रुपन्देही । जेनजी आन्दोलनका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत एउटा समूह घुसेर बितण्डा गर्यो । विमानस्थलमा ठूलो क्षति नभए पनि त्यहाँ रहेका ६ वटा सवारीसाधनहरु जलाइएका छन् ।
भैरहवा विमानस्थलमा आक्रमण गराउन दुई व्यक्तिले फेसबुकमा राखेको भ्रामक सूचनाले भूमिका खेलेको थियो । भैरहवामा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका सन्जय बजिमय र रुपन्देही घर भई हाल जापान बस्दै आएका अनिल ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी ओली भैरहवा विमानस्थल हुँदै विदेश भाग्न लागेको भ्रामक सूचना फैलाएका थिए ।
उनीहरुले सामाजिक सञ्जालमा लेखेपछि विभिन्न व्यक्तिहरु विमानस्थलमा आगजनी गर्न गएको पाइएको छ । बजिमय स्वयम् विमानस्थल पुगेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भिडियोमा सोटो नेपाल लुम्बिनीका पूर्वअध्यक्षसमेत रहेका नेपा ट्राभल्सका सञ्चालक बजिमय भिडलाई उत्तेजित गराउने काममा सक्रिय रहेको देखिन्छन् । फेसबुकमा लेखेको केही समयमा उनी आफैं एयरपोर्ट पुगेका थिए भने त्यसको केही समयमै आगजनी सुरु भएको थियो ।
बजिमयले आलोचनापछि फेसबुकमा लेखेका स्टाटस हटाएका छन् । दुई दिन आन्दोलनमा सक्रिय देखिएका उनी २७ गते भैरहवामा आयोजित शान्ति सद्भाव र्यालीमा ब्यानर बोक्न पुगेपछि स्थानीय छक्क परेका थिए ।
सहभागी धेरैले उनीसँग फोटो खिचाउन मानेन । बजिमयले विगतमा विमानस्थल नचलाए आमरण अनशन बस्नेलगायत कडा आन्दोलनको चेतावनी दिँदै सरकारका मन्त्री, सचिवहरुलाई विभिन्न कार्यक्रममा धम्काउने गरेका थिए ।
जेएनजी आन्दोलनकारीलाई एयरपोर्ट जान उक्साउने अर्का हुन् अनिल ज्ञवाली । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भैरहवा एयरपोर्ट आउन लागेकोले त्यहाँ जान आन्दोलनकारीलाई फेसबुकबाट आह्वान गरेका थिए । उनी रुपन्देहीकै भए पनि हाल जापानमा बस्ने गरेका छन् ।
उनी छुट्टीमा आएका बेला अफवाह फैलाएका हुन् । प्रहरी-प्रशासनले खोजेपछि स्टाटस डिलिट गरेर ज्ञवाली आजै जापानतिर लागेका छन् । दशैं मनाउने गरी आएका उनी पक्राउ पर्ने डरले भागेको बुझिएको छ ।
नेपाल आएका बेला ज्ञवाली केही युट्यूवरहरु बोकेर रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्नसमेत पुगेका थिए । उनी रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समितिको कोषाध्यक्ष हुन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले तोडफोड र आगजनीमा संलग्नहरुमध्ये केहीलाई पक्राउ गरी अनुसन्धानका क्रममा रहेको र सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने अनिल ज्ञवालीको खोजी भइरहेको जनाए ।
चौतर्फी आलोचना भएपछि भैरहवाका व्यवसायी बजिमयले आफू आगो लगाउन र तोडफोड गर्न नगएको बताएका छन् । आन्दोलनमा आफ्नो कुनै पनि सहभागिता र सहयोग नरहेको उनको दाबी छ ।
‘सम्भावित क्षतिलाई रोक्नका लागि मलाई प्राप्त पूर्व सूचनाहरुका आधारमा मैले सम्बन्धित निकायहरु र जेनजी युवा समूहहरु समेतलाई संयमित र मर्यादित हुन तथा विमानस्थललाई समेत सुरक्षित राख्नका लागि जानकारी गराएको हुँ’, उनले भने ।
विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन प्रदर्शनकारीहरूको आगजनीका कारण जलेका छन् । विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार केही सवारी साधन पूर्ण क्षति भएको छ भने २ वटा मोटरसाइकल जलाइएको छ ।
‘विमानस्थलभित्र रहेको अध्यागमनको दुई वटा गाडी, नेपाल वायुसेवा निगमको दुई वटा गाडी र एक पार्किङस्थलमा राखेको सरकारी गाडी तथा दुई वटा मोटरसाइकल जलेर ध्वस्त भएका छन्, सुरक्षापोष्टमा सामान्य क्षति पुर्याइएको छ भने ब्यारिकेड तोडिएका छन्’, उनले भने, ‘भित्र आगलागीबाट अरु क्षति केही भएको छैन ।’

असम्बन्धितलाई तनाव
एयरपोर्ट जलाउन भूमिका खेलेको भनेर अनिल ज्ञवालीको नाम मिडियामा आएपछि सोही नामका एक स्थानीयलाई समस्या परेको छ । भैरहवाका व्यवसायी अनिल ज्ञवालीले नै सो स्टाटस लेखेको भनेर केही मिडियाले समाचार बनाएका थिए । ज्ञवालीले सामाजिक सञ्जालमा लेख्ने आफू नभएको भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् ।

Leave a Reply