यस वर्ष दशैंको लागि किन खुलेन अग्रिम टिकट बुकिङ ?

काठमाडौं । यस वर्ष दशैं, तिहारलगायतका चाडपर्वको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । चाडपर्वको लागि बुकिङ खुल्ला नहुँदै यात्रुहरू घर जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकाल्दै यातायात व्यवसायीहरुसँग सहमति गरेर अग्रिम टिकट बुकिङ नखुलाएको हो ।

आज मिनभवनस्थित यातायात व्यवस्था विभागमा दशैंको लागि अग्रिम टिकट बुकिङ र समग्र यातायातको क्षेत्रको विषयमा साँढे ३ घण्टा लामो छलफल भएको थियो । विभाग अगाडि खुल्ला ठाउँमा भएको छलफलमा विभागका महानिर्देशक राजीव पोखरेल र कर्मचारीको उपस्थिति थियो भने, यातायात व्यवसायी, मजदुर, बसपार्क सञ्चालक, सडक विभाग र प्रहरीको प्रतिनिधि रहेका थिए ।

व्यवसायीले यातायात क्षेत्रमा जेनजीको आन्दोलनमा खासै क्षति नभएको र अब दशैंमा सहज तरिकाले यात्रुलाई सहज तरिकाले घर पठाउन सकिएन भने समस्या हुनसक्ने बताए ।

आज यातायात व्यवसायी र मजदुर मध्ये केहीले अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भनेका थिए । भने, केही व्यवसायीले खुल्ला गर्न नहुने बताए । धेरै व्यवसायीले देश नै शोकमा रहेका बेला यातायात व्यवसायीले नयाँ माग यो बेला अघि नसार्ने भनिरहेको बेला एक जना व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने तर्क समेत राखेका थिए ।

यातायात व्यवसायीहरुले जेलबाट भागेका ११ हजार कैदीका कारण गाडी सञ्चालन गर्दा लुटपाट र चोरी हुनेभन्दै त्यसको सुरक्षा प्रहरीले दिन सक्ने की नसक्ने भनेर प्रश्न गरेका थिए । टिकट काट्न आउँदा को कस्तो हो भनेर जानकारी नहुने र बीच बाटोमा गएर लुटपाट गरे भने त्यसको दोष पनि यातायात मजदुरलाई आउने भन्दै यातायात मजदुरले चिन्ता व्यक्त गरेका थिए ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारीले आन्दोलनको क्रममा ११ भन्दा धेरै कैदी भागेका बताए । उनले भने, ‘केही न केही अपराध गरेर नै जेल परेका कैदीहरु अहिले जेलबाट भागेका छन् ।

अब ती कैदीले गाडीमा चढेर बीच बाटोमा गएर चोरी र लुटपाट गरे भने त्यसको जिम्मा कसले लिन्छ । हामीले त्यसका लागि के के तयारी गर्ने हो । अब त्यस तर्फ पनि ध्यान दिनु आवश्यक रहेको छ । अहिले नै पनि गाउँ जानेहरु बसपार्कमा टिकट काट्न आउन थालेका छन् । अग्रिम टिकट बुकिङ गरेर जाँदा नै ठिक हुन्छ ।’

नेपाल यातायात मजदुर संघका वरिष्ठ उपाध्यक्षले सवारी साधनको कागजपत्र जलेकाले दशैंमा गाडी चलाउन समस्या हुने बताए । उनी पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्नु पर्ने पक्षमा थिए ।

नयाँ बसपार्कका एचआर पङ्कज मल्लले आन्दोलनपछि करिब ५० हजार मान्छे गाउँ गइसकेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नभएको बताएका थिए ।

यातायात व्यवसायी सरोज सिटौलाले दशैंमा घर जानेहरुलाई व्यवसायीले ढुक्कको साथ घर पुर्याउने बताए । उनले भने, ‘यातायात व्यवसायीले कुने पनि माग नराखी यस वर्षको दसैंमा यात्रुलाई बसमा घर लैजाने छ । घटस्थापनाको दिनदेखि सबै गाडीको क्यु फ्री गरौँ ।’

उनका अनुसार काठमाडौंका विभिन्न बसपार्कबाट ४ लाख यात्रु आफ्नो घर गएका छन् । यात्रुको चाप धेरै नै घटिसकेको छ ।

‘अहिले नै फूलपातीको अघिल्लो दिन जस्तो विभिन्न ठाउँमा जाने बसमा परिसकेको छ । दाउनेको सडकको कारणले गर्दा त्यो रुट भएर गुड्ने बसहरु बाटोको कारणले समस्यामा रहेको छ । सडक विभागले सडकमा भएका खाडलहरु पुर्नु पर्यो । जोखिम भएका ठाउँमा विशेष ध्यान दिनुपर्छ ।’ उनले भने ।

एसएसपी वसन्त रजौरेले आन्दोलनको दुई दिनपछि प्रहरी आफ्नो काममा फर्किएकाले सुरक्षाको विषयमा केही चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘प्रहरीले सवारी आगमनलाई सहज बनाउने छ । सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु पर्छ । यात्रुलाई दुख र ठगी भएपछि मात्रै प्रहरीले अनुसन्धान गर्ने भएकाले अहिले नै त्यो कुराको चर्चा गर्न हुँदैन । त्यस्तो गर्नु पनि हुँदैन । अघिल्लो वर्ष पनि बाढी आउँदा पनि सहज भएको र यस वर्ष पनि यात्रुलाई गाउँ जान सहज हुने छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक पाेखरेलले ठाउँ ठाउँमा यात्रु सायता कक्ष राख्ने काम सुरु भएको बताए ।

उनले भने, ‘यस वर्ष अग्रिम टिकट बुकिङ भनेर खुल्ला गरिएन । तर, केही दिन अघिदेखि नै यात्रु गाउँ जान थालेको र बुकिङ सुरु भएको छ । विशेष गरेर अनलाइन टिकट बुकिङमा हामीले पहल गरेका छौँ । तोकिएको भन्दा धेरै भाडा र क्षमता भन्दा धेरै यात्रु बोकेर बस गुड्ने छैनन् । गत वर्षको तुलनामा यस वर्ष सडक सहज रहेको छ । खाद्य र अति आवश्यक सामाग्री बोकेको गाडी सञ्चालन हुन्छ । भने निर्माण सामाग्री बोकेको गाडी चाडपर्वको बेला काठमाडौं आउन पाउँदैनन् । आन्दोलनको कारण गाडीको जलेको कागजपत्रका लागि प्रतिलिपिमा सरकारी छाप लगाएर चलाउन सकिने छ ।’

अग्रिम टिकट भनेर नै नतोके पनि यात्रुले बसपार्कबाट सहज रुपमा टिकट पाउने पोखरेलले बताए । धेरै मान्छे गाउँ गइसकेको कारणले अहिले अग्रिम टिकट भनेर समय तोक्न आवश्यक नरहेको बताए । अनलाइनबाट र बसपार्क गएर टिकट काटेर घर जान सकिने छ । केही समस्या भएमा विभागमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *