चितवन । जेन–जी समूहको आन्दोलनमा भएका क्षतिको विवरण चितवनमा आउन सुरु भएको छ । जिल्ला सुरक्षा समितिले प्रारम्भिक क्षतिको विवरण निकालेर मानवीय र भौतिक रुपमा के कति क्षति भयो विवरण निकाल्न थालेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले दिएको जानकारी अनुसार जेनजी आन्दोलनमा जिल्लामा दुई जनाको ज्यान गएको छ । मृत्यु भएका व्यक्ति भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घर जलाएर सामान लुटपाट गर्न भित्र पसेका २१ वर्षका सरोज गुरुङ रहेको खुलेको छ ।
अर्का एक व्यक्ति रत्ननगर नगरपालिकाका प्रमुखको कार्यकक्षभित्र जलेको अवस्थामा मृत भेटिए पनि १८ वर्षका भारतीय नागरिक भएको खुले पनि सुरक्षा समितिले विवरण भने उल्लेख गरेको छैन । प्रमुख जिल्ला अधिकारी अर्यालले मृत्यु भएको जानकारीमा आए पनि प्रहरीले शव लिन नपाएको र आफन्तले लगिसकेको अवस्थामा विवरण उल्लेख गर्न नसकिएको दाबी गरे । भने जिल्लामा जेन–जी आन्दोलनमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये प्रदर्शनकारीका तर्फबाट घाइते भएका ४ जना अझै उपचाररत भएको उनले जानकारी दिए ।
आन्दोलनका क्रममा अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ब्याङ्क र रबरका गोली गरि २ सय राउण्ड हवाइ फायर गरेको, ३ सय ५० सेल ग्याँससेल हानेको पनि उनले जानकारी दिए ।
भौतिक संरचनातर्फ भने सरकारी भवन, व्यक्तिको निजी घर र राजनीतिक दलका कार्यालय गरि ९८ वटा भौतिक संरचना तोडफोड र आगजनी भएका छन् । जसमा ७९ वटा सरकारी संरचना तोडफोड र आगजनी, १६ वटा व्यक्तिको निजी आवास र नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी गरि तीन राजनीतिक दलको भवनमा तोडफोड तथा आगजनी भएको भौतिक क्षति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
भौतिक क्षतिको यकिन विवरण लिन प्राविधिक टोलीसहितको क्षति मूल्याङ्कन समिति पनि गठन गरिएको छ । उक्त समितिले तीन दिनभित्र क्षति मूल्याङ्कन गरि बुझाउने गरि अहिले क्षतिग्रस्त भवन तथा कार्यालयहरुमा अनुगमन गरिरहेको जनाइएको छ ।

अत्यावश्यक सेवा तथा नागरिकता वितरण थालनी
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सरकारी भवनमध्ये अधिकांशको लिखित मिसिल छैन । तर, यतिबेला अत्यावश्यक सेवा नरोक्ने गरि काम गर्ने तयारी भइरहेको छ । केही कार्यालयले आइतबारदेखि नै सामान्य सेवा जस्तो अदालतमा थुनुवाहरुको म्याद थप लगायतका काम सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले पनि तत्कालको लागि आवश्यक नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता दिन सक्नेगरि काम भएको उनले जानकारी दिए । राहदानी र राष्ट्रिय परिचय पत्र केन्द्रीय स्तरबाट निर्णय भएर आउनुपर्ने भएकोले क्षति विवरणसहितको पत्र पठाइएको उनले जानकारी दिए ।
नागरिकता वितरणको लागि पनि जिल्लाका माडी बाहेक स्थानीय तह र वडा समेत आजगनी भएका कारण सामान्य सिफारिस समेत आउन नसक्ने अवस्था रहेकोले समन्वयात्मक रुपमा काम गर्नुपर्ने अवस्था रहेको छ ।
उनले भने, – हामीले कसरी हुन्छ सिफारिसको काम अघि बढाइदिनुस् । यतिबेला ज्येष्ठ नागरिक लगायतले पाउने सामाजिक सुरक्षा भत्ता वितरण सहज होस्, नागरिकता र प्रतिलिपिको लागि पनि सिफारिस पठाइदिनुस् भनेका छौँ ।
स्थानीय तहको क्षति र सेवा प्रवाह सम्बन्धमा पनि समितिले आज जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतसँग संयुक्त छलफलको गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार नै सूचना निकालेर २३ गतेदेखि रोकिएको फोहोरको व्यवस्थापनका काम पनि सूचारु भएको जनाएको छ ।
प्रारम्भिक आङ्कलन अनुसार ६५ थानको हाराहारीमा कम्प्युटर र कर्मचारी बसेर काम गर्न मिल्ने कुर्सी टेबल लगायतका फर्निचरको आवश्यकता तत्कालै भएमा काम अघि बढाउन सकिने जनाइएको छ ।
‘सरकारी कार्यालय, प्रहरी भवन निर्माणको लागि हामी सहयोग गर्छौँ भन्ने सहयोगी स्थानीय तथा निजी संस्थाहरु हाम्रो समन्वयमा आइरहनुभएको छ, उनले भने, ‘त्यस्तो सहयोग एकद्वार प्रणालीबाट अघि बढोस् भनेर हामीले जिल्ला प्रशासनमार्फत सहयोग संकलन गरि प्राथमिकताका आधारमा वितरण गर्ने तयारी गरेका छौँ ।’

कारगारबाट निस्किएका ७४२ मध्ये ३२७ कैदीबन्दी फर्किए
जिल्ला कारागार चितवनबाट २५ गते बिहान यहाँ थुनामा रहेका ७ सय २५ कैदी निस्किएर बन्दोबस्तीका सामानसहित घर हिँडेका थिए। प्रहरीले पनि व्यक्तिको कम गर्न बल प्रयोग नगरेका कारण उनीहरु सबै घर हिँडेका जनाएको थियो ।
कैदीबन्दी निस्कएको भोलिपल्ट २६ गते जिल्ला सुरक्षा समितिले सूचना जारी गरेर घर गएका कैदीबन्दी आफै सम्पर्कमा आए फरक व्यवहार नगर्ने तर सम्पर्कमा नआए कानून अनुसार पक्राउ गर्ने भनेर सूचना जारी गरेको थियो । सोही सूचनापछि २९ गते बेलुकासम्म ३ सय २७ जना कैदी कारागार फर्किएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
उनका अनुसार चितवन कारागारमा अन्य कारागारबाट घर हिँडेका १५ जना कैदीबन्दी पनि राखिएको छ । भने अब कारागार फर्किन बाँकी ४ सय १५ जना रहेका छन् ।
२५ गते बिहान कफ्र्यूको समय भएकोले समयसीमा नदिइकन सम्पर्कमा आउन अनुरोध गरेपनि अब फेरि सूचना निकालेर समयसीमा दिएर कारागार फर्किन अनुरोध गर्ने नआएमा कानुनअनुसार नियन्त्रणमा लिने उनले बताए ।
विवरण–


Leave a Reply