काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरमा भएको घटनाप्रति तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्ले ध्यानाकर्षण भएको बताएको छ । आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, उद्योग व्यवसाय, प्रहरी चौकीलगायत स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनाप्रति परिषद्ले दुःख व्यक्त गर्दै यसलाई निन्दनीय भनेको छ ।
परिषद्ले मीनबहादुर गुरुङको भाटभटेनीमाथि भएका आक्रमणको निन्दा गरेको छ । १०औं हजारलाई रोजगारी दिइरहेको भाटभटेनी सुपरस्टोरमा आगजनी र लुटपाटजस्ता अराजक गतिविधिले सम्पूर्ण नेपाली जनताको साझा पहिचान, व्यवसाय र सामाजिक संरचना नै आघातमा परेको विज्ञप्तिमा उल्लेख छ । संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न पनि परिषद्को माग छ ।
महासचिव अधिवक्ता राजु गुरुङले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका प्रहरी तथा अन्य परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने पीडित परिवारलाई क्षतिपूर्ति र आवश्यक पुनर्स्थापनाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने साथै तोडफोडबाट प्रभावित व्यवसायी र समुदायलाई उचित क्षतिपूर्ति दिन राज्यसँग माग गरेको छ ।
‘सयौं साना तथा घरेलु उद्योगहरुको आश्रयदाता, राज्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अरबौ रुपैया कर भुक्तान गर्ने, आफ्नो आम्दानीबाट त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ्ग) अस्पतालमा दैनिक १००० विरामीलाई आकस्मिक सेवा प्रदान गर्ने भवन निर्माण गर्ने भाटभटेनी सुपर स्टोरको २१ वटा भन्दा बढी स्टोरमा भएको आगजनी र लुटपाट प्रति देश र विदेशमा रहेको सम्पुर्ण तमू समुदायको प्रतिनिधित्व गर्दै तमू हयूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गहिरो दु:ख व्यक्त गर्दछ र उक्त कार्य प्रति खेद प्रकट गर्दछौं’, परिषद्ले भनेको छ ।
दु:खद घडीमा गुङको आत्मबल उच्च राख्न भाटभटेनी सुपर स्टोर नजिक रहेका तमू समुदायलाई सरसफाइ अभियानमा सहयोग गर्न आव्हान गरिएको छ ।
साथै जेनजी आन्दोलनको नाममा जनताबाट अनुमोदित धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, लोकतन्त्र, सङघीयता साथै उत्पिडित समुदायको पहिचान, भाषा, संस्कृतिको संरक्षण, स्वशासनको अधिकार नकुल्चिन चेतावनीसमेत दिइएको छ ।



Leave a Reply