प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव-चुनाव १ दिन पनि पर धकेल्ने छुट तपाईँसँग छैन, कम बोल्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिबाट एक दिन पनि निर्वाचन सार्ने छुट नभएको बताएका छन्।

उनले अहिले अत्यन्त संवेदनशील परिस्थितिमा देश रहेको भन्दै उनले भनेका छन्, ‘अहिलेको मुलुकको केन्द्रीय कार्यभार घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले अन्तरिम सरकारलाई त्यस उद्देश्यका निम्ति सफल पार्न सबैले सहयोग गर्नु पर्दछ । हामी त्यसमा प्रतिबद्ध छौँ ।’

उनले प्रधानमन्त्री जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्ने बताए।

उनले भनेका छन्, ‘कम बोल्नुस् । काममा केन्द्रित हुनुहोस्। बोल्नै पर्दा पनि गलत नबोल्नुहोस्। गल्ती बोलेको कुरा कुनै सच्याईहाल्नुस र कुनै अब आइन्दा त्यस्तो गल्ती दोहर्‍याइनुस्। तपाईँले निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुनसक्छ भन्नुभएको छ । तपाईँलाई त्यो कार्यादेश छैन । निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन ।’

उनले अहिलेदेखि निर्वाचन सार्ने सोचेको भए घातक साबित हुने बताएका छन्। ‘निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर सङ्कटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस्। अन्यथा सोच्न, गर्न मिल्दैन’ उनले भनेका छन्।

देश, संविधान र लोकतन्त्रको रक्षा गर्न घोषित मिति फागुन २१ मा शान्तिपूर्ण, स्वच्छ एवं निष्पक्ष निर्वाचन गर्ने गरी लाग्न आह्वान गरेका छन्। उनले अहिलेको सरकारमा दलको प्रतिनिधि नराख्ने कुरामा सहमत भएपनि राष्ट्रपतिको सुझावलाई हलुकासँग नलिन पनि सुझाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *