यातायात विभागमा भिडिओ टुर- लाइसेन्स छाप्ने देशकै एकमात्र मेसिनसहित सबै विवरण खरानी

काठमाडौं । जेनजी आन्दोलनको क्रममा अराजक समूहको निशानामा परेको बानेश्वरस्थित यातायात व्यवस्था विभाग भग्नावशेषमा परिणत भएको छ ।

संघीय संसदको भवननजिकै रहेको विभागमा आन्दोलनकारीहरूले आगो लगाएसँगै छापिएका हजारौँ लाइसेन्स, इम्बोस्ड नम्बर प्लेटको स्टोरेज, इम्बोस्ड छाप्ने मेसिन र लाइसेन्स छाप्ने अत्याधुनिक मेसिन ध्वस्त भएका छन् ।

लाइसेन्स, हार्डडिक्स प्रिन्टर, ल्यापटप र जेनरेटरका ब्याट्रीहरूसहितका महत्वपूर्ण वस्तुहरू चोरी भएका कर्मचारी बताउँछन् ।

विभागका सिभिब इन्जिनियर प्रेमकुमार यादवका अनुसार, ‘भवनको पहिलो तला र दोस्रो तलामा रहेको सामाग्री सहित कागजपत्र (डकुमेन्ट) र भौतिक संरचना जलेर ध्वस्त भएका छन् भने तेस्रो तलामा आगोको मुस्लोले फोहोर भएपनि कागजपत्र र भौतिक वस्तु सकुसल छन् । काम चलाउनका लागि तेस्रो तलामा काम भइरहेको छ ।’

आन्दोलनमा विभागको ७ अर्ब लगानी खरानी भएको उनले सुनाए । अहिले विभागमा भएको क्षति र लुटिएका सामग्रीको विवरण संकलन गर्न टेन्टमुनि बसेर काम गरिरहेको सूचना अधिकारी गणेशमान सिंह राईले सुनाए ।

उनले भने, ‘अहिले कति क्षति भएको छ ? कति सामाग्रीहरू चोरी भएका छन् ? त्यसको डाटा निकाल्न विभागको टोली खटिएको छ । ड्युटीमा खटिएका कर्मचारीहरूले आफ्नो व्यवस्था आफैँ गरेका छन् । अहिले यस्तो विषम परिस्थितिमा विभागले केही गर्न सकेको छैन । बस्ने कुर्सी नाडाले दिएको छ र आगोबाट बचेखुचेको टेवल प्रयोग गरिरहेका छौँ ।’

उनले विभाग भौतिक तथा यातायात मन्त्रालयअन्तर्गत रहेकाले क्षतिको विवरण संकलन गरेर मन्त्रालयमा बुझाउने बताए । अहिले अर्को सूचना नआउँदासम्म सेवाग्राहीलाई कुनै सेवा दिन नसकिने उनको भनाइ छ ।

यातायातले हिजै सार्वजनिक सूचना निकालेर लाइसेन्स छपाइ, वितरणलगायतका काम अनिश्चितकाललाई बन्द गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *