विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरेको छ ।
जेनजी आन्दोलन पछि आज बसेको मन्त्री परिषद बैठकले यस्ता कार्यक्रम स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिएको छ । बैठकले ५ लाख रुपैयाँभन्दा कम लागतका सम्पूर्ण पुँजीगत योजनाहरू स्थगित गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य, सामाजिक विकास, तथा कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले सरकार नागरिकको जीवनरक्षा र प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।
बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै प्रदर्शनमा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।
Leave a Reply