शशांक कोइरालाको प्रश्नः एकचोटि मन्त्री पनि नभएको मेरो घर किन जल्यो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले जेनजी आन्दोलनमा आफ्नो घर जलाइएकोप्रति आश्चर्य व्यक्त गरेका छन् । एकपटक मन्त्री पनि नभएको आफूले के गल्ति गरेँ भन्ने थाहै नपाएको उनको भनाइ छ ।

आज एक कार्यक्रममा बोल्दै कोइरालाले जेनजी आन्दोलनमा घुसपैठ भएको आरोप लगाए ।

कोइरालाको भनाइ यस्तो छः
म त अचम्ममा परेँ, यो अवस्था आउँछ भनेर कल्पना पनि थिएन । सबै जल्यो, लुटपाट भयो, मान्छे मरे । गोली पनि एक्स्पर्टले हानेको छ । टाउकोमा, छातिमा गोली हान्या छ टाढाबाट । पुलिसले यो गर्नै सक्दैन । घुसपैठ भएको छ । जेनजी भन्छन् । पहिले ठम्याउनुपर्यो जेनजी भनेको कुन शक्ति हो । उनीहरुले सुशासनको कुरा उठाए । तर पछि गएर घर जलाउन थाले । मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ मलाई थाहा छैन । चारचोटि जितेँ । मन्त्री पनि भएको छैन । न भ्रष्टाचार गरेको छु ।

मेरो मात्रै घर जलेको होइन । गणेशमानजीको, किशुनजीको घर जल्यो । ८० वर्षको इतिहास बोकेको बिराटनगरको कोइराला निवास किन जल्यो ? कसको माथि यो आक्रोश पोखेको ? किन पोखेको रु यो प्रश्नहरुको उत्तर म दिन सक्दिनँ । म अहिले पनि सोचिरहेको छु के कारण हो यत्रो आक्रोश ?यत्रो विध्वस्तकारी आक्रोश । अचम्म लाग्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *