिरिज खेल्दै छ । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्न लागेको हो । हिजो क्यानले खेलाडीहरुको विदाइ कार्यक्रम गरेको थियो । आज खेलाडीहरु उड्नुपर्नेमा भिसा नआएपछि रोकिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *