पहिला कुनै कार्यक्रम, लेखन शुरु गर्दा नीति कथाको अंशबाट आरम्भ गरिन्थ्यो । अचेल नीति र कथाको भेट हुँदैन । नीति नायिका हुन शहर छिरेर ‘कथा’ले मागे अनुसार तयार भइन् । ‘कथा’ सूर्य चिन्ह लिएर पनि चुनाव उठ्न तयार भए । कथा भन्नाले कमल थापा र नीति भन्नाले यो हप्ता ट्रेन्डमा पर्न मरिहत्ते गर्ने टिभी जर्नलिस्ट, टिकटकर, ब्लगर, भ्लगर, युट्युबर, सिंगर, सोसियल इन्फ्लुइन्सर, पानीसेवक सम्झनु पर्ने दिन आए ।
नेपालीमा के भन्ने ? जस्तो दलाल भन्न हुँदैन, ब्रोकर भन्दा साथीहरू ‘मुसुक्क’ हाँस्छन् । ‘ज्यानमारा’ भन्दा रिसाउँछन्, ‘किलर छौ’ भनिदिँदा ‘थ्यांक यु’ भन्छिन् । नेपालीहरू ट्रेन्डिङमा पर्न मरिहत्ते गरेपछि युट्युबले संसारभरकै सामग्रीको ‘ट्रेन्डिङ पोल’ नै हटाइदियो । हालसालै राजपरिवारका एक सन्तानलाई पनि गजबको भ्लगर बनाइयो ।
अमेरिकामा अध्ययनरत एउटा अभागी नाति राजा हृदयेन्द्र शाह कर्णालीतिर गए र भ्लग बनाए । ग्रामीण किशोरीले सोधिन्, ‘यात्रा कस्तो भयो ?’ नातिराजाले भने, ‘प्लेनमा कस्तो हल्लायो नि !’ हामी चैँ वाह, क्या जनताको मन छुने क्यारेक्टर भनिरहेका थियौँ, जबकि अवस्था प्लेन होइन, यहाँ व्यवस्थै हल्लाउन खोजिइएको छ, थेग्न सक्ने मुटुहरू भ्लगरजति पनि ‘पब्लिक’ हुन सकिरहेका छैनन् । जो पब्लिक भइरहेका छन्, तिनीहरु भनिरहेका छन्, ‘यसरी नांगै नहिँड, लौ म मेरै पाइजामा फुकालेर दिन्छु, लगाएर हिँड ।’ हिजो मात्रै एउटा युवानेताले महामन्त्रीको पाइजामा फुकालेर दिन तयार भएको स्वघोषणा पनि हेरियो ।
अब एउटा फन्नी जोक रिकल गरौँ, ‘वासिङ्टन डिसी र दिनेश डिसी दाजुभाइ होइनन् ।’
यो जोकमा हाँस्ने कि रुने ? हालै नेपालमा जेन्जीका नाममा रक्तपातपूर्ण आन्दोलनको आँधीबेहरी आयो । यो आँधीमा ‘मेटलको गोली’ हान्ने को भनेर अहिलेसम्म उत्तर आएको छैन । एउटै ज्यानमा ८ देखि १२ गोली दागिएको कुरा छ । काठमाडौँका केही पत्रकारहरूको निबन्ध भावका समाचार पढ्ने हो भने, यस पटक शल्यक्रिया गर्दा छाती र मुटुमा गोली दागिएको युवाको शव देख्दा डाक्टरको पनि मुटु भक्कानियो रे, डाक्टरसमेत रोएछन् यसपालि ! नेपाल प्रहरी स्वयम् यस्तो गोली हानिएको छैन भनिरहेको छ । आफ्नै राजा दरबारमा ढल्दा होस् या राष्ट्रपतिको घरमा आगो बल्दा होस्, ‘टुलुटुलु हेरिमुन्टिने’ हाम्रो रक्षाकवच छ ।
न ओलीलाई एक्लै नेपाल भेट्न दिइनेछ । ‘मविनाको भेट असम्भव’ भन्दै दुवैतिर सड्किनेमर्किनेहरुसँग नेतृत्व नै ‘पेटीदास’ कसरी भए ? कुनै बेला हाम्रा गोकुल बाँस्कोटा दाइ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको घर कुर्नै बसेका थिए भन्दा फरक परेन ।
परमाधिपतिको जिउज्यान र घरमा गोली र आगो दागिँदा पनि हेरेर बस्न पर्ने रक्षाकवचले राति नै राजा ल्याएर राजतन्त्रको किलो गाड्छन् भन्ने भ्रमको सर्कसे पिङ मच्चिँदा डरको ओखती नपाएर केही फेरि इन्तु न चिन्तु देखिन्थे । केही खुशीले फुलेर फोक्सो बढाइरहेका थिए ।
यति चैँ भनौँ, यो उत्तर कोरिया होइन, विश्वमै हतियार सम्पन्न संसारको ११ औँ शक्ति । यो भारत होइन, गल्फ क्लबको हिसाब पनि भारत सरकारलाई बुझाउन नपर्ने । यो पाकिस्तान र म्यानमार पनि होइन, दलका नेताहरूलाई जेल र कारबास नै फैसला गर्न सक्ने । यति चैँ हो, शान्ति सुरक्षा र अमनचयन नभइन्जेल देशको जिम्मा लिने, चुनाव गराउने, संकटकाल लगाउने र देशको राज्यसत्ता फिर्ता गरेर फेरि ठेक्कापट्टा लिने, शिवरात्रीमा सेना दिवस मनाउने, राष्ट्रपतिलाई भोटो हेर्न मन लागे जाँदा काठमाडौँ शहर घुमाउने काममा सेनाको अचाक्ली आत्मविश्वास, रुचि र परम्परा छ ! यसैले हामीले दिनेश डिसीलाई वासिङ्टन डिसी ठानेर बौलाउनु हुँदैन ।
बुझिहाल्नु भयो, नेपाली सेनालाई चाहिँदो भन्दा उचाल्नेहरूको पनि हित भएको छैन, चाहिँदो भन्दा बढी विश्वास गर्नेहरूको पनि जित भएको छैन । अब जेन्जीतिर लागौँ । ७६ वर्षका प्रधानमन्त्री लखेटेर ७३ वर्षका त्यो पनि संसदीय अभ्यासमा अनुभव नभएका र सांसद नै नभएकाका लागि प्रधानमन्त्रीको कुर्सी मिलाइदिने आन्दोलनकारीमा ठूलो झगडा छ । आन्दोलनमा ‘पानीसेवा’ दिन जार बोकेर आएकाहरूले असली आन्दोलनकारीलाई झार बनाइदिए । जसरी सप्तरीको बरमजियाका हरेक पेडा पसलले आफूलाई ‘बाजेको’, ‘असली’ र ‘पुरानो’ पेडा दाबी गरिरहेका छन् । बाजेको पेडा पनि हुँदैन ।
यसो भन्दा बाजेको सेकुवा जाने र खानेहरू रिसाउलान् । मेरा चैँ बाजे परमधाम भइसके, केको सेकुवा हुनु ? असली पेडाको परिमाण पनि प्याकेटमा उल्लेख छैन । कुन असली ? पुरानो पेडा त झन बासी होला, मान्छेलाई ताजा नै पेडा चाहिएको हुन्छ । जेन्जीमा चैँ देखिएको ताजा अनुहारहरू पानी बोकेर आएका थिए, खुट्टा ढोगेर गए । हिजो हामी शपथमा जानुपर्दा नाम लेखाउनु पर्थ्यो, औपचारिक पोशाक लगाउनु पर्थ्यो, तर यहाँ आन्दोलनकारीहरू आन्दोलनकै भोटोमा परमाधिपति र सेनापति भेट्न जाँदा राष्ट्रवाद कतै चुहिएन । खुरुखुरु किरण पोखरेल र खिला कार्कीहरूले एनजिओका भोटोवाला फोटोहरू समाचारका लागि पठाइरहे ।
अब दलहरुतिरको कुरा जोडौँ । उद्योग नखोल्ने, करैकरको करकर, कर्मचारीको उस्तै डर अनि मजदुरको आन्दोलनको लालआतंक । नेपाल फेरि एउटा यस्तो देश हो, जहाँ काम लगाउने र काम गर्ने दुवै कम्युनिष्ट । विद्यार्थी हकहितको आन्दोलन गर्ने विद्यार्थी र माग पूरा गर्ने विद्यालय व्यवस्थापनको शिक्षक र व्यवस्थापन समिति पनि कम्युनिष्ट । उद्योग खोल्ने र काम लगाउने पनि कम्युनिष्ट । मजदुर र व्यवस्थापन दुवै उचालेर आन्दोलन चर्काइरहनेहरू पनि कम्युनिष्ट, चर्किरहनेहरू पनि कम्युनिष्ट । यसपछि उद्योग नखोल्ने चलन शुरु भयो । एकताका घनश्याम भूसाल भन्थे, ‘हाटहुट, लाटलुट र चाटचुट’ गर्न सक्नेहरु यो देशमा हाबी भए ।’ उनी थप्थे, ‘उद्योग किन खोल्ने, मजदुरलाई नियुक्ति दिनुपर्यो, सुविधा दिनुपर्यो, उत्पादन गर्नुपर्यो, कर तिर्नु पर्यो, बरु सारी ल्यायो बेच्यो, नाफा खायो, उद्योगपति र व्यापारी भयो ।’
अहिले होजस्तो लाग्यो, नेपालमै भाटभटेनी खोलेका मीनबहादुर गुरुङको भाटभेटनी जल्यो, विदेशमा उद्योग खोलेका चौधरी समूहको उद्योग बच्यो । नेपालको चैँ जल्यो है फेरि, देखेन नभन्नुस् तर सिक्किमदेखि देश–विदेशका उद्योग त रहे ।’ मिनबहादुरको दोष थियो, ‘एमालेलाई घर बनाइदिनु ।’
हजारौँलाई दिएको रोजगारी खोसियो । उनको भाटभटेनी लुट्न जानेहरूमा अहिलेसम्म केहीको लाश भेटिने क्रम जारी छ । २१ वटा मध्ये त १६ वटा भाटभटेनी एउटै बिमा कम्पनीमा बिमा गरिएको रहेछ, कसरी बिमा रकम आउला चिन्ता छ, आउँदा मीनबहादुर गुरुङ अर्को भाटभटेनी खोल्न सक्छन्, यता भाटभटेनी लुट्नेहरू मर्नेहरू मरिहाले, बाँकी धमाधम पक्राउ पर्नेछन्, अब पुलिसलाई भनसुन गर्न एमाले–कांग्रेस–माओवादीले फोन नलगाउने पक्का छ, किनभने नातावाद र राजनीतिक आशीर्वादले यस्तो भएको भन्नेहरूको शासन भएकाले भनसुन चल्दैन, अहिलेसम्म जेलबाट भागेकाहरू २ हजार ९ सय जति बाहिरै छन्, अरू समात्दै जेल पठाउन प्रहरीले अदालत लैजाँदा सिंहदरबार भन्दा पहिला कारागार बनाउनु पर्ने अवस्था छ, कहाँ थुन्ने, कहाँ राख्ने ?
हेटौँडामा लागुऔषधका कारोबारी बढेर हिरासत अभाव थियो, भाटभटेनी, सार्वजनिक सम्पत्ति र नेताको घर जलाउनेहरू थपिएकै छन् । पहिलो दिन नै प्रथम महिला प्रधानमन्त्रीले भनेको वाणीअनुसार यस्तो विध्वंस गर्नेहरूलाई छोड्नुस् भनेर प्रहरी र अदालतलाई फोन गरेका दिन नेपाली मिडियाले छोड्दैन । त्यही काम एमाले–कांग्रेस–माओवादीले गरे अपराध, यो सरकारले गरे सुशासन पक्कै हुँदैन ।
नेकपा एमालेभित्र केही निकिता ख्रुश्चेभहरु उम्रिएका छन् । आन्दोलनको अघिल्लो दिनसम्म सनराइज हलमा ‘अर्को एक ताली ओली’ भनेर सही धस्काएर आएकाहरू अहिले ‘ओली हुनुहुन्न’ भन्दैछन् । ओली हुनुपर्छ या हुनुहुन्न भन्ने तपाईँहरूको आवाजलाई जनताले खासै ध्यान दिएका छैनन् । अहिलेको चिन्ता ओली, शेरबहादुर देउवा या पुष्पकमल दाहाल हुने नहुने होइन, यो व्यवस्था यही ढंगले रहन्छ कि रहन्न भन्ने चिन्ता छ । दलहरूले अचाक्ली अपराध गरे भन्नेहरूले हाकाहाकी नियोजित र प्रायोजित ढंगले जनताका छोराछोरीलाई उक्साएर सडकमा उतारे । उतार्ने समूह एउटा छ । यसलाई लतार्ने समूह अर्को देखिन्छ ।
सत्तामा पुर्याउने समूह अर्को छ । यसमा हाम्रो भाग परेन भनेर रोई कराइ गर्ने साम्पाङ र प्रसाईँ समूह त रोइलोमै छ, राजावादी समूहहरू यो ६ महिनामा केही पनि हुन्न, फेरि आगोमा मट्टितेल थप्नुपर्छ भनेर छिमेकमा छिमेकीहरू पनि आगो र मट्टितेलको जोहोमा छन् । त्यसैले को हुने-नहुने भन्दा पनि समयको मागअनुसार जनतामा अनुमोदन हुने अनुहारको खोजीमा देश छ । किनभने यहाँसम्मको यात्रामा काठमेयर बालेनको ‘हालिमुहाली’ हेरेर उत्तरदक्षिणकै छिमेकी छक्क छ, नेपाली समाज र दल अनि हर्क साम्पाङको के कुरा ? बालेनले भनेका थिए, ‘सिंहदरबार जलाइदिन्छु ।’ जल्यो ।
प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन । प्रधानमन्त्री कार्की । आफ्ना कानूनी सल्लाहकारलाई देशकै कानून र गृहमन्त्री बनाइदिए । हर्कको फोन उठाएनन् । केपी ओलीलाई हत्यारा भनेर लेखे, अहिले केही अदालतमा ओलीलाई ज्यान मुद्दा लगाउन दौडिरहेका छन् । अनि मङ्गलवार फेसबुकमा प्रेम पत्र लेखे, ‘प्रिय हर्क, तिमी जति रिसाए पनि मेरो एकतर्फी माया जारी छ ।’ अब साम्पाङको खिर खानेहरू मंगलबारदेखि केही त पक्का बालेनतिर ढल्किनेछन्, तिनैले भन्नेछन्, ‘सहनु त बालेनले जस्तो, हर्कसँग प्रेम जारी देखाए ।’
चुनाव आँगनमै आइसक्यो भन्दा हुन्छ । तर निर्वाचन आयोग ऐन संशोधन के गरी गर्ने ? संसद छैन । चुनावअघि मतदाता अद्यावधिक हुनुपर्ने ऐनमा किटान छ । अहिले आन्दोलन गर्ने कतिपयको नाम छैन, त्यसले अर्को विद्रोह जन्माउँछ, अद्यावधिक गरौँ, निर्वाचन घोषणा भएपछि मतदाता अद्यावधिक गर्न पाइन्न । तर यहाँ अब मतदाता अद्यावधिक गरेर दलहरूलाई थप मौजुदा अवस्थामै भीम रावल, उपेन्द्र यादव, माधव नेपाल र रवि लामिछानेजस्तो उठिसुख न बसिसुख पार्ने खेल हुनेछ ।
सबैले एकमत भएर जनतामा पश्चात्ताप गरौँ । सेना नेपालको भए पनि अन्तर्राष्ट्रिय मान्यता भएकाले तत्काल ‘कू’ गर्न सक्दैन भन्ने भरोसा जनतामा दिउँ । सक्थ्यो भने किन राजतन्त्र जोगाएनन् । किन दरबार हत्याकाण्ड भयो र किन परमाधिपतिको घर जल्यो ? राजावादीहरुले भन्ने गरेको किन यत्रो जनताको चाहना हुँदा पनि पूर्वराजालाई ‘पूर्व’ तिरै राखिरहेका छन् ?
यसपटक बालेन सफल भए । अर्को ६ महिनामा को सफल हुने भनेर खेल चलिरहेको छ । केही साथीहरू भन्छन्, ‘६ महिना जति एमाले–कांग्रेस–माओवादीका टाउकेहरु नबोल ।’ यो पनि ठीक होइन, बोल्ने तर विगतको शिक्षाबाट अत्यधिक लाभ लिएर थप क्षति नहुने गरी बोल । अभिमानयुक्त आडम्बरको भाटभटेनी बन्द गर । चाकरी र दास हुन नचाहनेहरूलाई जुनियर हेडमास्टर र सिनियरलाई पियन बनाउने अभिमानको दरबारमार्ग बन्द गर । जनता आकुलव्याकुल छन् । पूर्वराजाले पनि पुल र बाटो बनाइदिएका छैनन् । बालेनले पनि रुसमा जस्तो स्टेसन–स्टेसनमा पाउरोटी राखिदिएका छैनन् । दुर्गा प्रसाईँले पनि उक्साएकाहरू धेरै थाकिसके । यसैले जनमुखी अवतारमा झर ।
जस्तो, उत्तर कोरियाले जनताको दिसा पनि लिन्छ र जनतालाई सालिन्दा कपडा नापेर दिन्छ । दिन तोकेर रुन लगाउँछ, दिन तोकेर किम आफैँ जनताको गाला टोक्दै पनि हिँड्छन् । आफूले आफैँलाई गायब पारेर सि चिनफिङ दुनियाँलाई चक्मा दिन्छन् । भारतीय मिडियाहरूले त हु जिन्ताओलाई अबको राष्ट्रपति भनेर संसारलाई भ्रम बेचिसकेका थिए । तर तिनै सिले हाम्रै केपी ओलीसँग पनि मूलकात गरे, नेपाली एजेण्डा सुने । उनी न बिरामी परेका थिए, न हराएका थिए । आफ्नै प्रिय केही कमान्डरहरू हटाइदिए, केहीले यो अप्रिय निर्णय सुन्न नसकेर ‘हर्टअट्याक’ स्वीकारे । नेपालमा नेताको वरपर बस्नेहरू मात्रै फेर्ने हो भने पनि जनतामा चैतको खडेरीमा आँत हरहर हुने वर्षा झैँ हुन्छ भन्ने नेतृत्वले नबुझेका हुन् ।
नेतासँग वान टु वान भेट गर्नै नदिने, पुच्छर नहल्लिएसम्म जिउ हल्लनै नपाउने जुन गणतन्त्र एमाले–माओवादी–कांग्रेसले स्थापित गरेका थिए । यो मात्रै नयाँ खोजी गर्न सके पनि धेरै राहत हुन्छ । ३० वर्ष यी मुखियाहरुको पछि लागेपछिको एउटा आत्मविश्वास जीवितै छ । एक घण्टा मात्रै केपी ओली र माधवकुमार नेपाललाई एउटै कोठामा ढोका थुनिदिने हो भने दुवैले एकले अर्कालाई ‘सरी’ भन्दै गम्लंग अंगालो हालेर बाहिर आएर भन्नेछन्, ‘अब जनताको मुद्दामा हाम्रो एउटै बोली हुनेछ ।’ तर न नेपाललाई एक्लै ओली भेट्न दिन्छन् ।
नेपालीमा के भन्ने ? जस्तो दलाल भन्न हुँदैन, ब्रोकर भन्दा साथीहरू ‘मुसुक्क’ हाँस्छन् । ‘ज्यानमारा’ भन्दा रिसाउँछन्, ‘किलर छौ’ भनिदिँदा ‘थ्यांक यु’ भन्छिन् । नेपालीहरू ट्रेन्डिङमा पर्न मरिहत्ते गरेपछि युट्युबले संसारभरकै सामग्रीको ‘ट्रेन्डिङ पोल’ नै हटाइदियो । हालसालै राजपरिवारका एक सन्तानलाई पनि गजबको भ्लगर बनाइयो ।
न ओलीलाई एक्लै नेपाल भेट्न दिइनेछ । ‘मविनाको भेट असम्भव’ भन्दै दुवैतिर सड्किनेमर्किनेहरुसँग नेतृत्व नै ‘पेटीदास’ कसरी भए ? कुनै बेला हाम्रा गोकुल बाँस्कोटा दाइ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको घर कुर्नै बसेका थिए भन्दा फरक परेन । ठाडो बोली, काभ्रेली स्वभाव, जिल्लाको अध्यक्ष हुँदै हरेक चुनाव जित्दै आएको उनको योग्यतामा त्यही एउटा सानो ‘लेप्रेचेप्रे कोटा’ जडान नहुँदा आज पार्टीभित्रै प्रतिपक्षको किलोमा झुण्ड्याइएका छन् ।
यसैले कसैले पद छाडेर होइन, सबैले एकमत भएर जनतामा पश्चात्ताप गरौँ । सेना नेपालको भए पनि अन्तर्राष्ट्रिय मान्यता भएकाले तत्काल ‘कू’ गर्न सक्दैन भन्ने भरोसा जनतामा दिउँ । सक्थ्यो भने किन राजतन्त्र जोगाएनन् । किन दरबार हत्याकाण्ड भयो र किन परमाधिपतिको घर जल्यो ? राजावादीहरुले भन्ने गरेको किन यत्रो जनताको चाहना हुँदा पनि पूर्वराजालाई ‘पूर्व’ तिरै राखिरहेका छन् ?
अब चैँ नीतिकथा जोड्न चाहेँ ।
एकजोर परेवा हाँगामा मधुर वार्तालापमा थिए । एउटा मान्छे नजिकै आएको देखेर पोथी परेवाले भनिन्, ‘यहाँबाट उडौँ, नत्र मान्छेले मार्नसक्छ ।’
भाले परेवाले दृढविश्वासका साथ भन्यो, ‘उ हिँडेको शैली, पोशाक र शालीनताले कतैबाट पनि सिकारी देखिन्न, किन भाग्नु ?’
नजिक आइपुगेपछि त्यही शालीन पोशाकधारी सिकारी बन्यो र गोजीबाट गुलेली निकालेर भाले परेवा ठहरै पार्यो ।
असहाय पोथी परेवा भागिन् । रुन थालिन् । क्षणभरमै संसार उजाडियो । रुँदै राजाकहाँ गइन् र घटना सुनाइन् ।
राजाले तत्तत् हुलियाको सिकारी समातेर ल्याउन आदेश दिए । शिकारीलाई राजदरबार ल्याइयो । उसले तुरुन्तै अपराध स्वीकार्यो ।
राजाले पोथी परेवालाई कुन सजाय दिउँ भनेर सोधे । पोथी परेवाले दुःखी हुँदै भनिन्, ‘राजन, म त जीवनसाथी गुमाएर एक्ली भइसकेँ, फेरि अर्कोको जीवन किन उजाड पारिदिउँ, तर यति चैँ नियम लगाइदिनुहोस्, जो जे हो, त्यही पोशाक लगाएर हिँड्ने व्यवस्था लागू भए हामीजस्ताको संसार उजाडिन्न ।’
हो, अप्ठेरो परेको बेला पार्टी छाडेँ भन्ने, ठिकठाक भएपछि पार्टी फर्केँ भन्ने, पोशाक एउटा र कर्म अर्को गर्नेहरुबाट अहिले पार्टीहरु धूलीसात भएका हुन् । जो जे हो, त्यति गरिदिए पुगिहाल्छ । सायद प्रदीप ज्ञवालीले भन्ने गरेको फिनिक्स चराको सार पनि यही हो ।
अब टुंग्याउँ, यसपालि अलि लामै भयो । बजारमा मागअनुसार मालको भाउ हुन्छ । अर्थशास्त्र होस् या राजनीति । अहिले थरिथरिका ‘माल’ ले बजार तातिएको छ । दुर्गा प्रसाईँ, हर्क साम्पाङ, बालेन, मिराज ढुंगाना, सुदन गुरुङ यही राजनीतिको उत्पादन हो । बजारले मागअनुसार आपूर्ति गर्नसक्छ भन्ने जेन्जीले देखाइदिए रविलाई जेलतिर धेकेलेर । यसैले सबैले अहिले ‘रिजेक्टेड माल’ पहिचान गरेर जरुरी ‘माल’लाई जनताको चाहनाअनुसार जनमुखी ब्रान्डिङ गरौँ र जवाफदेही बनाऔँ । यसले नै दलहरुको हित हुन्छ । र, यो भन्दा राम्रो ‘माल’ हरुको ‘रि-माल’ गर्ने बेला फेरि आउँदैन है !
Leave a Reply