
नेपालको इतिहासमा यस वर्षको भदौ २३ गते सदा स्मरणीय रहने छ । नागरिक अधिकारमाथि सत्ताले विध्वंस मच्चाएको दिन हो यो । नागरिक अधिकारमाथि धावा बोल्ने कामको शुरुवात पूर्ववर्ति केपी ओली सरकारबाटै भयो । मन्त्रिपरिषद बैठकले भदौ ९ गते विभिन्न २६ वटा सामाजिक सञ्जाललाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा हुन निर्देशन दियो । सबै सूचिकृत भएनन् । कतिपय सञ्जाल बन्द गरिए ।
यस्तो कदमको चौतर्फी विरोध भयो । तर पनि सरकार आफ्नो निर्णयबाट टसमस भए । ती सामाजिक सञ्जाल कसैका लागि समय बिताउने, कसैका लागि मनोरञ्जन गर्ने, कसैका लागि सूचना र ज्ञान आर्जन गर्ने थलोमात्रै थिएन, थुप्रै युवाले आय आर्जनको ठूलो माध्यम बनाएका थिए । त्यसमाथि भएको दमन वा निषेधको प्रतिक्रिया हो, भदौ २३ ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) को ठूलो योगदान छ । रहरले विदेशिएका हुन् या बाध्यताले, सामाजिक सञ्जाले नै उनीहरूलाई आफ्नो परिवारसँग जोडेर राख्छ । पछिल्ला दशकमा जुन पार्टीका सरकार आए पनि तालीभन्दा गाली अधिक पर्ने गर्थ्यो । यद्यपि, एउटा खास पुस्ताले आजको डिजिटल युगमा पुराना नेताले गर्दै आएको ‘सत्ता कब्जा’ को रचनात्मक विरोध गरिरहेका थिए । पछिल्लो तीन वर्षमा आएका प्रधानमन्त्रीले त काठमाडौं महानगरको मेयरसँग फेसबुकमा वाकयुद्ध गर्नु परिरहेको थियो । यसपालि यो देशमा सरकार परिवर्तनसँगै पुराना दल सुध्रिएर आएनन् भन्ने देशको राजनीतिमा अकल्पनीय असन्तुलन आउन सक्छ भन्ने अवस्था सिर्जना भएको छ । जेनजी आन्दोलनको कार्यतालिका अनुसार घटनाक्रमको विकास हुन पाएको भए २४ गतेजस्तो विध्वंस मच्चिने थिएन । तर, परिस्थिति असामान्य बनिसकेपछि घटनाक्रमले छद्मरुप लिँदै परिस्थितिलाई असामान्य बनाइदिन्छ ।
दृश्यमा देखिएको जेन–जी
‘जेनरेशन जेड’ को फ्रेममा रहेको पुस्तालाई इन्टनेटको सुलभ पहुँच भएको युगमा जन्मेका ‘जेन–जी÷जेड’ भनेर पनि चिनिन्छ । जेनजी प्रविधिको प्रयोग मात्र गर्दैनन्, त्यसैभित्र बाँच्छन् । यो यस्तो पुस्ता हो, जसले एक छाक खान नपाएको व्यथालाई इन्टरनेटको माध्यमले कथा बनाएर पस्किन चाहन्छ । प्राडो र हेलिकप्टरमा लाखौँ खर्च गरेर देश विकासको नाममा खोक्रा भाषण रुचाउँदैन, जेनजीले । यो पुस्ताले ‘…गरिबको चमेली बोल्दिने कोही छैन’ जस्ता शब्दलाई र्याप शैलीमा गाएर लाखौँ गरिब र मध्यमवर्गीय जेनजीको ‘एलगोरिदम’ लाई निर्देशित र नियन्त्रण गरिरहेको हुन्छ । जेनजी चरित्रले पोलिटिकल नै हुनुपर्छ भन्ने छैन । तर, नेपाली राजनीतिमा मेयर बालेन्द्र शाह जेनजीको सुषुप्त आन्दोलनको प्रतिफल हो ।
पार्टी दर्ताको लागि माहोल बनाउन र ‘नेपो बेबीज/किड्स’ आन्दोलनको लागि कन्टेन्ट उत्पादनको लागि भए पनि जेनजी आन्दोलन निश्चित थियो । ‘जुमर’ भनेर समेत चिनिने यो पुस्ताले नेपालको राजनीतिको आडमा भ्रष्टाचार र कुशासनको चंगुलमा फसाएर देशलाई कंगाल बनाएका नेता वा सार्वजनिक पद धारण गरेका ठालू र तीनका सन्तानको जीवनशैलीलाई जेनजीले जुम गर्न थालिसकेका थिए । विदेशी ब्राण्डका जुत्ता लगाउने वामपन्थी हुन् कि रोलेक्स ब्राण्डको घडी लगाएर, ज्योतिषसँग दशा देखाएर निरन्तर सत्तामा रमाउन खोज्ने गैर वामपन्थी नेता हुन्, जुमरले यिनीहरूको विलासी जीवन र नेपालमा तंग्रिएको सर्वदलीय भ्रष्टाचारलाई अझ बढी रचनात्मक तरिकाले विस्तार गर्नुपर्ने थियो ।
कुशासन र भ्रष्टाचारले राष्ट्रिय सुरक्षालाई कसरी प्रभावित गरिरहेको छ भन्ने सूचनाको अभाव सरकार चलाउनेलाई हुँदैन । तर, काठमाडौंका मेयर र देशका प्रधानमन्त्री व्यक्तिगत स्तरमा जुधेको अवस्था हुनु भनेको सरकारमा हुनुपर्ने संवेदनशीलतामा ह्रास बढेको बिम्बका रूपमा झल्काउँछ । एमाले अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले २२ भदौका दिन एमालेको विधान अधिवेशनबाट ‘केही अदृश्य शक्तिले राष्ट्रवादी सरकार गिराउनको लागि युवालाई उचालिरहेका छन्’ जस्ता अभिव्यक्ति दिए ।
भनिन्छ, नागरिकको पीडा महसुस गर्ननसक्ने कुनै पनि शासक गणितीय हिसाबले जति बलियो भए पनि आम नागरिकको नजरमा अस्वीकृत भइसकेको हुन्छ । सरकारले बहुमतको भरमा केवल भयको प्रदर्शन गर्नसक्छ । भित्रबाट कमजोर सरकारले नागरिक स्तरबाट विरोधको सामना गर्नुपर्दा आफ्नो नियन्त्रण कायम राख्न छल र क्रूरतालाई एकैसाथ निर्दयतापूर्वक प्रयोग गर्छ । जेनजी आन्दोलनमा हेर्दाहेर्दै ७४ जनाको हत्याले त्यही देखाउँछ । संख्या बढ्दो छ । साथै, आन्दोलनका दौरान सृजित विध्वंसले नेपालमा सुरक्षा विश्लेषणको क्षमतामाथि सदैव प्रश्न गरिरहे छ । पछिल्ला दशकमा देश हाँक्न असमर्थ ‘आलोपालो प्रधानन्त्रीहरु’ ले युवाले गर्ने हरेक आन्दोलनमा बल प्रयोग गरेका छन् । पार्टीभित्र होस् कि अन्य सार्वजनिक क्षेत्रमा, यिनीहरूले युवा मर्मलाई मर्माहत पार्न कीर्तिमान हासिल गरेका रहेछन् ।
सेनाको ‘सहजीकरण’
आज नभए भोलि, ‘नेपो बेबीज’ मा लागेका जेनजी र अदूरदर्शी नेतृत्वबीचको घर्षणले साँच्चिकै सिंहदरबारमा आगो लगाइदिनेसम्मको विद्रोह हुनसक्ला भन्ने सम्भावनाप्रति शक्ति दुरुपयोगको लत लागेका दलपति भन्दा सेनापति पक्कै पनि अग्रचेती थिए । किनभने सेनाले देशमा हुने विभिन्न गतिविधि र त्यसले उत्पादन गरिरहेको ‘न्यारेटिभ’ (कथ्य) को गहिरोसँग विश्लेषण गर्छ भन्ने मान्यता छ । न्यारेटिभ आफैँमा सत्य हुँदैन । यसले सत्यलाई विशेष तरिकाले बुझ्न प्रेरित गर्छ । न्यारेटिभ तटस्थ वा निर्दोष पनि हुँदैन, सधैँ रणनीतिक हुन्छ । न्यारेटिभले निर्माण गर्ने अवधारणाको खपतको लागि आवश्यक ग्रहणशील तप्का चाहिएको हुन्छ । गणतन्त्रजस्तो उच्चतम व्यवस्था ल्याउँदासम्म सान्दर्भिक देखिएका पुराना नेताको अक्षमता र भ्रष्टाचारबाट आमजनता आजित नभएको भए दुर्गा प्रसाईँजस्तो अराजक व्यक्तिको पछाडि किमार्थ भिड लाग्ने थिएन । ‘नेपो बेबीज’ आन्दोलन भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले नेपालजस्तो देशको राजनीतिमा परिणाम विस्थापन गरिदिनसक्ने ‘टुलकिट’ को रूपमा प्रयोग होस् भनी निगरानी गर्ने शक्ति नेपाल बाहिरबाट पनि चासो राख्नु स्वाभाविक नै भयो । दलका हनुमानले उपद्रव मच्चाउन सक्छन् ।
सगर्व आफूलाई ‘झोले’ करार गर्नसक्छ । नागरिक आवाजलाई भद्रगोल पार्न बहुमतीय सरकारको ‘गोयवल्स विभाग’ सक्रिय हुनसक्छ । दक्षिण एसियामा देखिएका भूराजनीतिक कम्पनको प्रभावबारे केपी ओलीले दिने गरेका अभिव्यक्ति उनको बालुवाटारमा बसिरहँदाको अनुभूति पनि हुनसक्छ । निवर्तमान प्रधानमन्त्रीले दक्षिण एसियामा प्रभुत्वको प्रतिष्पर्धामा रहेका शक्ति राष्ट्रसँग सन्तुलन मिलाउन किन सकेनन् ? त्यो शिवपुरीबाबालाई साक्षी राखेर उनले सोच्नुपर्छ । केपी ओलीले महानगरको मेयर बालेन शाहलाई बधाईसँगै तबला उपहार दिएका थिए । सिंहदरबार जलाउने दिन आउँदासम्म जेनजी को ‘डिफ्याक्टो लिडर’ र केपी ओलीबीच कहिल्यै ताल मिलेन ।
विगत आठ वर्षमा नेपालको प्रतिनिधिसभामा प्रवेश गराई बहस गराइनुपर्ने परियोजनालाई उग्रराष्ट्रवादलाई उचालेर सडकको मुद्दा बनाइने काम भयो र संसदमा बहस नभइकन कार्यान्वयनमा ल्याइएको थियो । यी पटकथामा मिसिँदै गएका भूराजनीतिक प्रभाव र त्यसले घरेलु राजनीतिमा निम्त्याउन सक्ने प्रभावलाई सेनाजस्तो निर्णायक शक्तिले सुरक्षा अव्यवस्थाको रूपमा लिने गर्दछ । अमेरिकी कूटनीतिज्ञ जर्ज केननले आफ्नो प्रसिद्ध ३० अप्रिल १९४८ को स्टेट डिपार्टमेन्ट मेमोमा गरेको गरेको विश्लेषण यस्तो छ, ‘राजनीतिक युद्धमा राष्ट्रिय उद्देश्य प्राप्त गर्न युद्धबाहेकका राष्ट्रको कमाण्डमा रहेको सबै साधनको प्रयोग हो । त्यस्ता प्रयोग खुला र गोप्य दुवै हुन्छन् । तिनीहरूले राजनीतिक गठबन्धनलगायत अन्य तालमोलसमेत गर्ने गर्छन् ।’
काठमाडौंको मेयर पदको शपथपश्चात् बालेन जंगी अड्डामा बधाई थाप्न जाँदा नेपाली सेनाले देशको भविष्य युवामा देख्नु सामान्य कुरा हो । सेना भनेको देशलाई अन्तिम खतराबाट बचाउनको लागि तयार पारेर राखिएको गर्भिलो संस्था हो । नेपाली सेनाको गौरवमय इतिहास छ । यद्यपि, नेपालका ख्यातिप्राप्त सम्पादकस्तरीय लेखकले नेपाली सेनाले पछिल्ला केही दशकयता नेपालको (भू) राजनीतिमा खेलेको भूमिका रोचक ढंगले दस्तावेजीकरण गरेका छन् । नेपालको राजनीतिक कोर्षभित्र भूराजनीतिक चाहनालाई पनि सम्बोधन गर्नुपर्ने गम्भीरता नबुझे देशमा शान्ति कायम रह्न सक्दैन, जुन कि शान्ति विकासको आधारभूत शर्त हो भनी नेपाली सेनाको आँकलनको बहुआयमिकताको प्रवाह प्रधानमन्त्री कार्यालयसम्म पुगेन होला भन्ने मान्न सकिन्न ।
२०१७ सालमा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्न आफ्नो परमाधिपतिको आदेश मानेका तत्कालीन शाही नेपाली सेनाले लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थामा सदैव नागरिकको भावनालाई केन्द्रमा राख्दै आएको छ । राजनीतिले सेनाको परम्परावादी संरचनालाई हल्लाउन खोज्दा रुक्माङत कटवाल प्रकरणले झस्काइरहेको हुन्छ । यद्यपि, जेनजी विद्रोहबाट सिर्जित राजनीतिक तरलतालाई ठोस आकार दिन सेनापति र परमाधिपतिबीचको रसायनले व्यवस्थालाई जोगाएको छ । अन्तरिम सरकारले आफ्नो दायित्व पूरा नगरुञ्जेल यो संक्रमणकालमा नेपाली सेना राजनीतिको मियोको रूपमा रहने भयो । सेनाले राति १० बजेमात्र किन कमाण्ड सम्हाल्यो ? के सेनाले चाहेको भए जेनजीको हत्यापछि सिर्जित परिस्थितिबीच सिंहदरबार जलाउने न्यारेटिभ सत्यमा परिणत हुनु फगत संयोग हो कि योजनावद्ध सफलता ? जेनजी आन्दोलनको विध्वंश कथाका अप्रकटित पाटो भविष्यमा ‘डीकोड’ हुने नै छ ।
जेनजी आन्दोलन विकसित हुन नपाउँदै परिस्थितिले सृजना गरेको संक्रमणकालले दिनुपर्ने तत्कालीन राजनीतिक निकास दिएको छ । अन्तरिम सरकारले पाउनुपर्ने अन्तर्राष्ट्रिय समर्थन पाइसकेको छ । पुराना दलका तेस्रो पुस्ताका नेता संयमित देखिएका छन् । दोस्रो पुस्तावाला संसद विघटन गैरसंवैधानिक छ भनी रोइलो गर्दै विज्ञप्ति प्रवाहमा लागेका छन् । पहिलो पुस्ता मौन छ ।
उनीहरुको मौनताको दुई कारण हुनसक्छ । पहिलो, अहिले बोल्यो भन्ने पोल्न्सक्छ । पर्ख र हेर । दोस्रो, फागुन २१ मा तोकिएको निर्वाचन हुन्छ भनी उनीहरूलाई नलागेको हुनसक्छ । नेपाली राजनीतिमा अंक गणितको माहिर खेलाडी भइसकेका बूढा पुस्ताका (रिजेक्टेड बाई यूथ) यी नेताहरू संक्रमणकालमा अभ्यास गरिने ज्यामितिका कोर्भट रेखाबारे पनि जानकार छन् । शायद, ती पुराना नेतालाई थाहा छ कि, जेनजी आन्दोलनको म्याण्डेट पूरा गर्न ६ महिने संक्रमणकाल काफी छैन ।
नेपालमा राजनीतिक स्थायित्वको अभावका कारण सुशासन कायम हुन नसकेको जेनजी शक्तिलाई थाहा छ कि वर्तमान संविधानलाई टेकेर त्यो सम्भव छैन । तर, यो संक्रमणकालको सहजकर्ता नेपाली सेनाले देशमा विभाजित राजनीतिक मनोविज्ञान र यसले निम्त्याउने थप अराजकताबाट देशलाई अझ पनि जोगाउने छ भनी आशा गर्न सकिन्छ । नागरिक समाज, जिम्मेवार मिडिया सबैले तोकिएको मितिमा निर्वाचन होस् भनी आवाज उठाइरहेका छन् । भेन्टिलेटरमा रहेको संविधानको मर्मलाई जीवित गर्नुको अर्को विकल्प पनि छैन । संक्रमणकालले थुप्रा विकल्पहीन परिस्थिति निर्माण गरिरहेको हुन्छ । यो ६ महिनामा काठमाडौं महानगरको काम (एक्सन) कस्तो रहला ? वर्तमान सरकारले गिरीबन्धु काण्ड, भुटानी शरणार्थीजस्ता ‘बिग स्क्याम’ लाई कुन रूपमा स्पर्श गर्छ ? त्यसले अन्तरिम सरकारको राजनीतिक नियतलाई स्पष्ट पार्नेछ । हुनसक्छ कि, तोकिएको मितिमा हुने भनिएको निर्वाचनमा जेनजी आन्दोलनका डिफ्क्याटो नेता बालेन्द्र शाहको नेतृत्वमा देशमा नयाँ राजनीतिक दलको जन्म पनि हुनसक्छ । ट्रंकलाई बक्यौता उठाउने ऊर्जा मन्त्री कूलमान घिसिङको निर्णय कांग्रेस–एमालेका ती कार्यकर्तालाई पनि उचित लागेको होला, जसले पार्टी कमाण्डरको इगोको आगोबाट बच्न कूलमानको दानवीकरण गर्न लागिपरेका थिए ।
जेनजी सेन्टिमेन्टले राजनीतिक दल खोल्नको लागि यो सरकारमा आफ्नो अधिकतम नियन्त्रण राख्न चाहनेछ । समयमै निर्वाचन गराउन मौखिक प्रतिबद्धता जनाउन शुरु गरेको सरकारले केवल निर्वाचन आयोगको सक्षमता र कार्यतालिकामा भर नपर्नसक्ला । भूराजनीतिक क्यालेण्डर मिलाउनुपर्ने हुन्छ र अन्तरिम सरकारले एक्लै त्यो गर्न सक्दैन । जेनजी समूहभित्र ‘साम्पाङ सुरुङ’ निर्माण भइसकेको छ । अन्तरिम सरकारले गर्ने कुनै पनि सोच वा निर्णय, त्यसले समग्र मधेशको राजनीतिमा कस्तो प्रभाव पार्छ ? त्यो आफैँमा गम्भीर छ । मधेशको जेनजीको ‘एलगोरिद्म’ मा अधिकारको सवाल अझ सकेको छैन । मधेशको जेनजीले महोत्तरीको एकडारामा पुर्ख्यौली घर भएका र्यापर बालेनले गाएको ‘…गरिबको चमेली’ मात्र होइन, महोत्तरीकै भ्रमरपुराका र्यापर मान्याले नेपाल प्रिमयर लिगको बेला गाएको ‘ओधबाध’ फर्क यति छ कि मान्याको र्यापप्रति बढ्दो क्रेजको पहुँच जंगी अड्डासम्म पुग्न सक्दैन । जनेजी आन्दोलनको बेला नेपालको संक्रमणकाल बदलिँदो भूराजनीति अवस्थालाई अन्तरिम सरकारलाई धेरै सहजताको आवश्यकता छ । किनभने, नेपाल भूरणनीतिक दृष्टिकोणले शक्तिशाली छ । पछिल्ला दशकयता नेताहरू शक्ति सन्तुलनको नाममा धेरै नै असन्तुलित भए ।

Leave a Reply