चितवन। जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । जनप्रतिनिधिहरू पनि निशानामा परे ।
यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरूको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् ।
त्यसदिनको घटना उनकै शब्दमा-
श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरु फर्किए ।
दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले सुनाए । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरे । छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सिडिओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।
सुरूमा वडा कार्यालयहरु हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने म्यासेजहरू आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए । सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन । परिस्थितिले च्याप्दै-च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।
ठूलो सङ्ख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भयो । एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परेँ ।
दुई घण्टाभित्र पार्टी छाड्ने निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा स्टाटस लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको स्टाटस लेखेँ । त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दै भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस डिलिट गरेँ, म पार्टीमै छु ।
परिस्थिति मैले भोगेको छु । इस्टमित्र नातागोताले पनि बास दिने परिस्थिति भएन । जुन कुरा मलाई परेको छ, त्यो व्यक्त गर्न सक्दिनँ । पीडादायी अवस्था बन्यो । एमालेहरुलाई खोजीखोजी काटीकाटी मार्ने भन्ने हल्ला फैलिएको भन्दै उहाँले आगो, लगाउँछन्, मार्छन्, काट्छन् भनेपछि परिस्थिति जटिल बन्यो ।
मेरो घरमा तोडफोडबाट ६ लाख ५० हजार बराबरको क्षति भएको छ । वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भए छन् । ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जल्यो ।अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।
कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै ८० करोड हाराहारी क्षति भएको छ । मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने वाचा र प्रतिबद्धता गरिरहेको छ ।
असैह्य पीडा व्यहोर्नु पर्यो यो घटनाबाट पाठ सिकी नगरबासीको सहयोग र सहकार्यमा पुनर्निर्माण अभियानमा सबै जुटौं ।
(राससकर्मी नारायण अधिकारीसँगको कुराकानीमा आधारित)
Leave a Reply