‘युवा पुस्ताको सीप र ऊर्जा सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरूमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै भण्डारीले नयाँ पुस्ताका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग रोखर गरेको प्रदर्शनका क्रममा जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली वयक्त गरेकी छन् ।

‘अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरूमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरूको माग, दबाब र स्वाभाविक आक्रोशलाई सकारात्मकरूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो’, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिन मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरूको पनि रहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरूको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवर्द्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु नहुने बताएकी छन् ।

अहिलेको परिस्थितिमा दलहरू बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा उनको जोड छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *