काठमाडौं । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएका दलहरूले फागुन २१ को निर्वाचनमा भाग लिन तयार देखिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि चर्को विरोधमा उत्रिएका दलहरूले निर्वाचनमा भाग लिन तयार देखिएका हुन् ।
जेन जी आन्दोलनले ल्याएको उथलपुथलपछि राजनीतिक निकासको लागि निर्वाचनको विकल्प नभएकाले दलहरू तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका हुन् । उनीहरूले तोकेकै समयमा निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई संविधान फर्काउन अविलम्ब तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए ।
आगजनी भएको पार्टी कार्यालयको अनुगमनपछि उनले भने, ‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ ।’
नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने आफूहरूको बुझाइ रहेको बताए । सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन नसक्ने भन्दै मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी रहेको बताए ।
कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्याउनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ। प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो। निर्वाचन सम्पन्न भएसँगै चार पुस्ताको सङ्घर्षबाट निर्माण भएको संविधान फेरि पुर्णरुपमा क्रियाशील हुनेछु ।’
यस्तै, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि अन्तरिम सरकारले तोकेको मितिमा निर्वाचन नभएका देश भयावह संकटमा जाने बताए । सरकारलाई घोषित मितिमा निर्वाचन गराउने वातावरण बनाउनेतिर सबै लाग्नुपर्ने बताए ।
उनले भने, ‘अन्तरिम सरकार बनिसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा अब हामीले त्यही बाटोबाट छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आवश्यक छ। घोषित मितिमा चुनाव गर्न सरकार असफल भयो भने देशमा भयावह अवस्था आउँछ ।’
उनले सबैको आवश्यकतालाई ध्यान दिएर जेनजी आन्दोलनको उपलब्धिलाई गुम्न नदिने गरी अन्तरिम सरकारलाई सफल बनाउनु लाग्नुपर्ने बताए ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हक अधिकारको निर्बाध उपभोग गर्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विधिमा बाँधिएको असल शासन अनुरूप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरूबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।’
त्यसो त आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै तोकिएको समयमा नै निर्वाचन गराउन केन्द्रित हुन दलहरूलाई आह्वान गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’
रास्वपाले त पहिल्यै पनि ताजा जनादेशमा जान माग गरेको थियो। असहमतिका बीचमा पनि सरकारले संसद् विघटन गरेको भएपनि अन्तिम दलहरू बाध्य भएर निर्वाचनमा जान तयार देखिन्छन् ।
Leave a Reply