रुपन्देही । सिंहदरबारसहित देशभरका धेरै प्रशासनिक भवनहरु ध्वस्त भएका छन् । पुनःनिर्माणका लागि अर्बौ रकम आवश्यक पर्छ । राष्ट्रिय सम्पति जलिरहेको बेला धेरै नेपालीको मन रोइरहेको छ ।
अब यसको लागि कसरी आर्थिक श्रोट जुटाउने कसैले केही सोच्नसकेको छैन । यस्तो कठिन परिस्थितिमा सोमबार अर्घाखाँचीको ग्रामीण क्षेत्रमा खेतीकिसानीमा रमाइरहेका एक मनकारीले एक लाख एक सय रकम सिंहदरबार पुनःनिर्माणका लागि सहयोग गरेर चर्चामा आएका छन् ।
गाउँमा टिमुर, अकबरे खुर्सानीसहितका केही तरकारी लगाएर बसेका, झुस्स दारी बालेका वृद्धजस्ता देखिने ती मनकारी तुलसीराम अधिकारीले सुरुमा भनेको कुरा धेरैलाई विश्वास पनि लागेन तर जतिबेला उनी रकम नै लिएर जिल्ला प्रशासनमा पुगे अनि मात्रै उनको वास्तविकता थाहा भयो ।
‘फेरि यस्तो नहोस्, म बनाउँछु र्सिहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहितको ब्यानर लिएर अधिकारी जिल्ला प्रशासनमा पुगेर आफूले त्यो रकम बुझाएका हुन् । अर्घखाँचीको शितगंगा नगरपालिका वडानम्बर २, सितापुरका तुल्सीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ लाख १०० रुपैयाँ जम्मा गरेको भौचर सोमबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
‘सिंहदरवार जलेपछि मलाई निद्रा लागेन, यो पैसाले सिंहदरवार बनाउन थोरै भएपनि साथ दिनेछ, ुम बनाउँछु मेरो सिंहदरबारु भन्ने अठोट सबैले लिनुपर्दछ र साथ दिनुपर्दछ’ किसान अधिकारी भन्छन् ‘मेरो आस्था जलेको छ, मेरो घर जल्दा फर पदैनथ्यो होला, बरु यति धेरै पिर पर्दैनथ्योहोला,म पनि नेपाली नागरिक भएको नाताले अब यो अभियान चलाउनुपर्दछ भन्ने लाग्यो । कतै प्रचार गर्न विज्ञापन गर्न होइन आत्मशान्ति गर्न हो । भाइरल बन्न होइन । श्रद्धाले दिएको हो । सानो चेतनाको लागि हो ।’
जिल्ला प्रशासन कार्यालयमा सोमबार पुगेका उनले यो भनिरहँदा आँखाभरी आशु टलपिलएका र बीचबीचमा भक्कानिएका देखिन्थे । ‘मैले आत्मशान्तिका लागि, सुत्न सक्छुकी भनेर दिएको हो, धेरै कमाएर दिएको होइन, सिंहदरबारको श्रद्धाका लागि हो । कुन प्रकृयाबाट जाँदा सहयोग गर्न सकिन्छ भनेर जिल्ला प्रशासनमा आएको हुँ । म किसान हुँ, टिमुर, अकबरे खुर्सानी, काँक्रा बेचेर जम्मा गरेको रकम हो ।’
अधिकारीले भने–‘घाइतेलाई कसरी सहयोग गर्न सकिन्छ, पुनःनिर्माणमा केही गर्न सकिन्छ कि भनेर सोँचे, मलाई यो घटनापछि निद्रै लागेको छैन मलाई मन खुसी बनाउन, शान्त बनाउन यसरी सहयोग गर्ने सोच बनाएको हुँ, ठूलो रकम होइन तर यो सन्देश हो अभियानका लागि गरेको हुँ ।’
भिडियाे
उनी प्रशासन कार्यालयमा पुगेर यसको चिन्ता व्यक्त गरेपछि ११ वर्ष सिंहदरबारमा बसेर काम गरेको अनुभव सुनाउँदा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल पनि उसैगरी भावुक देखिएका थिए । उनले यति ठूलो क्षति भएको समयमा अधिकारीजस्ता मनकारीको सहयोगले ठूलो सन्देश दिने जनाए ।
‘अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु । यति ठूलो क्षतिमा उहाँको सहयोग निकै राम्रो हो । यो पुनःनिर्माण कोष बन्ला त्यसमै राखौंला अहिले प्रधानमन्त्री दैवी प्रकोप कोषमा यो जम्मा भएको छ । किसानको तर्फबाट यति ठूलो मन देखाउनुभएको छ । सबै मिलेर यो अभियानलाई अघि बढाउनुपर्ने छ’, उनले भने–‘यो आन्दोलनबाट राष्ट्रिय सम्पतिमा ठूलो क्षति भएको छ, सबै मिलेर सहयोग गर्नुपर्ने छ । खेतीकिसानी गरेर जम्मा गरेको रकम सहयोग गर्न चाहन्छु भन्नुभएपछि उहाँले त्यो रकम जम्मा गर्नुभएको हो । यसमा सबै नेपालीको हातेमालो जरुरी छ । व्यक्तिगतरुपमा यति ठूलो सहयोग निकै ठूलो हो ।’
अधिकारीले नेपाल सरकारको खातामा जम्मा भएको रकमको भौचर ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनले मुलुकका प्रमुख संरचना ध्वस्त भएकाले सबैले आआफ्नो ठाउँबाट पुनःनिर्माणको अभियानमा जुट्नुपर्ने बताए ।
यो कार्यक्रममा पुगेका सामाजिक अभियान्ता बसन्त श्रेष्ठले किसान अधिकारीले अरु कसैले ध्यान दिन नसकिरहेको समयमा यति ठूलो रकम दिएर महत्वपूर्ण अभियान थालेको बताए । ’गाउँमा बस्ने किसान जसले टिमुर, अकबरे खुर्सानीसहितका तरकारी बेचेर एक लाख सहयोग गर्नु सानो कुरा होइन, यसले सबै नेपालीलाई सकारात्मक सन्देश दिनेछ’ उनले भने ।
पूर्वीनेपालको खोटाङस्थित साकेला गाउँपालिका वडा नं २ माटिममा जन्मेका ६२ वर्षीय तुलसीप्रसाद अधिकारी नेपाल–भारतका विभिन्न स्थानमा जागिर–उद्यम–व्यवसाय गर्दै अहिले अर्घाखाँचीमा पुगेर कसैले नगरेको र नसोचेको कृषि व्यवसाय थालेका छन् ।
उद्यम गरेर छोरा र छोरीलाई कोरियामा पिएचडी पढाएका छन् अधिकारीले । उनको अभियानलाई श्रीमती सावित्रा अधिकारीले साथ दिएकी छन् । अर्घाखाँचीको शितगंगा वडा नं। २ मा फलाचौरमा ठूलो क्षेत्रफलमा टिमुर र अकबरे खेती गरेर रमाएका छन् अधिकारी दम्पति। छोरा अर्जुन अधिकारी कृषि विज्ञानमा बीएससीएजी पछि कोरियामा पिएचडी पास सकेर चितवन कृषि क्याम्पसमा पढाउन थालेका छन् । छोरी अनुपमा अधिकारी बायोकेमेष्ट्रिमा अध्ययन सकेर कोरियामै पिएचडी अध्ययन गरिरहेकी छन् ।
अधिकारी दम्पत्ति छोराको दिक्षान्तमा कोरियामा पनि पुगेका थिए, केही समय त्यहाँ बसेका उनीहरु पुनः फर्केर आफ्नो अभियानमा लागेका हुन् । तुलसीप्रसाद ७ वर्षअघि यो ठाउँमा पुगेर टिमुर र केतुकीको खोजी गर्दै यसको खेतीमा लागेको बताउँछन् ।

तराईको सुविधासम्पन्न ठाउँमा रहेको घर पसल बेचेर उनी गाउँमा खेती मात्रै गरिरहेका छैनन् स्थानीयलाई यसको लागि प्रेरणा दिइरहेका छन् । तुलसीप्रसादले १३७ रोपनी जग्गामा ४ हजार ११६ टिमुरका विरुवा रोपेका छन् । उनले स्थानीय तीन जनाको जग्गा किनेका हुन् । अहिले ८५ रोपनीमा विरुवा लगाइसकेका छन् भने अरुमा तयारी गरिरहेका छन् ।
उनले खरिद गरेको जग्गामा नै ४ सय रैथाने टिमुरका बोट रहेछन् त्यसलाई उनले संरक्षण गरेका छन् भने आफूले लगाएका पनि हुर्किसकेका छन् । उनले लगाएर पहिलो वर्षमा ५ सय विरुवा बाँचेकोमा प्रतिविरुवा ३ सय ग्राम जति उत्पादन पाएका थिए । पूर्ण वयस्क विरुवा भएपछि प्रतिविरुवा ६ देखि ७ किलोग्रामसम्म उत्पादन हुने अनुमान छ । यस्ता मनकारी किसानले ठूलो रकम सरकारलाई नै सहयोग गरेर फेरी चर्चामा आएका हुन् ।

Leave a Reply