जनार्दनले प्रचण्डको राजीनामा मागेपछि माओवादीको प्रतिक्रिया- छलफल हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको विषय छलफल हुने जनाएको छ।

प्रचण्डसँग लगातार अन्तरसंघर्ष गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि अब पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा गर्नुपर्ने भन्दै १६ बुँदे प्रस्ताव अघि सारेका छन्।

यद्यपि, शर्माको त्यो पत्रबारे औपचारिक रूपमा पार्टीमा आइनसकेको प्रवक्ता अग्नि सापकोटाले बताए।

माओवादीका उपाध्यक्ष समेत रहेका सापकोटाले नेपाल प्रेससँग भने, ‘यो पत्रबारे अहिलेसम्म मलाई थाहा छैन। हो रहेछ भनेपनि यो विषयमा संस्थागत रूपमा छलफल हुन्छ। पार्टीको बैठक नबसी मैले व्यक्तिगत रूपमा बोल्न मिल्दैन।’

शर्माले पार्टीको विशेष महाधिवेशन माग्दै विगत लामो समयदेखि प्रचण्डले नेतृत्व छाड्नुपर्ने कुरा उठाइरहेका छन्। जेनजी आन्दोलनले ल्याएको तरङ्गपछि शर्माले फेरि यो विषय बहसमा ल्याएका हुन्।

माओवादीमा प्रचण्डलाई मात्रै होइन कांग्रेसमा सभापति शेरबहादुर देउवा र एमालेमा अध्यक्ष केपी ओलीलाई पनि पछिल्लो समय नेतृत्व छाड्न दबाब बढ्दो छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *