काठमाडौं । सन् १७७९ मा अमेरिकाको राष्ट्रपतीय शासन प्रणालीको संविधान बन्नुभन्दा झण्डै ५०० वर्ष अगाडि नै बेलायतमा संसदीय शासन प्रणालीको शुरुवात भइसकेको थियो । फ्रान्सका राजनीतिक दार्शनिक मन्टेसक्यूको धारणा बेलायतमा शक्तिशाली संसदीय प्रणाली र अमेरिकामा आकर्षक राष्ट्रपतीय प्रणाली आज पनि विश्वका अधिकांश देशमा अभिन्न राजनीतिक आदर्श मानिन्छन् ।
राजनीतिमा अकाट्य दर्शन र प्रणाली हुँदैन । त्यसैले जनमतलाई राजनीतिक दर्शन र प्रणालीको मुख्य आधार मान्छन्, जेएस मिल । उनी स्वतन्त्रता र प्रजातन्त्रका प्रवद्र्धक हुन् । १८ औँ शताब्दीपछिको औद्योगिक क्रान्तिले थप उत्साह दिएको बजारको स्वतन्त्रतालाई कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तले थुप्रै चुनौति दियो ।
यो चुनौतिलाई चाहे संसदीय शासन प्रणाली होस् या राष्ट्रपतीय शासन प्रणाली, दुबैले बजारको स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकार गरे । तर, राजनीतिभित्रको स्वतन्त्रतामा राजनीतिक दल र सत्ताको मोह कति उत्कर्षसम्म पुग्यो भन्ने कुरा प्रथम, दोस्रो विश्वयुद्ध र १९७० पछि जन्मेको नयाँ विश्व व्यवस्था र अहिलेको पूर्वी र पश्चिमी प्रजातन्त्रबीचको फरकले संसारलाई द्वन्द्वमा मात्र फसाएन, यसले राजनीति र बजारको अवसरमा समेत ठूलो खाडल पैदा गर्यो ।
प्रविधिमा एआईको प्रयोग र जीवनपद्धतिमै प्रविधिको स्वभावमा रमाउन पुगेको ९० को दशकपछिको पुस्तालाई उन्नत मानिएका राजनीतिक प्रणालीले विश्वास गरेनन् र स्वीकार गर्न पनि सकेनन् । कर्मचारीतन्त्रीय पदसोपान र नियन्त्रण प्रणालीमा आधारित प्रचलित संसदीय र राष्ट्रपतीय शासन प्रणालीभित्र नयाँ सोच, स्वभाव, नतिजा र चुनौतिलाई स्वीकार गर्न कतिपय देशका नेतृत्व तयार भएनन् र योग्य पनि देखिएनन् ।
यो राजनीतिक प्रणालीको ‘जेनेरेसन ग्याप’ हो । तर, यो स्वीकार गर्न पुरानो पुस्ता तयार छैन । फिलिपिन्स, श्रीलंका, बंगलादेश हुँदै नेपाल प्रवेश गरेको र इण्डोनेसिया तथा फ्रान्समा देखिएको जेनेरेशन जेड पुस्ताको आन्दोलनभित्र पूर्वी र पश्चिमी दुबै शक्तिशाली देश यसलाई आफ्नो पकडभित्रको राजनीति भनेर परिभाषित गर्दै होलान् ।
यो अलेक्जेन्डर र मुगलको साम्राज्य विस्तारको नीतिभन्दा फरक छैन । ती साम्राज्य पनि कालान्तरमा विलय भए । तर, परिवर्तन यद्यपि छँदैछ । अहिले देशभित्रको शासनमा खेल्नेलाई के थाहा १ परिवर्तन उनीहरूको पोल्टाबाट बाहिर जाँदैछ ।
जेनेरेशन जेडको आकांक्षा र परिवर्तनको भुमरी क्रमशः प्रजातान्त्रिक आदर्श बोकेका भारत, अमेरिका लगायतका देशबाट नै बढी आकर्षित छन् । किनभने १९९० दशकपछिको पुस्ता नयाँपन चाहन्छ, स्वतन्त्रता चाहन्छ । त्यो स्वतन्त्रता राजनीतिभन्दा माथिको होस् भन्ने उसलाई लाग्छ र यसको जन्म तिनै देशबाट भएको हो । अहिले विश्वका सबै देशमा यो चेतना फैलिँदैछ ।
अहिलेको नयाँ पुस्तालाई राष्ट्रपति वा कुनै शासन प्रणालीभन्दा माथिको समानता चाहिएको छ । यो समयको माग हो । पुँजीले प्रविधिलाई यति माथि उठायो कि अब ऊ देशगत असमानताभन्दा पनि ‘वसुधैव कुटुम्बकम’ मा विश्वास गर्न थालेको छ ।
यो १९९० को दशकपछिको विश्वव्यापीकरणको उच्चतम लाभ वा हानीको नतिजा हो । हामीले खोजेको पुँजीवादको उत्कर्ष यही हो र यसमा कुनै पनि राजनीतिकर्मी वा नेतृत्व पछुताउनुपर्ने वा डराउनुपर्ने जरुरी छैन ।
यो परिवर्तनले हामीले खोजेको राजनीति, वाद वा दर्शनभन्दा फरक, मानवता र विश्व भातृत्वतिर बढ्न संकेत गर्छ र यसले कुनै पनि समूह वा स्वार्थको रक्षा गर्दैन । अहिलेको विश्वमा देखिएको जेनेरेशन जेडको एउटै स्वर, एउटै भावना र एउटै दृष्टिकोणले विश्व अर्थ र राजनीति दोस्रो चरणमा प्रवेश गर्दैछ भन्ने कुराको संकेत मिलेको छ, र यो क्रमशः हुने नै छ ।
अर्थराजनीतिको पहिलो चरण धर्म र समाजका कठोर नियम थिए । दोस्रो चरण पुँजी र व्यापारको कठोर र एकाधिकार प्रणाली थियो र यसैको उत्कर्षमा जन्मेका राजनीति र अर्थशास्त्रभित्रका दर्शनले आजसम्म संसारका देशमा शासन गरे । धरातल यही नै हो । अबका दशकमा प्रविधिले राजनीति र बजार दुबैलाई छुट्टै युगमा प्रवेश गराउँदैछ । जसको संकेत अहिलेका युवाले दिन थालिसकेका छन् र यसैलाई पुराना पुस्ताले विद्रोह ठान्छन्, जेनेरेशन जेडको आन्दोलन मान्छन् । तर, यो समयले ल्याएको परिवर्तन हो ।
प्रत्येक परिवर्तनलाई विश्व वातावरणले प्रभाव पारेको छ । त्यसैको प्रभाव नेपालमा परिसकेको छ । अब नेपाल नयाँ युगमा प्रवेश गर्दैछ ।
नेपालको राजनीति परिवर्तन नै भएन, मात्र राजनीतिक सहमति भयो । त्यसैले बेलाबेला जन्मेका आदर्श नेता त्यही राजनीति प्रयोगमा बिलिन भए । अहिलेको जेनेरेशन जेडले त्यही खोज्दैछ । अचम्म लाग्छ, जेनेरेशन जेड पुस्ता संस्कृति, इतिहास, परम्परा र नेपाली आदर्श पुरुषको खोजी गर्दैछ । यो खोजी २००७ सालदेखि २०४६ सम्म कसैले गरेनन् । मात्र, आफ्नो खोजी गरियो ।
हामीले पनि विश्वले अपनाएका संसदीय शासन प्रणाली अपनायौँ । यो प्रणाली आफैँमा नराम्रो थिएन, तर यसका दुर्गुणलाई हामीले पन्छाएनौँ र सधैँभरि बहुमत र अल्पमतका आधारमा ‘तेरो’ र ‘मेरो’ गरेर शासन गर्यौं । संसदीय प्रणालीको सबैभन्दा खराब पक्षलाई अपनाइयो । यही पक्षले आज नयाँ पुस्ताको हातमा शासन पुर्याएको छ ।
जेएसमिल र जोन लकको आदर्श प्रजातन्त्र अहिले २१ औँ शताब्दीमा देखिँदैछ । अहिले जेनेरेशन जेडले खोजेको स्वतन्त्रता, उन्नत प्रजातन्त्रभन्दा कम देखिँदैन ।
यति हो, यो प्रयोगधर्मी हुनसक्छ । किनकि, जेनेरेशन जेडको शुरुवात नै प्रयोगबाट हुने गर्छ र यसले नतिजा दिइसक्दासम्म आफू कति राष्ट्रवादी र कठोर हुन सकिन्छ भन्ने चुनौति सदैव रहिरहन्छ ।
र, यो चुनौतिलाई अहिलेको विश्व राजनीति र बाँडिएको प्रजातन्त्रको सीमाभित्र राखेर शासन गर्नु सानोतिनो कुरा होइन । विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको जेनेरेशन जेडलाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने कुरा हामी पछिल्ला पुस्ताले विश्वास गर्नुपर्छ ।
त्यसैले परिवर्तनलाई सहजै स्वीकार गरेर उनीहरूलाई सहयोग गर्नु आजको सबैभन्दा ठूलो चुनौति हो । यो राजनीतिमा रमाएका र शासन प्रणालीमा अनुहार उज्यालो पार्ने वर्गलाई अप्ठ्यारो पर्ला, तर यो समयको माग हो । अबका दिनमा नेपालको भविष्य नदोहोरियोस् । जेनेरेशन जेड युवा वर्गलाई शासनमा शुभकामना ।
(समावेशी आयोगका सचिव दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)
Leave a Reply