विष्णु पौडेल भन्दै सडकमा कुटिएका थिए घाइतेको निःशुल्क उपचार गरिरहेका स्वास्थ्यसेवी

रुपन्देही । भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल कुटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । अर्को दिन उनको सचिवालयले भाइरल भिडियोमा कुटिएका व्यक्ति पौडेल नभएको भनेर विज्ञप्ति जारी गरे पनि धेरैले त्यसमा ध्यान दिएनन् । अहिले पनि पौडेल कुटिएको अफवाह धेरैले पत्याइरहेकै छन् ।

कुटिने व्यक्ति पौडेल थिएनन् भने को थिए त ? खासमा उनी कुनै नेता नभएर एक अस्पतालका सञ्चालक थिए । उनी हुन् घाइते आन्दोलनकारीलाई निःशुल्क उपचार गरिरहेको ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन । सोही दिन बिहान रगत अभावमा आकस्मिक रक्तदानको आयोजना गरेका उनी आफ्नो अस्पतालमा अप्रेसन नभएपछि अर्को अस्पतालमा घाइते आन्दोलनकारीलाई पुर्याएर फर्कने क्रममा उनी निर्घात कुटिएका हुन् ।

गुल्मी, बुटवल हुँदै हाल काठमाडाैंमा बस्दै आएका टण्डनले आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको त्यहाँ अप्रेसन नहुने भएपछि मनमोहन अस्पतालमा पुर्याएर फर्केका थिए । तर ती बिरामी छाडेर फर्केको केही मिनेटमा उनी आन्दोलनकारीको निशानामा परे ।

नेपाल प्रेससँग कुरा गर्दै टण्डनले २३ गतेदेखि नै आफ्नो अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको स्मरण गरे । त्यसैअनुसार उपचार भइरहे पनि दुई बिरामीको अप्रेसन गर्न संभव नभएकाले आफ्नै एम्बुलेन्समा राखेर मनमोहन अस्पतालमा लगेको उनले जानकारी दिए ।

‘मैले अस्पतालमा कति जना घाइतेको उपचार गराएँ भन्ने रेकर्ड छ । २४ गते बिहान ८ बजे रगत अभाव भयो भनेर आकस्मिक रक्तदानमार्फत २१८ प्वाइन्ट रगत संकलन गरेको थिएँ । तर घाइतेलाई अर्को अस्पताल पुर्याएर फर्कने क्रममा अर्थमन्त्री विष्णु पौडेल भाग्यो भन्दै कुटे, एम्बुलेन्स पनि तोडफोड गरे’, उनले भने, ‘भीडमा कसैले नेता आयो भन्छन्, कसैले के भन्छन् तर केही समयपछि मलाई चिनेका केही युवा पुगेर उहाँ ग्रिनसिटीको अंकल हो भनेपछि ज्यान जोगियो ।’

टण्डनले घाइतेको नि:शुल्क उपचार र उद्धारमा सक्रिय रहँदा कुटिनु परेपछि निराश बनेको बताए ।

‘यस्तो हुन थालेपछि भोलि कसैलाई समस्या पर्यो भने कसरी साथ दिनु ? कसले अगाडि सरेर सहयोग गर्छ ? मैले ती घाइतेहरुको भावना बुझेर थप उपचारका लागि गएको थिएँ तर उल्टै ममाथि नै आक्रमण भयो’ उनले भने, ‘आन्दोलनकारीले चिन्दै नचिनी यसरी जाइलागे ।’

लोकबहादुरका भाइ शंकर टण्डनले पनि घाइतेलाई नै सहयोग गर्दा उल्टै दाइमाथि नै आक्रमण भएको बताए ।

उनले भने, ‘नेताको अनुहारसम्म नदेखेका आन्दोलनकारी साच्चै जेनजी थिए भनेर कसरी विश्वास गर्ने ? फलानो मान्छे यही हो है भनेकै भरमा कति सर्वसाधारणले पिटाइ खाएछ्न् र कतिका सम्पत्ति नष्ट भएछ भनेर आंकलन गर्न सकिन्छ । धन्न आन्दोलनकारीहरुकै भिडमा उहाँलाई चिन्ने केही युवक पनि रहेछन् र ज्यान बचेछ । घुसपैठ गरेका, चोर्न आएका यस्ता अपराधीहरुलाई कडाभन्दा कडा कारवाही होस् ।’

लोकबहादुरले आफूले ग्रिनसिटीबाट मनमोहन पुराएका घाइतेको पनि भिडियो हामीलाई उपलब्ध गराएका छन् । २४ गते घाइते अमित डुम्रे र लक्ष्मण कंडेललाई मनमोहन अस्पताल पुराएको उनले जानकारी दिए । भिडियोमा उनीहरुको हातमा गोली लागेको देखिन्छ । अहिले लोकबहादुर उपचार गरेर घरमा आराम गरेका छन् । उनको शरिरमा देखिने ठूलो घाउ त छैन तर निर्घात कुटिएका कारण बाहिर हिंड्न सकेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *