बालुवाटारबाहिर प्रधानमन्त्रीको राजीनामा माग्दै मध्यरातमा नाराबाजी, सुधन पनि आक्रोशित

काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदभार ग्रहण गरेको १२ घण्टा बित्न नपाउँदै राजीनामा माग्न सुरू भएको छ । मध्यराति बालुवाटार बाहिर सुधन गुरुङको समूह पनि पुगेको थियो ।

नयाँ मन्त्रीको नाममा असहमति जनाउँदै युवाहरूले कार्कीको राजीनामा मागे । प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेको भन्दै आन्दोलनमा ज्यान गुमाएकाका परिवार पनि बालुवाटार पुगेका थिए । युवाहरूले आन्दोलन हाइज्याक गरेको बताए ।

प्रधानमन्त्रीले ऊर्जामन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको समाचार सार्वजनिक भएसँगै उनीहरू बालुवाटारअघि प्रदर्शनमा पुगेका हुन् ।

सुधनको समूहले आफ्नो टीमसँग सल्लाह नगरी ओमप्रकाश अर्याललाई मन्त्री बनाउन लागेको भन्दै विरोध गरे । अर्याल बालेनका कानूनी सल्लाहकार हुन् ।

सामाजिक सञ्जालमा आएका बालुवाटार बाहिरको लफडाको भिडिओमा गुरुङ ‘जनता पावरफुल हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं नि ! त्यही ठाउँबाट म थुतेर निकाल्न सक्छु । यो ओमप्रकाश लअर ! यसले त्यहाँभित्र बसेर आफैँ गृहमन्त्री बनाउँदै रैछ ।’ भन्दै आक्रोशित देखिन्छन् ।

आन्दोलनमा आफन्त गुमाएकाहरू बालुवाटार अगाडि ।

बालुवाटारको ३ नम्बर गेटबाहिर भएको प्रदर्शनमा देखिए/सुनिएका कुरा जस्ताको तस्तै

आफन्त गुमाएकी एक महिलाले सुधनलाई हात जोड्दै भन्छिन्- हिजोसम्म हजुरले नै हामीलाई न्याय दिन्छु भन्नुभएको हैन ? आज हामीसँगै आएर हामीसँग बसिरहनुभएको छ हामीले कसलाई गुहार्ने, कसलाई के भन्न जाने ?

(एकछिन प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी हुन्छ)

सुधन भन्छन्- जनता पावरफुल हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं नि ! त्यही ठाउँबाट म थुतेर निकाल्न सक्छु । यो ओमप्रकाश लअर ! यसले त्यहाँभित्र बसेर आफैँ गृहमन्त्री बनाउँदै रैछ ।

फेरि नाराबाजी हुन्छ- मुर्दामाथि राजनीति नगर ।

युवाहरूले सुधनसँग आक्रोश पोख्छन्- हाम्रो आन्दोलन किन हाइज्याक गर्न लाउनु भयो  ? अर्का युवा फेरि बोल्छन्- यो आन्दोलनको नेतृत्वकर्ता हामी हौं । हाइज्याक गरेका छन् केहीकेही साथीहरूले ।

फेरि केही युवा तात्छन्- सहजकर्ताको रूपमा आएको मान्छे गृहमन्त्री किन खायो त्यसले ?

सुधनले सम्झाउँदै भन्छन्- भोलि सबैजना बाहिर निस्किन्छन् ।

अर्को एकजना बोल्छन्- भोलि हैन अहिले निकाल्नुपर्‍यो दाइ । किन हाइज्याक गर्न लाउनुभयो दाइ ? अण्डर २८ भन्दा माथि अब यो देशमा कोही पनि लिडर हुँदैनन् ।

फेरि अर्को आवाज आउँछ- बरु तपाईँ बन्नु न यार गृहमन्त्री, तपाईँमाथि होप छ ।

तपाईँलाई समेत भित्र जान नदिने स्थिति भइसकेछ कुन हालतको र’छ । यो तपाईँलाई बाइकट हो कि तपाईँले नाटक गरेको हो ? सुधन दाइ तपाईँ भन्नु । मन्त्रिपरिषद् भको छैन भन्नुभो यता साइन गरिसके । तपाईँले यदि नाटक गरेको हो भने तपाईँलाई जनताले कुट्छन् दाइ !

(चारैतिरबाट युवाहरूले आक्रोश पोखिरहँदा सुधन मुन्टो हल्लाउँदै भिडिओ खिचिरहेका देखिन्छन् ।)

तस्बिर source : otv

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *