संयुक्त राजनीतिक पहलका लागि Gen-ZYX ले थाल्यो अभियान

काठमाडौं । जेनजी आन्दोलन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे केही युवाहरूको पहलमा ‘संयुक्त राजनीतिक पहल’ सुरू भएको छ । सङ्क्रमणकालीन राजनीतिलाई थप लोकतान्त्रिक, अग्रगामी र परिणाममुखी बनाउन सबै क्षेत्रसँग समन्वय, बहस र सहकार्य गर्नुपर्ने भन्दै उनीहरूले अग्रसरता देखाएका छन् ।

यो अभियान छेड्नेमा नागरिक संगठनका प्रतिनिधि, ठूला दलका केन्द्र र प्रदेश कमिटीमा रहेका युवा नेताहरू संलग्न रहेको अभियानका एक अगुवाले नेपाल प्रेसलाई बताए ।

Gen-ZYX सम्मिलित यो अभियानले भ्रष्टाचार, यथास्थिति र बेतिथिका विरुद्ध उठेको जेन-जी पुस्ताको सफल विद्रोहको सम्मान गरेको छ । आन्दोलनबाट उत्पन्न राजनीतिक सङ्क्रमणलाई अग्रगामी निष्कर्षमा पुर्‍याई विकास र समृद्धि हासिल गर्न सचेततापूर्वक अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ ।

‘देश निर्माणको प्रश्न साझा सरोकार र प्रयासको विषय भएकाले संयुक्त राजनीतिक पहल मूलतः तीन पुस्ता (जेन-जीको ऊर्जा र साहस, जेन-वाईको बुद्धि,विवेक र ज्ञान एवम् जेन–एक्सको अनुभव र परिपक्वता) लाई संयोजन गरी पहल लिनुपर्ने अपरिहार्यता ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा राजनीतिक दल देश निर्माणका लागि जिम्मेवार हुने भन्दै यसका लागि देश निर्माण गर्न सक्ने स्तरको राजनीतिक दल बन्नु पहिलो सर्त भएको उनीहरूले बताएका छन् ।

‘राजनीतिक दल बन्न नसकेको अवस्थामा मूलधारका पार्टीका शीर्ष नेतृत्वले तत्काल राजनीतिबाट सन्यास लिई दलभित्रको लोकतान्त्रीकरण, रूपान्तरण र पुस्तान्तरण सुनिश्चित गर्न माग गरौं’, उनीहरूले भनेका छन् ।

राज्यबाट भएको दमन र अवाञ्छित तत्त्वहरूबाट भएको निजी क्षेत्र एवं राज्यका महत्त्वपूर्ण भौतिक संरचना र जनधनको क्षतिको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कानूनी कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न पनि उनीहरूको माग छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *