काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोड गर्ने अग्रभागमा कांग्रेसका नेता देखिएका छन् । भदौ २४ गते अपरान्ह ओली निवासमा भएको लुटपाट, तोडफोड र आगजनीको सुरूआतमै मुखमा औंलो राखेर सुई.. पार्दै रातो क्याप लगाएका युवाले उक्साइरहेको भिडिओमा देखिन्छ ।
सिठ्ठी बजाउँदै दुर्गा प्रसाई शैलीमा ‘आओ आओ’ भन्दै ओलीको घर आगजनी गर्नेमध्येका ती युवा नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उसभापति सुवास लामा रहेको खुलेको छ । नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीले फेसबुक पेजमा भोलिपल्टै उनको फोटो र भिडिओ हाल्दै तत्कालीन सत्ता साझेदर दलकै नेता संलग्न रहनु दुःखद भनेको छ ।
बैतेश्वर गाउँपालिका-१ निवासी लामा कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति रहेको पार्टीले स्वीकार गरेको छ । उनी गुण्डागर्दी र गलत क्रियाकलापमा पहिलेदेखि नै संलग्न रहने गरेकाले पार्टीको बदनाम भएको जिल्लाका एक नेताले बताए । २०७४ र २०७९ का दुवै चुनावमा बुथ कब्जा गरेर पालिका अध्यक्ष जितेका छवि लामाका भतिजा सुवास नै बुथ कब्जाका मतियार थिए ।
लामाले त्यसदिन ओली निवासमा भिड लैजाने, उक्साउने र आगजनी गर्नेजस्ता क्रियाकलाप गरेका सबै प्रमाण संकलन भएको एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले बताए ।
दुर्गा प्रसाईँ समूहसँगै रास्वपा, माओवादी र राजावादीहरूले गरेको आगजनीमा कांग्रेसका क्षेत्रीय उपसभापति अग्रभागमा देखिनु दुःखद रहेको एमाले दोलखाले जनाएको छ । लामा बैतेश्वर गाउँपालिकाका भावी अध्यक्षका दाबेदार हुन् । पेटी ठेक्कामा संलग्न लामा दोलखा र रामेछापका जलविद्युत आयोजनाहरूबाट रकम असुल्ने गिरोहका रुपमा चिनिन्छन् ।
कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङनिकट मानिने लामाका भाइ धनराजका सवारी चालक छन् । यसैबीच कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाले सामाजिक सञ्जालतिर उनको फोटो भिडिओ आएको कुरा सुने पनि आफूले अरु जानकारी नपाएको नेपाल प्रेससँग भने । उनले प्रमाणित भएमा कानूनले नै कारबाही गर्ने भएकाले थप केही नबोल्ने बताए ।
Leave a Reply