रुपन्देही । भदौ २द्द यता सार्वजनिक नभएका लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य मंगलबारदेखि नियमित काममा फर्केका छन् ।
जेनजी आन्दोलनका क्रममा उनीसहित धेरै नेता तथा जनप्रतिनिधिको घर तथा विभिन्न सरकारी कार्यालयहरु जलेपछि सुरक्षाका लागि अधिकांश सुरक्षित स्थानमा बसेका थिए । यो बीचमा उनीसहित धेरैलाई सेनाले पक्राउ गरेको हल्ला पनि चलेका थिए तर उनको सचिवालयले खण्डन गर्दै आएको थियो ।
केन्द्रमा नयाँ सरकार गठन भएपनि प्रदेशमा पुरानै दल नेतृत्वको सरकार रहेकाले प्रदेश र स्थानीय तहमा पुरानै नेतृत्वबाट कार्यसम्पादन हुने भएको हो ।
मुख्यमन्त्री आचार्यले मंगलबार नै मन्त्रिपरिषद बैठक राखेका छन् भने प्रदेशमा रहेका विभिन्न मन्त्रालयका सचिवहरुको अलग्यै बैठक राखेर संविधान दिवसको तयारी गरेका छन् । यो सँगै मुख्यमन्त्रीसहितका मन्त्रीहरु नियमित काममा फर्केका छन् तर सबै कर्मचारीहरु अझै कार्यस्थलमा पुगेका छैनन् ।

काठमाडाैंसहित विभिन्न प्रदेश र जिल्ला एवम् स्थानीय तहका संरचनाहरुमा ठूलो क्षति भएपनि लुम्बिनी प्रदेश सरकारका संरचनामा कुनै क्षति भएको छैन । मंगलबार मुख्यमन्त्रीसहितका मन्त्रीहरुले प्रदेशका संरचना जोगाउन पहल गर्ने स्थानीय, आन्दोलनरत पक्ष र सुरक्षानिकायलाई धन्यवाद दिएका छन् ।
मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो ।

यस्तै, प्रदेशको शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ । आन्दोलनका क्रममा प्रदेशभित्र भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।
बैठकले असोज ३ गते संविधान दिवस प्रदेशभर मनाउने र प्रदेश राजधानी परिसरमा दिवस समारोहको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले जानकारी दिइन ।
प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ । मुख्यमन्त्री आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए । बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ भने सामान्य मर्मतसाम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।

कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन ।‘सेवा प्रवाहलाई चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ । पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ’उनले भने,‘कर्मचारीहरु मनोबल उच्च बनाएर काममा जुट्न आवश्यक छ ।’
प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदायस्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरेका छन् ।
प्रदेश सरकार मातहत रहेका जिल्ला तहका कार्यालयहरू, चार पांग्रे र दुई पांग्रे सवारीसाधनमा समेत आगजनी भएको छ भने यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिव स्तरबाट अनुगमन गरिएको थियो ।

Leave a Reply