सवारीचालक बस्ने घरमा ल्यापटप र प्रिन्टर राखेर कोशी सरकारले काम थाल्यो

विराटनगर । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भग्नावशेषबाटै सेवा काम थालेको छ । भदौ २४ गते भएको आन्दोलनका क्रममा जलेर भग्नावशेष कार्यालय भवनबाट मुख्यमन्त्री कार्यालयले काम थालेको हो ।

कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपछि चालकहरू बस्ने भवनबाट सेवा प्रवाह थालेको हो । चालकहरू बस्ने भवनबाट एउटा ल्यापटप र प्रिन्टर राखेर सेवा सुरु भएको प्रमुख सचिव चन्द्रकला पौडेलले बताइन् ।

पौडेलले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलगायत अधिकांश मन्त्रालयहरू पूर्ण रूपमा ध्वस्त भएपछि कोशी प्रदेश सरकारले वैकल्पिक व्यवस्थापनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको बताइन् । उनले कार्यालयमै आएर आवश्यक कामको निर्देशन दिएकी छन् ।

उनले मुख्यमन्त्री कार्यालय परिसरमा बनेको नयाँ सभा हल भवनबाट काम अघि बढाउने तयारी रहेको बताइन् । सो भवनमा भने फर्निचर लगायतका समान नहालेका कारण आक्रमणकारीबाट जोगिएको छ ।

उनले भनिन्, मुख्यमन्त्री कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ, तर हामी सेवा प्रवाहलाई निरन्तरता दिन कटिबद्ध छौँ, । पौडेलले सफाइको काम भइरहेको सभा हल भवनको तल्लो र माथिल्लो तलामा बसेर मन्त्रिपरिषद् बैठक र अत्यावश्यक सेवाहरू प्रदान गरिने बताइन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण भौतिक संरचना मात्र नभएर ऐतिहासिक र प्रशासनिक दस्ताबेजमा पनि अपूरणीय क्षति पुगेको छ ।

प्रमुख सचिवले भनिन्, ‘आगजनीका कारण विगत सात वर्षका फाइल र कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।’ उनले काठमाडौँस्थित सरकारी एकीकृत डाटा केन्द्रमा भएका डिजिटल डाटाहरू सुरक्षित रहेको बताइन् । त्यहाँबाट डाटाहरू सार्न सकिने बताइन् ।

उनले भुक्तानी, बजेट र हाजिरीसँग सम्बन्धित प्रणालीहरू पुनः सञ्चालनमा आइसकेको बताइन् । कोशी प्रदेशमा सामाजिक विकास मन्त्रालय बाहेक सबै मन्त्रालयमा आगजनी भएको छ । सामाजिक विकास मन्त्रालयमा भने तोडफोड मात्रै भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा योजना, स्वास्थ्य मन्त्रालयमा आगजनी भएको छ ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन बन तथा वातावरण मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालयमा आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *