सहसचिवबाट बढुवासँगै डण्डुराज घिमिरे गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन

काठमाडौं । सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताम रहेको सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका सहसचिव घिमिरेलाई सचिव बढुवा गरेको हो । बढुवा समितिले दोस्रो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत शिक्षा सेवाका कृष्णप्रसाद काप्री र तेस्रो नम्बरमा पनि सोहि मन्त्रालयमा कार्यरत शिक्षा सेवाकै वैकुण्ठ अर्यालको नाम सिफारिस गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव घिमिरेलाई बढुवासँगै गण्डकी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ । ५८ वर्ष उमेर हदका कारण उनले आगामी २ वर्ष सचिवको जिम्मेवारी सम्हाल्नेछन् । गण्डकी प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव शोभाकान्त पौडेल महालेखा नियन्त्रणको जिम्मेवारीमा आएपछि गण्डकी प्रदेश सरकारको प्रमुख सचिव पद रिक्त रहेको थियो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका तत्कालिन सचिव भरतमणी सुवेदीले सेवा अवधि पुरा नगर्दै राजीनामा दिएपछि रिक्त भएको सचिवमा पदमा घिमिरे बढुवा भएका हुन् । सहसचिवबाट सचिव बढुवाका लागि तेस्रो पटक सिफारिस भएपछि उनी सचिव बढुवा भएका छन् । ३ महिना अघि ३ जना सहसचिव सचिवमा बढुवाका लागि सिफारिस हुदाँ घिमिरे पहिलो नम्बरमा सिफारिस भएको भए पनि अनिवार्य अवकाशको मुखैमा पुगेका सहसचिव खगेन्द्रप्रसाद सुवेदीलाई तत्कालिन मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेपछि उनी सचिव बढुवा हुनबाट रोकिएका थिए ।

घिमिरे श्रम मन्त्रालयमा ४ वर्षदेखि कार्यरत छन् । मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखा प्रमुखसँगै मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । त्यस अघि मन्त्रालयको श्रम सम्बन्ध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका घिमिरे ८ महिना बैदेशिक रोजगार विभागको महानिर्देशक थिए ।

श्रम मन्त्रालय भन्दा अघि एक वर्ष भन्दा बढी समय बागमती प्रदेश सरकारको अर्थ मन्त्रालको सचिव, त्यस अघि २ वर्ष भन्दा बढी समय पर्यटन विभागको महानिर्देशक र त्यस अघि ३ वर्ष पर्यटन मन्त्रालयमै योजना महाशाखामा प्रमुखको जिम्मेवारीमा थिए । उपसचिवमा सहचिव बढुवा भएसकेपछि उनी तत्कालिन सामान्य प्रशासन मन्त्रालयमा १ वर्ष प्रशासन सुधार महाशखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

निजामती सेवाको सबैभन्दा तल्लो तह खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका घिमिरेले सचिवसम्म आइपुग्दा ३६ वर्ष सेवा गरिसकेका छन् । २ वर्ष सचिवको कार्यकाल पुरा गर्दा ३८ वर्षे निजामती सेवा पुरा गरेर अवकाशमा जानेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *