काठमाडौंको ट्राफिक व्यवस्थापनमा खटिएका ‘ विना बर्दीका प्रहरी ’

काडमाडौं । काठमाडौंको तीनकुने, बानेश्वर र माइतिघर मण्डलामा आइतबार र सोमबार केही युवाहरूले ट्राफिक व्यवस्थापनमा ठूलो भूमिका खेले । जेनजीको आन्दोलनका क्रममा भएका आक्रमण र आगजनीका कारण ट्राफिक प्रहरीले सडकमा आउन हम्मे–हम्मे परेको थियो ।

नेपाल युवा संस्था संजाल (आयोन)मा आवद्ध युवाहरूले दुई दिन विना पोसाक ट्राफिक बनेर यातायात व्यवस्थापनमा सहजीकरण गरेका थिए ।
‘विस्तारै सवारीको चाप बढ्दै थियो तर पर्याप्त मात्रामा सडकमा ट्राफिक प्रहरी हुनुहुन्नथ्यो,’ आयोनका केन्द्रीय महासचिव ललित ओझाले भने, ‘हामीले हिजो र आज सडकमै रहेर सहजीकरण ग¥यौँ ।’

उनका अनुसार सबैभन्दा धेरै सवारी चाप हुने तीनकुने, बानेश्वर र माइतिघर मण्डलामा युवाहरूले ट्राफिकको भूमिका निर्वाह गरेका हुन् । उक्त समूहमा महिला र पुरुष गरेर ८ जना थिए । विहान करिब ८ बजेदेखि साझ ७ बजेसम्म सडकमा उभिए कोही सिट्टी बजाउँथे, कोही हातले आउन–जान इसारा गर्थे ।

जेनजी आन्दोलनपछि अस्थव्यस्त भएको काठमाडौंको सबैभन्दा धेरै क्षति भएको ठाउँमा उनीहरुले सहजीकरण गरेका थिए । सोमबार साँझदेखि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि चेकजाँच सुरु गरेको छ । युवाहरूले मंगलबारदेखि सडकमा आफूहरु आउन नपर्ने बताएका छन् । तर, ट्राफिक प्रहरीले आवश्यक ठाने आफूहरु सहयोग गर्न तयार रहेको उनीहरुले जनाएका छन् ।

‘आजबाट ट्राफिक प्रहरी पनि सडकमा आउनुभएको छ, त्यसैले भोलिदेखि हामी सडकमा आउँदैनौँ,’ ओझाले भने, ‘कठमाडौंको ट्राफिक व्यवस्थापन सानो संख्याले सम्भव हुँदैन । आवश्यक परे हामी प्रहरीलाई साथ दिन तयार छौँ ।’जेनजी आन्दोलनका क्रममा केही युवाहरु उश्रृंखल गतिविधि गर्दै सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याइरहेका थिए भने केही युवाहरु भने त्यसलाई जोगाइरहेका थिए ।

यता, त्यसलगत्तै केही युवाहरु सरसफाइ र पुनर्निर्माणमा जुटेका छन् भने केही सडकमा उभिएर यातायात व्यवस्थापनलाई सहज बनाइरहेका छन् ।
सडकमा आएर आइतबार र सोमबार यातायात सहज बनाएका आयोनका प्रतिनिधिहरुले सिभिल अस्पतालका बिरामीहरुलाई पनि खाना तथा खाजाको व्यवस्था गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *