तोडफोड र आगजनीमा उत्रिएका एक सदस्य एमालेबाट निष्कासित, संलग्नहरूको सबुद् खोजिँदै

विराटनगर । जेनजी आन्दोलनको मौका छोपी सरकारी भवन र निजी सम्पत्तिमा विध्वंस मच्चाउने आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन थालेको छ । तोडफोड, आगजनी तथा लुटपाटमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ता संलग्न पाइएपछि कारबाही प्रक्रिया सुरू गरिएको हो ।

उनीहरूको संलग्नताबारे आएको सूचनाको आधारमा नामावली संकलन सुरू भएको नेताहरूले बताएका छन् । नेकपा एमाले कमल गाउँ कमिटी झापाले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा वीरेन्द्रप्रसाद तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

उनी कमल-५ का बासिन्दा हुन् । गाउँ कमिटी झापाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा प्राप्त भिडिओ र तस्बिरका आधारमा तिवारीलाई कारबाही गरेको जनाएको छ ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा मिसिएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्न पाइए जो सुकैलाई कारबाही हुने बताए ।

उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ । तर सार्वजनिक सम्पत्तिमा विध्वंस गर्न पाइँदैन ।’

सबुद संकलन थालिएको भन्दै खतिवडाले नेपाल प्रेससँग भने, ‘हामी प्रमाणका आधारमा कारबाही गर्छौं । सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेलाई पार्टीका कार्यकर्ता भनेर संरक्षण गर्दैनौं । ’

अराजकता मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन पार्टीले सहयोग गर्ने उनले सुनाए ।

भदौ २३-२४ को आन्दोलनमा कोशीमा विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको । ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका जिल्ला र पालिका तहका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको एमाले कोशीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *