पार्टी पुनर्गठनबारे कांग्रेस- नेताहरूले व्यक्तिगत धारणा राखेका हुन्, विधानअनुसार महाधिवेशन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिपछि पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत मात्रै भएको जनाएको छ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५ औँ महाधिवेशनको तयारी गरिरहेको बताए।

उनले भने, अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन्। हामी अहिले महाधिवेशनको तयारीमा छौँ। क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ। त्यसैले हामी पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर सबै कुरा गर्छौँ।

उनले पार्टी पुनर्गठनको विषयमा आजको बैठकमा एजेन्डा नभएकाले कुनै औपचारिक निर्णय पनि नगरिएको बताए। पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।

उनीहरूले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा जान नसकिँने बताउन थालेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *