धनगढी ।नेपाल कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई लोकतन्त्र विरोधी तत्वको घुसपैठका कारण भएको ठहर गर्दै त्यसको घोर भर्त्सना गरेको छ । दलको बैठकले दोषीलाई तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
मुख्यमन्त्रीसमेत रहेका दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको बैठकले जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नलाई छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । साथै सरकारलाई एकता, पुनर्निर्माण र जिम्मेवार कदम चाल्न आग्रह गरिएको छ ।
बैठकले भाद्र २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका नागरिक, प्रहरी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ भने घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
त्यस्तै, देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, लुटपाट, आगजनी र तोडफोडका घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको छ ।
बैठकले जेन–जी र युवाले उठाएका भ्रष्टाचारमुक्त समाज निर्माण तथा भ्रष्टाचारविरुद्धका उचित मागलाई सम्बोधन गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ । साथै वर्तमान परिस्थितिलाई गम्भीर ठहर गर्दै सबैलाई एकजुट भई पुनःनिर्माणमा जुट्न अपिल गरिएको छ ।
Leave a Reply