काठमाडौं । जेनजी आन्दोलनको एउटा पक्ष हामी नेपाली अभियानका अगुवा सुधन गुरुङ अहिले चर्चामा छन् । आफ्नो स्वभाव नै यस्तो भएको भन्दै नेपाल प्रेससँग अन्तर्वार्तामा खुलेर कुरा गरेको गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रांगणमा सचिव राधिका अर्यालसँग पनि झोक्किएकै शैलीमा देखिएका छन् ।
आन्दोलनको भावनाविपरित सरकार गठन भएको र आन्दोलनकारीलाई बेवास्ता गरिएकोमा असन्तुष्ट रहेका गुरुङले सञ्चार मन्त्रालयमा किन गए भन्ने आधिकारिक रुपमा बताएका छैनन् । तर उनीनिकटहरुले भने सूचना तथा सञ्चार प्रविधि क्षेत्रको दुरावस्थालाई लिएर उनी चिन्तित थिए ।
हामी नेपाली अभियानका संयोजक गुरुङले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुको अवस्थाको बारेमा सेवा प्रदायकहरु सँग परामर्श गरिरहेको तथा सञ्चार माध्यमको अवस्थाको बारेमा समेत सघन परामर्शमा रहेको बताइएको छ।
संयोजक गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालको आर्थिक दूरावस्था एवम् हालको व्यवस्थापनको काम कारवाहीप्रति असन्तुष्टी व्यक्त गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजन आर्थिक रुपले धराशायी र सँधै नेपाल सरकारले पालन पोषण गर्नुपर्ने हालको अवस्थाप्रति गम्भिर आपत्ति व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सविच राधिका अर्यालसँग असन्तुष्टी व्यक्त गरेका छन् ।
सूचना प्रविधि क्षेत्रमा भएका भ्रष्टाचार,पछिल्ला ठूला स्क्याण्डलहरुको बारेमा आइटी क्षेत्रका उनका अभियन्ताहरुले चासो राख्न लगाएको हुनसक्ने अनुमान छ । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार मन्त्रालय आफैसँग राखेकी छन् । अब हुने विस्तारमा यो क्षेत्रका विज्ञलाई मन्त्री बनाउने तयारी छ ।
Leave a Reply