काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा आफूहरु रहेको प्रष्टीकरण दिएको छ । प्रवक्ता मनिष झाले विज्ञप्ति निकाल्दै कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टीको नीति रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको नृशंस दमन तथा हत्या मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनु पर्दछ ।
जेनजीको प्रदर्शन घोषणा लगतै भदौ २२ गते नै हामीले विज्ञप्तिमार्फत् जेनजीले उठाएका मागहरुलाई यथोचित सम्बोधन गर्न अपिल गर्दै जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकारलाई खबरदारी गर्नुकासाथै पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी शान्तिपूर्वक ऐक्यबद्धता जनाउन आग्रह पनि गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, कानूनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानमा प्रतिबद्ध छ । हाम्रा सदस्यहरु कुनै पनि खाले हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित नरहेको प्रष्ट पार्न चाहान्छौं ।’
बर्बर दमन एवं नरसंहारबाट उत्पन्न असामान्य आवेग इतर शान्तिपूर्ण प्रदर्शनको अवसर छोपी नियतवश सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनी जस्ता आपराधिक गतिविधि संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न माग गर्दै पार्टीको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जाहेर गरेको छ।
Leave a Reply