
काठमाडौं । चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका साउन पहिलो सातादेखि ठप्प छ। अरनिको राजमार्गअन्तर्गतको कोदारी सडक खण्डस्थित भोटेकोसी गाउँपालिका २ मा इको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
निरन्तरको वर्षापछि बढ्दो भोटेकोसी नदीको बहावले तलबाट तानिरहेको छ भने माथिबाट पहिरो खस्ने क्रम अझै रोकिएको छैन । पहिरो नाका बन्दै होइन, पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।
पहिरोको जोखिम बढेपछि स्थानीय मात्रै होइन, नाका क्षेत्रका व्यापारीहरू पनि विस्थापित हुने चिन्तामा छन् । पहिरोले डाक्लाङ–लिपिङ सडक बन्द भएपछि चाडपर्वको मुखका व्यापारीहरू मर्कामा परेका छन्। करोडौँको सामान चिनियाँ क्षेत्रमा थन्किएर बसेको छ ।
दसैँ, तिहार र जाडो महिनाका लागि ल्याइएका फलफूल र कपडाका १५ सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा अड्किएको सिल्क ट्रान्सपोटका निर्देशक विजय शेर्पाले बताए । उनले भने, ‘दसैँलक्षित सामान लिएका झन्डै एक हजार कन्टेनर फसेका छन्। फलफूल र कुहिने सामाग्रीहरू धेरै छन्। ती सामान काम नलाग्ने भइसकेको छ। चीनको गोदाम महँगो छ। मैले ल्हासा, न्यालम र सिंगार्चेमा गोदाम खोलेको छु ।’
उनले चिनियाँ गोदाममा व्यापारीले लोड गरेर राखेको एउटा कन्टेनरको दैनिक १२ देखि १४ हजारसम्म भाडा तिर्नुपर्ने बताए ।
उनले थपे, ‘त्यो भाडा अहिलेसम्म ट्रान्सपोटले व्यहोरिरहेको छ। हामीले दसैँ अघि काठमाडौं पुर्याइदिन्छौं भनेर जिम्मा लिइसकेको हुन्छ। बाटोको कारणले काठमाडौं लैजान नसक्नेपछि हामीले तिरिरहेका छौँ। अहिलेसम्म सामान गोदाममा रोकिएका ५० दिन भइसक्यो ।’
उनका अनुसार रेडिमेड, इलेक्ट्रोनिक्स सामानहरू खासा, न्यालम, केरुङ र ल्हासामा अड्किएका छन् ।
सिन्धुपाल्चोकका उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले पनि सडक बन्द भएपनि व्यापारी ठुलो मारमा परेको बताए ।
उनले भने, ‘सडक बन्द भएपछि हामीले कुहिने सामानहरू भरियालाई बोकाएर केही तारेका छौँ। एउटा कन्टेनरको सामान बोकाउँदा एक लाखसम्म पर्न जान्छ। हामीले अहिले दैनिक १२र१४ वटा कन्टेनरको सामान पहिरो पास गराउन बोकाइरहेका छौँ।’
उनले अहिले अहिले १ हजार देखि १५ सय कन्टेनर तिब्बतको विभिन्न भूभागमा सामान लिन पुगेको बताए। उनले थपे, ‘पोहोर रसुवा र यहाँबाट यो बीचमा १५ सय भन्दा धेरै कन्टेनर काठमाडौं पुगिसकेका थिए। अहिले असार २४ गतेबाट रसुवा बन्छ । साउनको पहिलो हप्ताबाट तातोपानी नाका बन्द छ ।’
उनले दैनिक ९ करोडसम्म राजस्व सङ्कलन हुने नाका सञ्चालन नहुँदा राज्यलाई पनि ठुलो नोक्सानी भइरहेको बताए। यसवर्ष दुई महिना नाका बन्द हुँदा लक्ष्य अनुसारको राजस्व सङ्कलन हुने सम्भावना पनि नरहेको बताए ।
उनले थपे, ‘राज्यले छिटोभन्दा छिटो स्थानीयवासीलाई विश्वासमा लिएर राजमार्ग खुलाउनुपर्छ, भौतिक पूर्वाधार मन्त्रीले दुई दिनभित्र राजमार्ग सञ्जालमा ल्याउनु भनेर निर्देशित गर्नुभएको छ। तर निर्देशनले मात्रै पुग्दैन। उहाँहरूले यहाँको आवश्यकता पनि बुझ्नुपर्छ। विज्ञहरूको सुझावको आधारमा राजमार्ग सञ्चालन र यहाँको बस्ती जोगाउन लाग्नुपर्छ।’
भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको निर्देशनपछि बिहीबार सडक विभागका महानिर्देशक डा. विजय जैसीलगायतको टोलीले सडकको अवलोकन गरेको थियो। अवलोकनपछि दसैँअघि सडक अस्थायी रूपमा सञ्चालन ल्याएरै छाड्ने बताए ।
उनले भने, ‘हामी शुक्रवारबाट काम थाल्छौँ। कम्तीमा पाँचदेखि सात दिनभित्र सडक खुलाउने गरी काम गर्न सक्छौँ। तर, यहाँ कसैले अवरोध हुन हुँदैन। स्थानीयले पनि साथ दिनुपर्छ।’ उनले आफूहरुले काम थालेपनि पानी पर्न नछाडे काम निर्धारित समयमा गर्न नसकिँने पनि बताए ।
उनले कात्तिक मसान्तसम्म सडक निर्माणको लागि ठेक्का आह्वान गरेर आगामी वर्षाअघि नै बनाइसक्ने समेत बताए। सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का खुला गरेको महिना बितिसक्दा पनि अहिलेसम्म सम्झौता हुन सकेको छैन।


Leave a Reply