
काठमाडौं । जेनजी आन्दोलनले राजनीतिक उथलपुथल ल्याएपछि पुराना राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको चर्को बहस चलिरहेको छ ।
ठुला दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एसका अध्यक्ष माधव नेपालसम्मलाई पार्टी नेतृत्व छाड्न दबाब छ ।
एमाले र माओवादीमा नेतृत्व परिवर्तनको बहस केही मात्रै चलेको भएपनि कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तीव्र गतिमा अघि बढाएका छन्। उनीहरू अहिले पार्टीपंक्तिमा आन्तरिक छलफलमा छन् ।
नयाँ पुस्ताको मागअनुसार देउवाकै नेतृत्वमा अब पार्टी नचल्ने अहिले कांग्रेसका अधिकांश नेताहरूको बुझाइ छ । प्रतिनिधिसभा विघटनपछि फागुन २१ का लागि आम निर्वाचन तोकिएकाले चाँडै पार्टी नेतृत्व परिवर्तन गरेर चुनावको तयारी गर्नुपर्ने दबाबमा दलहरू छन् ।
यही नेतृत्वमा जाँदा पार्टीको अस्तित्व जोगाउन मुस्किल पर्ने छनक पाएपछि महामन्त्री थापाले संविधान दिवसकै दिनदेखि सङ्कल्पसहित पुनर्गठन अभियान सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। यद्यपि, सभापति देउवा प्रदर्शनकारीको आक्रमणमा परेर अहिलेसम्म उपचाररत नै छन्।
पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भन्दै गगनले पार्टीपंक्तिमा अघि सारेको प्रस्तावमा भनेका छन्, ‘संविधान दिवसकै दिनदेखि सङ्कल्पसहित पुनर्गठन अभियान सुरु गरौँ । जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरुरी छ।’
उनले पार्टी पुनर्गठनको लागि आफू महामन्त्री पद समेत त्याग्न तयार रहेको बताएका छन् ।
‘हामीले अहिले जे र जसरी गरिरहेका छौँ त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ’ गगनको प्रस्ताव छ, ‘यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल सुरु गरौँ। स्वीकार गरौँ-गल्ती भएको छ अनि आत्मसमीक्षा, पुनर्मुल्याङ्कन र आत्मसंकल्प गरौँ।’
आफूहरूको अनुहारमा दाग लागेको भन्दै जनतासँग माफी माग्नुपर्ने बताएका छन्। ‘हाम्रो अनुहारमा दाग लागेको छ। अनुहारमा लागेको दाग ऐनामा पुछेर हुँदैन। हामीले हाम्रो दाग पुछ्नुपर्छ। यस विषयमा कांग्रेसले माफी माग्नुपर्छ । हामी सच्चिनेछौँ र झन् बलियो भएर उठ्नेछौँ’ उनको भनाइ छ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अब पार्टी सभापति देउवाले त्याग गर्नुपर्ने बेला आएको बताए। उनले पार्टी सभापति देउवालाई मात्रै होइन, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डलाई पनि राजनीतिबाट बिदा लिन सुझाएका छन् ।
उनले जारी गरेको भिडिओ सन्देशमा भनिएको छ, ‘मैले पार्टीको बैठकमा समेत सभापतिलाई त्याग गर्नुस् भनेको छु। तर उहाँलाई त्यसमा मैले सहमति गराउन त सकिनँ। मैले तपाईँ ५ पटक प्रधानमन्त्री बनिसक्नुभयो अब छैटौँ पटक बन्नु हुन्न, तपाईँले अब अरूको नाम प्रस्ताव गर्नुस् भनेको थिएँ। अब उहाँले सहर्ष बिदा लिनुपर्छ।’
सहमहामन्त्री जीवन परियारले पनि कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरूप्रति आफू सकारात्मक रहेको बताएका छन्।
उनले भनेका छन्, ‘पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ। भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु।’
पार्टीभित्र पुनर्गठनको चर्को बहस चलेपनि कसको नेतृत्वमा जाने भन्ने अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरूको बताउँछन् । देउवाले नेतृत्व छाडेपनि अर्को नेतृत्व को आउने भन्नेमा कांग्रेसमा गुटगत प्रभाव उत्तिकै पर्छ । एक पंक्ति युवा नेताहरूले समयको माग अनुसार महामन्त्री थापाको नेतृत्वमा चुनावमा जानुपर्नेमा बहस थालेपनि संस्थापन र इतर पक्षले नस्वीकार्ने स्थिति छ ।
देउवाले नेतृत्वबाट बिदा लिएपनि आफूअनुकुलको व्यक्ति अघि सार्न सक्छन्, त्यसो हुँदा उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइरालालगायतको नाम आउन सक्छ। तर, गगन र इतर पक्षले नस्वीकार्ने अवस्था छ ।
युवा नेताहरूले अहिलेसम्म जिम्मेवारीमा नरहेका र प्रयोगमा नआएका व्यक्तिलाई अघि सार्नुपर्ने बताएका छन्। त्यसो हुँदा महाधिवेशनबाट नेतृत्वको हत्याउने दाउमा रहेका शेखरको पनि सम्भावना कमजोर बन्दैछ ।
केहीले तत्काल चुनावमा जानुपर्ने भएकाले सबै पदाधिकारीलाई बिदा गरेर एकजना संयोजक तोकेर अघि बढ्नुपर्नेसम्मको प्रस्ताव राखेका छन्। कांग्रेसभित्र चलिरहेको पुनर्गठनको बहसबारे हामीले केही युवा नेताहरूसँग कुरा गरेका छौँ । पढौँ, उनीहरूको भनाइ जस्ताको तस्तै-
‘पार्टी सुधार आवश्यक छ, बैठकमा छलफल हुन्छ’
मीनबहादुर विश्वकर्मा, प्रचार विभाग प्रमुख
पार्टीको महाधिवेशन पनि नजिक आइरहेको छ। अहिले पार्टीलाई केही भएको होइन, भौतिक संरचनालाई क्षति पुगेको हो। अहिले पार्टी नेतृत्वमा समस्या परेको छैन। अहिले मुलुकको व्यवस्था, भौतिक संरचनामा क्षति परेको हो। त्यसैले यतिबेला पार्टी थप एकताबद्ध हुन आवश्यक छ। पार्टीभित्र सुधार आवश्यक छ, चाँडै गर्नुपर्छ पनि।
त्यो विषय पनि आवश्यक नै हो तर यतिबेला पार्टी भन्दापनि पार्टीको खण्डहर भएको भवन निर्माण गर्ने, हामीभित्र भएका वैमनश्यतालाई हटाएर एकता कायम गर्ने, पार्टीलाई थप एकजुट बनाएर लाने बेला हो । चुनाव तोकिसकेको अवस्था छ तर कसको नेतृत्वमा जाने भन्नेसम्म पार्टीले अहिलेसम्म सोचिसकेको छैन।
हाम्रो कार्यसम्पादन समितिको बैठक पनि बसेको थियो। बैठकले अहिले पुनर्निर्माण गर्ने, अल्तालिएका पार्टीका साथीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउने, देशमा फैलिएको अस्थिरतालाई रोकेर स्थिरतामा लैजाने कुराहरूमा छलफल भएको छ। तर, अहिले पार्टी पुनर्गठन, नेतृत्व हेरफेरका कुरा, निर्वाचनमा जाने कुरा अबको बैठकमा छलफल होला। अहिलेसम्म भएको छैन। माहोल सङ्लिएपछि केन्द्रीय समितिको बैठक पनि बोलाउने सोच्दैछौं। कसरी कहाँ बस्ने भन्नेबारे, सभापति पनि स्वस्थ भएर आउनुपर्यो पहिला, बैठक कसरी बस्ने भन्नेबारे पार्टीका पदाधिकारीबीच छलफल भइरहेको छ । तर निष्कर्षमा पुगेका छैनौँ ।
‘नेतृत्वबारे प्रश्न उठ्यो, अब खुला छलफल हुनुपर्छ’
रामहरि खतिवडा, केन्द्रीय सदस्य
पार्टीभित्र वृहत् छलफलको जरुरी देखिएको छ । केन्द्रीय समिति र पार्टी सभापतिको पनि धारणा बुझ्नुपर्नेछ। अहिले मुलुक विषय परिस्थितिमा छ। लोकतन्त्र हरण भएको हो कि होइन त्यो पहिला छुट्याऔं। अहिले व्यक्तिगत फाइदा भन्दा पनि मुलुक कता जाँदैछ भन्ने कुरालाई हेर्नुपर्छ। अहिले बहुदलीय व्यवस्था, संविधान मान्ने र प्रजातन्त्रलाई स्वीकार गर्ने पार्टीहरू एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ।
हाम्रो पहिलो माग संसद् पुनर्बहाली हो। कसलाई कहाँ के चाहिएको छ भन्ने कुरा भन्दापनि पार्टी पनि दह्रो बनाएर जानुपर्छ, पार्टीभन्दा पनि देश झन् दह्रो बनाउनुपर्छ। यो पार्टीलाई पहिलो बनाउनुपर्ने जिम्मेवारी छँदैछ। कांग्रेस नै हो हिजो लोकतन्त्रको लागि लडेको, यो पद्धतिलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा लाग्नुपर्छ।
पार्टीभित्रका छलफल पनि अब सबै बसेर गर्नुपर्यो। हिजोजस्तो एउटा कोठामा बसेर गरेर हुँदैन। सबै साथीहरूको धारणा लिएर अघि बढ्नुपर्छ। चुनावमा यही नेतृत्वमा जान हुँदैन भन्ने प्रश्न पनि उठेको छ। अब ०८४ मै चुनाव भएको भएपनि नेतृत्वबारे कसरी जाने भन्ने छलफल भइरहेकै थियो। त्यसैले अब जेनजीको माग सम्बोधन गर्ने गरी अझै युवामैत्री र जनमैत्री बनाएर पार्टीलाई लैजानुपर्छ।
‘अब प्रयोगमा नआइसकेका व्यक्ति नेतृत्वमा ल्याउनुपर्छ’
नैनसिंह महर, केन्द्रीय सदस्य
लामो समयदेखि नेपालको राजनीतिक दलहरूमा पुनर्गठन गरेर सुधारको अपेक्षा सबैबाट भइरहेको छ। अहिले जेनजी पुस्ताले आन्दोलनबाट जे सफलता हासिल गरेको छ, उहाँहरूको माग सम्बोधन गर्ने भनेर सरकार पनि बनेको छ। त्यसैगरी जेनजीको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टी नेतृत्व पनि त्यसैगरी अघि बढ्नुपर्ने देखिन्छ। समाजमा आएको नयाँ चेत र नयाँ परिस्थितिलाई एकाकार गर्नको लागि जनतामा आएको परिवर्तनको अपेक्षा छ। त्यसलाई आत्मसाथ नगरी दलहरू अगाडि बढ्न सक्दैनन्।
दलभित्र अझै नयाँ हिजो प्रयोग नभइसकेको, जसले क्षमता र भिजन राख्छन् र पार्टीभित्र योगदान गरेका व्यक्तिलाई अघि ल्याउनुपर्छ। त्यस्तो नेतृत्व अब पार्टीमा ल्याएर मात्रै चुनावमा अघि बढ्नुपर्छ भन्ने अपेक्षा छ, आम माग पनि छ। पार्टीको निर्णायक भूमिकामा रहेर, बारम्बार प्रयोग भइसकेका, जनता र कार्यकर्ताले उनीहरूको क्षमतालाई पनि आँकलन गरिसकेका व्यक्ति भन्दा बाहिरको ल्याउनुपर्छ।
जसमा कुनै आरोप छैन, नैतिकताको कसीमा अब्बल छ, जो भिजन र आफ्नो दृष्टिकोण सँगालेर बसेको, लामो समयदेखि देश र पार्टीको लागि लडेको व्यक्तिलाई पार्टीले अघि सार्नुपर्छ। आम जनताले पनि हिजो जिम्मेवारीमा बसेकाहरूलाई रुचाएका छैनन्, त्यही अनुसार पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने अभियान छ।
अहिले व्यक्ति कसलाई ल्याउने भन्ने कुरा गौण भयो, पार्टीको निर्णायक प्रक्रियामा संलग्न भएकाहरूभन्दा नयाँ मान्छे आयो भने राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने अपेक्षा छ। त्यसैले हिजो जिम्मेवारीमा रहेकाहरू एक कदम पछि हट्नुपर्छ।
‘यही नेतृत्वमा चुनावमा जान सकिँदैन’
गुरुराज घिमिरे, युवा नेता
यो राजनीतिक घटनाक्रमपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ भनेर छलफल चलिरहेको छ। पार्टी अब यथास्थितिमा चल्न सक्दैन कुनै पनि हालतमा। हामीले रूपान्तरणको मुद्दा विगत तीन वर्षदेखि उठाइरहेका छौँ। पार्टी यथास्थितिमा चलिरह्यो, पार्टीको आन्तरिक व्यवस्थापनदेखि सरकार चलाउने शैली समय सापेक्ष भएन। नेतृत्व नै यथास्थितिवादी छ।
देशको आवश्यकता अनुसार नेतृत्व अगाडि बढिरहेको छैन भनेर हामीले पहिलादेखि नै प्रश्न उठाएका हौँ। हामीले अब गम्भीर समीक्षा गरेर आमूल परिवर्तन पार्टीभित्र गर्नुको विकल्प छैन। अब सामान्य परिवर्तनले पार्टी उभिन पनि सक्दैन। यहाँ पार्टी तत्काल दौडिनुपर्ने अवस्था छ। हामीले अहिले अपराधको भारी बोकेका छौँ। अब त्यो बोक्न सक्दैनौँ। सीमित व्यक्तिले गरेको अपराधको भारी सधैँ बोकेर हिँड्न अब पार्टीले सक्दैन, हामी सक्दैनौँ। त्यसैले पार्टीभित्र आमूल समयसापेक्ष परिवर्तनको आवश्यकता छ।
पार्टीको यही नेतृत्व लिएर चुनावमा जानसक्ने अवस्था छैन। अब पार्टीको सर्जरी गरेर नयाँ नेतृत्व छानेर मात्रै जनताको बीचमा जानुपर्छ। नयाँ नेतृत्व कसकोमा जाने भन्नेबारे हामी निरन्तर छलफलमा छौँ, अब एक दुई दिनभित्र त्यसको मार्गचित्र तय गछौँ।
‘यही नेतृत्वले बाँडेको टिकट लिएर जान कोही तयार छैनन्’
अजयबाबु सिवाकोटी, केन्द्रीय सदस्य
पार्टी पुनर्गठन आवश्यक छ, अब कसको नेतृत्वमा भन्ने कार्यकर्ताले गर्छन्। अहिलेको जस्तो अवस्थाले अब पार्टी चल्दैन। हाम्रो सक्रिय सदस्य ९ लाख थिए तर सभापतिमाथि आक्रमण हुँदा ९ जना पनि पुगेनन्। पार्टी कार्यालय जल्दा ९० जना कार्यकर्ता पनि पुगेनन्। केही कार्यकर्ता त्यहाँ गएर बसेका भए पार्टी कार्यालय जल्दैनथ्यो। त्यसैले पार्टी यो संरचनाले चल्दैन।
अब यही नेतृत्वमा पुनर्गठन गरेर पनि काम छैन। यो नेतृत्वलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ। अहिले हाम्रो पार्टीभित्रको विधानभित्रै रहेर कि विशेष महाधिवेशन बोलाउनुपर्यो। यही महाधिवेशन प्रतिनिधिबाट छानेर। होइन भनेर तीन महिनाभित्रै नयाँ सदस्यताको विषय टुङ्ग्याएर महाधिवेशन गर्न सक्छौँ। प्रतिनिधि छानेर सक्दैनौँ भने वडा तहबाटै सक्रिय सदस्यले भोट हालेर प्रत्यक्ष निर्वाचित गर्न पनि सकिन्छ।
त्यसो गर्दा अहिलेको जस्तो भद्दा केन्द्रीय समिति बनाउन पनि जरुरी छैन। अहिले अधिकांश केन्द्रीय सदस्य र भ्रातृ संस्थाहरू नै सभापति अनुकूल नै चलिरहेका छन्। त्यसैले अहिलेको यो तरिकाले चल्दैन। चुनावअघि नेतृत्व परिवर्तन नभई यही नेतृत्वले बाँडेको टिकट लिएर अब चुनावमा जान तयार छैनन्।

Leave a Reply