कमरेड माधवकुमार नेपाल, लाल सलाम !
तपाईँ आज नेपालको कम्युनिष्ट आन्दोलनमा एक शीर्ष नेता, सादगी, इमानदार र सरल जीवनशैलीको एक उदाहरणीय नेतृत्व हो । हाम्रो देशको यस जटिल र विषम राजनीतिक परिस्थितिमा म तपाईंलाई हार्दिकतापूर्वक केही कुरा राख्न चाहन्छु ।
कम्युनिष्ट आन्दोलनमा लागेर हजारौँ ठक्कर खाँदा पनि नअघाएको एक सिपाहीका रूपमा म तपाईँलाई माथि उल्लेखित विश्वासका आधारमा, आफ्नो आस्था र विश्वास समर्पित गरेको नेतालाई यति कुरा राख्दा गलत हुँदैन र राख्न वाञ्छनीय ठानेर यो कुरा राख्दैछु ।

पछिल्लो दशक बाम आन्दोलनभित्र सङ्घर्ष, एकता र विभाजनको शृङ्खला अत्यन्त तीव्र रूपमा चल्यो । यी परिघटनाको मुख्य नेतृत्व तपाईँ, केपी ओली र प्रचण्ड नै हो । यद्यपि, तीन पात्रमध्ये तपाईँ सबैभन्दा इमानदार हो भने बाँकीको अनैतिकता र आपराधिक मनोवृत्तिबारे दुनियाँ स्पष्ट छ।
एमाले-माओवादी एकतापछि बनेको डबल नेकपा नेतृत्वको सरकार, त्यो सरकारले गरेको भ्रष्टाचार, त्यसपछिको विवाद, अनि संसद् विघटन, पार्टी विभाजन र कम्युनिष्ट आन्दोलनको भ्रष्टीकरण हुँदै आज यहाँसम्म आउँदा कम्युनिष्ट आन्दोलन नै विघटनको संघारमा छ ।
सडक जनताले कब्जा गरे, तर जनताको आक्रोशको भावनाको वारेस भने आवाराहरू बन्दै गरेको हामी देख्दैछौँ । बन्दै गरेको सरकारप्रति संशय छ । लाग्छ भोलि संविधान सङ्कटमा पर्छ । सदन पनि जनविरोधी बन्छ । अनि, हामी कम्युनिष्टहरु चाहिँ निरीह र लाचार भई मूकदर्शक भएका छौँ।
हजारौँ योद्धाको बलिदान र अनेकौँ कष्टका बाबजुद यहाँसम्म आएको कम्युनिष्ट आन्दोलन, जसका लागि तपाईँको जीवनको पाँच दशकको अथाह मेहनत छ, अनि तपाईँहरूकै आँखा अगाडि कसरी दुर्घटनामा जान दिनुहुन्छ ? अब यसलाई दुर्घटनाबाट बचाउने जिम्मेवारी पनि तपाईँहरूसँग नै छ, त्यसैले जिम्मेवार बनेर दुर्घटना, अर्थात् कम्युनिष्ट आन्दोलनको विघटन रोक्नुस् । यो बिन्ती हो ।
हरेक नेतृत्व पदलोलुप, सत्तालोलुप र द्रव्य पिचास छैन भन्ने कुराको उदाहरण खोजिरहेको छ । हामी त्यो उदाहरणको रूपमा तपाईँ खडा भएर कम्युनिस्ट आन्दोलनको शीर्ष नेताको हिसाबमा समाजलाई सकारात्मक सन्देश दिन कत्ति पनि कन्जुस्याइँ नगर्नुहोस् भनी म अपिल गर्न चाहन्छु ।
आज समाजको मूल मुद्दा, आम मानिसमा नेताहरू भ्रष्ट भए, यिनीहरूलाई यहाँबाट खेदाउनुपर्छ भन्ने नै छ। हुन पनि तपाईँ र सम्मानित नेता झलनाथ खनालको घरमा आगो लाग्दा पैसा जलेको देखिएन । जल्नु जति दुःखद छ, तर भ्रष्टाचारका रकम त्यहाँ नभेटिएकोप्रति भने हामीलाई सन्तोष छ ।
नत्र, केपी ओलीको घरमा बोरामा किताब हो भन्दै लुटेराले पैसा लिएर हिँडे, मीतको घरमा ८० किलो सुन भेटियो भनेर क्यामेरामा देखियो । देउवा र प्रचण्डको घरमा अर्बौँ, त्यो पनि खाल्टोमा गाडेको देखियो, आजसम्म मान्छेहरू घर-कोठा खोतल्दैछन्, सुन र पैसा भेटिने आशामा ।
तपाईँले यो देशको नेतृत्व सङ्क्रमणकलामा कार्यकारी प्रमुख भएर छोटो समय गर्नुभयो। हामीलाई विश्वास छ, तपाईँले यो देशको माटो र जनतामाथि कुनै अपराध गर्नुभएको छैन, यद्यपि तपाईँमाथि भ्रष्टाचारको मुद्दा लाग्यो । आज अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहनु भएको छ।
हाम्रो लागि खतरा यो हो कि, शीर्ष नेतृत्व, त्यो पनि एमाले र कांग्रेसमा देश हाकाहाकी लुट्न प्रतिस्पर्धा नै भयो। राज्यको सम्पत्ति निजी बनाएर आफ्नो भकारीमा थुपार्नु उनीहरूका लागि जनसेवा भयो । नियुक्तिमा पैसा, सरुवा बढुवामा पैसा, ठेक्कापट्टामा पैसा, आयोजनामा पैसा, कुनै पनि राज्यका अर्थसँग सम्बन्धित काम हुँदै छ भने त्यहाँ पहिलो उद्देश्य भ्रष्टाचार हुन्छ, हुँदा हुँदा पैसाको लागि कमिसन खाएर सिंहदरबारमा योजना किनबेच हुने कुरा मिडियामा पढ्न पाइन थाल्यो ।
यी सब घटना र अपराधको मुख्य दोषी राजनीतिक नेतृत्व हो भन्ने कुरा प्रस्ट छ । यही स्थितिलाई देखाएर आमजनता पुराना पार्टी र नेतृत्वमाथि जाइलाग्ने स्थिति बन्यो । हाम्रो नेतृत्वमाथि हामीलाई अगाध विश्वास हुँदाहुँदै पनि समयले हाम्रो नेतृत्वबाट नैतिक मानक स्थापनाको माग गरिरहेको छ ।
हरेक नेतृत्व पदलोलुप, सत्तालोलुप र द्रव्य पिचास छैन भन्ने कुराको उदाहरण खोजिरहेको छ । हामी त्यो उदाहरणको रूपमा तपाईँ खडा भएर कम्युनिस्ट आन्दोलनको शीर्ष नेताको हिसाबमा समाजलाई सकारात्मक सन्देश दिन कत्ति पनि कन्जुस्याइँ नगर्नुहोस् भनी म अपिल गर्न चाहन्छु । तपाईँकै अगुवाइमा प्राप्त लोकतान्त्रिक गणतन्त्र, यसको संविधान र संवैधानिक संस्थाहरूमार्फत प्रतिशोधकै रूपमा तपाईँमाथि हमला भए पनि यसलाई विश्वासका साथ नैतिक मूल्यका साथ तपाईँले सामना गर्ने र यसमा हामीले साथ दिने परिस्थिति बनोस् भन्न चाहन्छु ।
नैतिक बल कति बलियो भन्ने कुरा तपाईँबाट नै हामीले सिकेको हो । सिङ्गो समाजलाई पुनः एक पटक यसमा अगुवाइ गर्नुस् भन्ने हाम्रो सादर निवेदन पनि हो ।
यो किन भनिरहेको छु भने, केपी ओली, शेरबहादुर देउवा र प्रचण्डजति यो दुष्कर्मका भागीदार हुन्, तपाईँ होइन । हामीलाई त्यो लाग्छ, आज हामीसँग त्यो शक्ति पनि छैन, आरोप खेप्नलाई । तर, ओली र देउवाले गरेका बदमासीको सिकार अरू हुनुपर्यो र सुन्नुपर्यो सबै नेता चोर हुन्, केपी ओली, शेरबहादुर र प्रचण्डको घरमा आगो लाग्दा माधव र झलनाथको घरमा पनि आगो लाग्यो, अनि जनताले पनि भन्छन्, ‘यी सबै भ्रष्टाचारी हुन्, छोड्नु हुँदैन।’
अब हामी के गरौँ ? नेतातिर फर्कौँ, जनता छैन, जनतातिर फर्कौँ, नेता छैनन्। यो स्थितिमा हामीले गम्भीर भएर सोच्नुपर्यो, हामीलाई आन्दोलनको माया छ। तपाईँहरूको रगत, पसिना र पौरखले निर्माण गरेको इतिहास कम्युनिष्ट आन्दोलन बचाउनु छ, त्यसैले राजनीतिक जीवनमा हारेर पनि जित्नुपर्छ, जितेर पनि हार्नुपर्छ । आज तपाईँको नैतिक अगुवाइ हारभित्र जित खोज्ने उपाय हो ।
केपी ओली र शेरबहादुर देउवाको अपराधमा किनाराको साक्षी बनेर लामबद्ध हुनुभन्दा, कम्युनिष्ट आन्दोलनको रक्षा, समाजवादी आन्दोलन निर्माणका लागि योगदान गर्दै अब पार्टी अध्यक्षबाट अलग भई दोस्रो-तेस्रो, अब त चौथो राजनीतिक पुस्ता पनि तयार भइसकेको छ ।
उहाँहरूमाथि तपाईँले भरोसा गर्ने बेला आएको छ । भरोसा गर्नुपर्छ, यो विज्ञान पनि हो । मेरो सादर अनुरोध छ, ती नेतालाई आन्दोलनको अभिभारा जिम्मा लगाएर र शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको, लामो रूपान्तरणको आन्दोलनको एउटा असल र अग्लो व्यक्तित्वको रूपमा यो आन्दोलन आफैँमा कति मूल्यवान सांस्कृतिक जगमा छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्नुहोस् ।
यसो हुँदा मलाई लाग्छ, इतिहासमा युगौंयुगसम्म पनि बाँचिरहने नाम माधवकुमार नेपाल हुनेछ ।
(लेखक नेकपाको पूर्वविप्लव समूह हुँदै एसका पूर्वकेन्द्रीय परिषद् सदस्य हुन् ।)

Leave a Reply