मंसिर २४ गते २०७९ ! म यो देशलाई आफ्नो घर ठानेर पहिलोपटक भित्रिएकी थिएँ । आफ्नो देश छाडेर श्रीमानको घरलाई आफ्नो ठानेर आएकी थिएँ ।
मेरो २१ वर्षकै उमेरमा विवाह भएको थियो । म त खर्साङ, दार्जिलिङमा जन्मिएकी हुँ । बाउबिना हुर्किएकी थिएँ । आफ्नो घरबिना हुर्किएकी थिएँ । यही देशमा, यही देशको लाखौं घरमध्ये एक घरमा मैले आफ्नो अस्तित्व पाएँ । बाउ-आमा र मेरो जीवनसाथीको माया पाएँ ।
उनीहरूको स्नेहले मेरो मनको खाली ठाउँ भरेको थियो । उनीहरूको ममताले मलाई आत्मीयताको अनुभूति गराएको थियो । र, एक क्षणका लागि भए पनि मैले पूर्ण महसुस गरेँ ।
बिहे गरेर यो देशको आँगनमा रम्दारम्दै मभित्र एउटा सानो पुतलीको बास भएछ । मेरा स्वादहरू फरक भएको हुनाले म प्रायः बौद्धतिर गएर खानेकुरा खान रुचाउँथेँ । अनि घर फर्कँदा प्रायः बाबाको रिसाको जस्तो अनुहार देखेपछि अलिकति डर पनि लाग्थ्यो । भाटभटेनीबाट घरको सामान ल्याउँदा पनि बाबाको पढ्ने कोठाबाट तिखो तिखो आँखाले हेरिरहेको देख्थेँ ।
‘घाँटी हेरेर हाड निल्नु पर्छ’ भन्ने घरमा प्रायः मैले सुनिरहनु पर्थ्यो । म कहिलेकाहीँ सोच्थेँ- यस्तो ठूलो पार्टी एमालेको ठूलो पोस्टमा भएको ईश्वर पोखरेलजस्तो मानिस । एक समय देश चलाउने मानिस । घरभित्र यस्तो किन देखिनुहुन्छ ?
समय बित्दै गयो, स-साना कुराबाट मैले धेरै सिकें । सिक्दै गएँ । पैसा भन्ने कुराको मूल्य बुझेँ । पैसा बचाउन सिकेँ । पैसाको मूल्य, बचतको अनुशासन र विवेक भन्ने कुरा मैले परिवारबाट सिकेँ ।
कति मान्छेले भनेको सुन्थेँ, – ‘ईश्वर पोखरेलजस्तो नेताको बुहारी त हो, चाहिएको चिज सबै पुगिहाल्छ नि !’

पुगेको पनि थियो । मलाई ब्रान्डेड ब्याग, घडी अनि लुगा किन्ने इच्छा कहिल्यै पनि भएन ! सानैदेखि यस्ता कुरामा रहर थिएन पनि । दुःखमा हुर्केको भएर होला, म स-साना कुरामा नै खुशी पाउँथेँ । कसैले उपहार ल्याइदिए भने मुस्कुराउँदै लगाउँथेँ, तर आफ्नै पैसाले त्यस्ता कुरामा खर्च गर्थिनँ ।
बाबाको हातमा अहिलेसम्म मैले सुन लगाएको देखिनँ । मामुको हातमा सुनको स-साना दुईवटा चुरा हुन्थे । जुन चुरा उहाँ आफैंले शिक्षक हुँदा पहिलो कमाईले किन्नु भएको थियो । हाम्रो परिवार धेरै सामान्य थियो । ठूलो स्वरले झगडा गरेको, एक अर्कालाई नराम्रो भनेको कहिले पनि देखिनँ, सुनिनँ । कुनै विशेष परिस्थिति आयो भने बैठक बस्नु पथ्र्यो । अनि त्यो समस्याको हल सबैजना मिलेर निकाल्थ्यौं ।
समय बित्दै गयो, म एउटा सानी छोरीको आमा भएँ । हाम्रो घरको पहिलो छोरी ! हजुरबा हेर्दै हुर्केकी छोरीले सानैदेखि खेलौनाको साटो किताब रोज्न थाली । बाबाको पढ्ने कोठामा गएर किताब निकालेर पाना-पाना पल्टाउँदै हुर्किन थाली ।
‘बच्चाले घरमा जे देख्छ त्यही सिक्छ’ भन्ने आहानलाई मैले पनि राम्ररी बुझ्ने अवसर पाएँ । र, यसरी दुई वर्ष नपुग्दै मेरी छोरीले किताब-कलम रोज्न थालेकी छ ।
मेरी छोरी एक वर्ष नपुग्दै हामीले एक ठाउँमा जागिर खाने मौका पायौं । म र मेरो श्रीमान् एउटा अफिसमा सँगै काम गथ्र्यौं । बिहान उठेर छोरीलाई खाजा खुवाएर हामी अफिस जान्थ्यौं । बाबा अनि हाम्रो दाइ (जेठाजु ) र हामी सबै अफिसका लागि निस्कन्थ्यौं । घरमा आमा, छोरी अनि सहयोगी बहिनीहरू मात्र हुन्थे । हरेक दिन यसरी नै बित्थ्यो । आमालाई प्रायः सन्चो हुन्नथ्यो । त्यही भएर कहिलेकाहीँ अफिसबाट दौडेर घर पुग्थ्यौं । हाम्रो परिवारका दिनहरू सामान्य तरिकाले बित्दै थिए ।
यो बीचमा मेरो उमेर समूहका ‘जेन जी’ नाम पुस्ताले भ्रष्टाचारको विरोधमा आवाज उठायो । त्यो दिन हामी अफिस नगई घरमै बसेका थियौं । आन्दोलन चर्कियो । आन्दोलनमा साना साना बच्चाहरूले ज्यान गुमाएको थाहा पाएँ । हामीजस्ता कतिको ज्यान गयो, कतिको कोख रित्तियो भन्ने कुराले मन दुः खेर आयो । तिनका अनुहार, तिनका पीडा देख्दा मेरो मुटु चिरियो । रातभर म निदाउन सकिनँ ।
त्यसको भोलिपल्ट भदौ २४ गते बिहानको अवस्था अर्कै थियो । बिहानदेखि मन विचलित भइसकेको थियो । खाना खान र अरु केही काम गर्न मन लागिरहेको थिएन । त्यो दिन पनि फेरि कता तिर हो आन्दोलन भइरहेको भन्ने थाहा भयो ।
त्यस्तै १०:०० बजेतिर म भान्सामा केही पकाउन भनेर पसेँ । त्यो बेला एउटा बाइकमा निलो कलरको ज्याकेट लगाएको शंकास्पद मान्छे आयो । हाम्रो घरको मेन गेटबाट बाइक घुमाउँदै घरभित्र यसो चियाएर भागेको देखेँ । त्यो शंकास्पद मन्छे देख्नसाथ मन चिसो भयो । यसबारे मैले मेरो श्रीमानलाई सुनाएँ ।
ऊहाँ आत्तिँदै थप कुरा बुझ्न तल जानुभो । माथि आएर ‘यहाँ बस्न एकदमै असुरक्षित हुन्छ’ भन्नुभयो । त्यस बेलासम्म पनि के भइरहेको छ भन्ने कुरा बुझ्न मलाई गाह्रो भइरहेको थियो । लगाइरहेको एक जोडी कपडा बाहेक एउटा धागो पनि नलिएर हामी सपरिवार कुनै सुरक्षित स्थानमा गएर बस्यौं । हामी कपडा, सम्झना, आशा लगायत सबैकुरा घरमै छाडेर भाग्न बाध्य भयौँ ।
हामी भागेको एक घण्टा नबित्दै चार पाँच सय मानिसहरू आएर हाम्रो घरमा तोडफोड गरेर सबै आगो लगाइदिए । बाबाको गाडी, पिएसो अशोक दाइको बाइक, सबैलाई दन्दनी बालिएछ । हामीले सजाएको त्यो हरेक कुरा, हामीले बिताएका सबै पलहरू, मेरो आशाभरोसा सबैलाई सखाप पारिएछ । सबैलाई खरानी पारिएछ ।
त्यहाँ हुलमा भएका मान्छेहरूले ‘यहाँका मान्छे खै ?’ भनेर सोध्दा त्यहाँ भएको एकजना सहयोगी दाइले ‘उनीहरू बिहानै अस्पताल जानु भएको थियो’ भनिदिनुभएछ । चित्त त तब दुख्यो, जब तीमध्ये एउटा मान्छेले ‘यहाँको छोरा बुहारी अनि त्यो सानो बच्चा खै, निकाल् बाहिर’ भन्न थाले रे ! किन ? बलात्कार गर्न कि घरमा जिउँदै जलाउन ? हुन त अपराधी मानसिकता बोकेको त्यो अराजक जत्थाले आफ्नै देशको सम्पत्ति भष्म पारेका थिए । तिनीहरूले निर्दोष मानिसलाई के कदर गर्थे र ! के छोड्थे र !
कठिनाइमा सम्बन्ध हराउँछन् भन्ने कुरा त्यतिबेला थाहा पाएँ । आफन्त र साथीहरूले सान्त्वना दिनुपर्ने बेलामा उल्टै टाढा भए । कसैले हाम्रो दुःख बाँडेनन् । कतिपय त अरूको घर तोड्नमै व्यस्त देखिए । त्यस दिन मैले बुझेँ,- नातागोता भन्दा ठूलो स्वार्थ पो रहेछ । स्नेह र सहयोगको ठाउँमा डर, लोभ र निर्दयता हावी रहेछ ।
जुन घरलाई आफ्नो घर मानेर आएँ, त्यो घरमा आज खरानी बाहेक केही रहेन । जुन ठाउँलाई आफ्नो ठानेर आएँ, जहाँका मानिसहरूलाई भरोसा गरेर आएँ, तिनै मानिसहरूले झण्डै घरभित्र जिउँदै जलाइदिए ।
केही अराजक र आपराधिक मानसिकताका कारणले गर्दा सबैको संसार भताभुङ्ग भयो । नेपालीहरूको मन त कोमल हुन्छ भन्थे तर, मैले त्यो कोमलता कसैको मुखमा देखिनँ । के बिहे गरेर त्यो घरमा जोडिनु मेरो गल्ती थियो ? कि मेरो श्रीमानसँग माया गर्नु मेरो गल्ती थियो ? कि मेरो छोरी यो देशमा, यो परिवारमा जन्मिनु गल्ती भयो ?

तपाईँहरूले चिनेको मेरो परिवार र मैले आफैले बसेर देखेको मेरो परिवार आकाश-पातलको फरक छ । बाहिरका कतिपयले सुनेको ‘ईश्वर पोखरेल’ र मैले चिनेको ‘ईश्वर पोखरेल’मा आकाश पाताल फरक छ । तर, सम्पूर्ण परिवारलाई यसरी तहसनहस पार्नु गलत हो, अपराध हो ।
मेरो पासपोर्टमा कुनै देशको भिसा छैन किनकि तपाईँहरूले सोच्नु भएको जस्तो मैले देश-विदेश देखेको छैन । कपडा किन्दा सस्तो रोज्ने म । खाना खाँदा लोकल ठाउँ मनपर्ने मान्छे म । किन थाहा छ ? किनभने महँगो थाई, कोरियन खाना मेरो मुखले मान्दैन । साधारण जीवन मेरो रोजाइ हो ।
म मेरो श्रीमानको जिन्दगीमा आएदेखि मैले उनको सबै कुरामा परिवर्तन देखेको छु । म गर्वको साथ भन्छु, ऊ पनि सामान्य जीवन बिताउन मन पराउँछ । मैले मेरो छोरीलाई सानैदेखि हिलो माटो, खोला-नाला, गाउँघरमा देखाएर हुर्काइरहेकी छु । सकेसम्म उनलाई प्रकृतिको काखमा हुर्काउन कोसिस गर्दैछु ।
‘नेपोकिडस्’ भनेर ट्यागलाइन धेरै फेमस देख्छु । त्यसमा मेरो नाम कहिले आएन । म आज जे पनि काम गर्छु मेरो छोरीको राम्रो होस् भनेर गर्छु । अरू मलाई केही इच्छा लाग्दैन । बस मेरो छोरीले कहिले केहि कुरा दबाउन नपरोस् भनेर सोच्छु ।
आफूसँग भएको थोरै कुरा दिएर के फरक पर्छ ? हामी मेहनत गरेर काम गर्छौं । सम्पत्ति जोड्छौं । आखिर केका लागि ? न हामीले मास्नलाई जोड्छौं न त सँगै बोकेर जानलाई । जे छ, त्यो छोराछोरीलाई जिम्मा लगाएर जान्छौं, होइन र ?
मलाई आफू जन्मेको देशमा बसेर, एउटा ठुलो अफिसर बन्ने चाह थियो । र, अझैँ पनि कतै कुनामा त्यो चाह गुम्सिरहेछ जस्तो लाग्छ । त्यो चाहलाई मनमा राखेर सबै सपनाहरु त्यागेर म यो देशमा बसेकी हुँ ।
तर, यहाँ कसैले आफ्नो मान्दैनन् । कतिले हेप्छन् । कतिले त ‘दार्जिलिङ्ग पनि नेपाल हो’ भनेर गाली गर्छन् । तर म बच्चादेखि ‘जन गन मन’ सुन्दै हुर्केको मान्छे, मेरो के गल्ती ? इन्डियन पासपोर्ट भएको मान्छे यहाँ काम गर्नु नै गाह्रो छ । नागरिकता लिन पनि गार्हो छ । लिए पनि हामी जस्ताको लागि सबै कुरा असाध्यै कठिन छ ।
नेपालको कुनै नागरिकमाथि इण्डियामा केही घटना घट्दा सबैजना आक्रोशमा आउँछन् । मार्न, मर्न तयार हुन्छन् । तर, हामी जस्ताको लागि को छ ? को बोल्छ ? हाम्रो निर्दोषिता कसले प्रमाणित गर्छ ?
मेरो मन त्यो घटनाले भाँचिन पुगेको छ । यहाँको मानिसहरू देखेर डर लाग्न थालेको छ । भोलिको भविष्य के होला भनेर सोच्न बाध्य बनाइरहेको छ । आफ्नो भविष्य र आफ्नो छोरीको पालनपोषण सोच्दाखेरि आफ्नै देश फर्किंऊँ जस्तो लाग्छ । तर फेरि मेरो श्रीमान्, मेरा यहाँ रहनु भएका आमा–बाबाको जिम्मेवारीले यत्तिकै रोकेर राख्छ । मलाई थाहा छ- म अब यहीँकी भएर सधैँसधैँका लागि रहनुपर्छ ।
यत्ति हो, मानवताभन्दा ठूलो अरु कुनै पार्टी, राजनीति, देश हुँदै । करुणा, सहानुभूति र दया मानवताको आधार हो । मानवताबिना संसार सम्भव छैन ।
(शेर्पा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकी बुहारी हुन् ।)

Leave a Reply