अर्थमन्त्री खनाललाई पत्रकारले ‘जेनजी हजुरबा’ भनेपछि…

काठमाडौं । राजनीतिक दलबाट मन्त्री नियुक्ति हुँदाभन्दा आज अर्थ मन्त्रालयमा फरक माहोल थियो । नयाँ मन्त्रीलाई स्वागत गर्न कार्यकर्ताको भिडभाड र अनावश्यक तामझाम थिएन ।

डा. रामेश्वर खनाल आफ्नै निजी गाडी चढेर अर्थ मन्त्रालय प्रवेश गरे । यो पनि नौलो दृष्य हो । खनालले आफू मन्त्री नियुक्त भएलगत्तै पनि सरकारी गाडी नलिने घोषणा गरेका छन् । आन्दोलनका क्रममा सयौं सरकारी गाडीहरु जलाइएकाले मन्त्रीको यो निर्णयले सांकेतिक अर्थसमेत राख्छ ।

मन्त्रालयको द्वारमा सचिव लगायत केही उच्च पदस्थ कर्मचारीहरु हातमा फुलगुच्छा लिएर स्वागतमा उभिएका थिए । यसमा मन्त्री त्यति खुशी देखिएनन् । ‘फुलले स्वागत नगरेको भए हुन्थ्यो’ भन्दै उनी भित्र पसे ।

अघिल्ला मन्त्रीहरु बसेको कुर्सीमा नै गएर नवनियुक्त अर्थमन्त्री खनालले पदभार ग्रहण गरे । अर्थमन्त्रीको कुर्सीमा बसेपछि उनले पहिलो निर्णयमा हस्ताक्षर गरे– टुक्रे आयोजनाहरु खारेज गर्ने ।

राजनीतिक दबाबमा बजेटमा पारिएका, समय सकिएपछि योजना बैंकबाट बजेटमा हालिएका, तयारी नपुगेका आयोजनाहरु हटाउने निर्णय उनले लिएका हुन् । बजेटमा भएका कार्यक्रम कटौतीका लागि उनले बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् ।

पदभार सम्हालेपछि मन्त्रीले आफूलाई ‘माननीय’ नभन्न पत्रकालाई अनुरोध गरेका थिए । त्यहाँ उपस्थित एक पत्रकारले कटाक्षा गर्दै सोधे, ‘जेनजी भन्ने हो ?’ अर्का पत्रकारले भने– जेनजी बुवा भनौं । फेरि अर्काले ‘बुवा होइन हजुरबा’ भन्दा अर्थमन्त्रीको कार्यकक्षमा हाँसो गुञ्जिएको थियो ।
मन्त्रीले पदभार सम्हालेपछि सुवर्ण हलमा कर्मचारीहरु र पत्रकार राखेर अन्तरक्रिया सुरु भयो । अर्थमनत्रीले आफुभन्दा पहिले गभर्नर डा. विश्वनाथ पौडेललाई बोल्न दिए । पौडेलले मेरो भन्नु खासै केही छैन भनेर पन्छिन खोजे ।

अर्थमन्त्रीले कर गरेपछि उनले भने, ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरुमा आक्रमण भयो । ६९ वटा एटिएममा केही असर परेको छ । अहिले बैंक सिस्टममा केही समस्या छैन । मनोबल बढाउनु पर्ने बेला भएकाले त्यसै अनुसार काम गर्नुपर्ने छ ।’

अर्थमन्त्रीले पदभार ग्रहणपछि टुक्रे आयोजनाहरु कटौती गरेर ६ महिनामा निर्वाचन गर्नका लागि १ सय अर्ब रुपैयाँ स्रोत जुटाउने सोच प्रस्तुत गरे ।

उनले भने, ‘६ महिनापछि निर्वाचन गर्नु पर्ने छ । त्यसका लागि टुक्रे आयोजना कटौती गर्दा १ सय अर्ब पैसाको स्रोत जुट्ने छ । राजस्व उठाउन पनि हामी लाग्नु पर्ने छ ।’

मन्त्रालयका धेरै कर्मचारीसँग आफूले विगतमा काम गरेको अर्थमन्त्री खनालले सम्झिए । उनले भने, ‘मैले पहिले पनि यो मन्त्रालयमा १४ देखि १८ घण्टासम्म काम गरेको अनुभव छ । राम्रो कामका लागि मसँग जसरी र जुन बेला आएपनि हुन्छ । काम हुने फाइल बोकेर आउँदा अब अर्थ मन्त्रालयबाट फर्किनु पर्दैन । तर, गलत मनसाय बोकेर नआए हुन्छ ।’

अर्थमन्त्रीले आफुलाई सवारी चालकबाहेक दुई जना कर्मचारीमात्र चाहिने बताएका छन् । उनले भने, ‘गाडीमा हिँड्दा फोन आउँछ । त्यसैले मलाई एक जना सवारी चालक चाहिन्छ । मेरो निजी सचिवालय हुने छैन । मन्त्रालयले मलाई काम गर्न सक्ने दुई जना कर्मचारी दिए पुग्छ ।’

मन्त्रीले पदभार सम्हालेर हलमा छलफल गर्दै गर्दा पर्वतका शालिग्राम शर्माले केहीबेर चर्का कुरा गरेर माहोल तताएका थिए । उनलाई सुरक्षाकर्मीले बाहिर निकाले ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *