अस्पतालको शैय्यामा आमा–बुवा कुरिरहेका सुनिल, जेनजी आन्दोलनमा लागेकाे थियाे गाेली

कैलाली । एक वर्षअघि बझाङ खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलबाट जापान जाने सपना बोकेर काठमाडौं छिरेका १८ वर्षीय सुनिल अहिले टिचिङ अस्पतालको एउटा शैय्यामा छटपटाइरहेका छन् ।

सुनिलको जापान जाने सपना भन्दा ठूलो सपना थियो—आमा कुसुमका लागि रकम जोहो गर्नु । कान्छो छोरालाई पढाउन र सुनिललाई जापान पठाउने पैसा जुटाउन उनी भारतको दिल्लीमा संघर्षरत छिन् ।

बिहान एनसिएलको डाटा सेन्टरमा काम गर्ने र साँझ भाषा कक्षामा जाने उनको दैनिक जीवन थियो । तर, २३ भदौँको साँझ उनलाई गोली लाग्यो ।

जेनजीको आन्दोलनका बेला सुनिल कन्सल्टेन्सीबाट भाषा पढेर फर्कँदै थिए । भीडभाड सडकमा प्रहरी र प्रदर्शनकारीबीच भीषण झडप भइरहेकै बेला उनी गोलीको शिकार बने । उनको बोकेको झोलामा किताब थियो ।

‘गोली लागेपछि तत्कालै सिभिल अस्पताल लगियो । त्यहाँ उपचारपछि अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ,’ उनका दाजु आभाष थापाले भने ।

झडपमा पछाडिबाट हानेको गोली दायाँ खुट्टाको तिघ्रामा छेडेर खल्तिमा रहेको मोबाइल समेत छेड्दै बाहिर निस्किएको छ । शल्यक्रियापछि उनी तीन दिनसम्म आइसियुमा राखिए । अहिले अवस्था खतरामुक्त छ ।

एकातर्फ गोली लागेकै पीडा छ भने अर्कोतर्फ अस्पतालको शैय्यामा छटपटाउँदा पनि आमा–बुबा नपुगेको पीडाले उनलाई पोलिरहेछ । सुनिलका बुवा केही वर्षयता सम्पर्कविहीन छन् । आमा भने छोरालाई जापान पठाउने पैसाका लागि भारतमा मजदुरी गरिरहेकी छन् ।

बुढेसकालको साहारा भएको छोरालाई गोली लागेको खबर सुनेपछि आमा कुसुम केही दिन विक्षिप्त बनेकी थिइन् । नागरिकता नहुँदा चाँडै नेपाल आउन नसकेकी उनी भोलिसम्म काठमाडौं पुग्ने आभाष थापाले जानकारी दिए ।

हाल आमा–बुबाको प्रतीक्षामा सुनिल छन् । आभाषसहितका केही दाजुभाइहरूले उनको स्याहार गरिरहेका छन् । तर, सहारा ठानेका आमा–बुबा अझै नपुगेको पीडाले उनलाई झन् पोलिरहेको छ । उनका १२ वर्षीय भाइ धनगढीमा छन् । दाजुको अवस्थाले भाइलाई थप तनाव दिने भन्दै उनलाई काठमाडौं नबोलाइएको आभाषले बताए ।

‘बुवा सम्पर्कमा हुनुहुन्न, आमा भोलिसम्म पुग्नुहुन्छ कि भन्ने अपेक्षा छ,’ घाइतेका दाजु आभाषले भने, ‘ठूलाबुवा पनि गाडी नचल्दा आउन पाउनुभएको छैन । भोलिसम्म करिब सबै पुग्नुहुन्छ होला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *