
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार मिल्ने वामपन्थी शक्तिसँग एकताको पहल गर्ने निर्णय गरेको छ। प्रवक्ता प्रकाश ज्वालाले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै आज मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको बताएका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो चुनौतीपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछ ।’
पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पहलकदमी अघि बढाउने निर्णयसमेत गरेको छ।
विगतका कामको समग्र समीक्षा गरेर निष्कर्ष निकाल्न र भएका गल्ती कमी कमजोरीहरू सच्याउँदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा, ‘आ–आफ्ना कामहरूको समीक्षा गरेर कमी कमजोरीहरू सच्याउँदै अघि बढ्न नेपालका हरेक राजनीतिक पार्टीहरूलाई आव्हानसमेत गर्दछ ।’
जेनजी आन्दोलनका क्रममा घटेको घटनाको उच्चस्तरीय छानबिन आयोग गठन गरेर तोडफोड, लुटपाट र आगजनी गरेर राष्ट्रिय तथा व्यावसायिक एवं निजी सम्पत्तिमा क्षति पूर्याउनेकार्यको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

Leave a Reply