आन्दोलनमा क्षतिग्रस्त भक्तपुरका प्रहरी कार्यालय मर्मतमा सक्रिय स्थानीय

भक्तपुर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका भित्र रहेका  प्राय सबै प्रहरी कार्यालयहरू क्षतिग्रस्त भए । प्रहरी कार्यालयहरू क्षतिग्रस्त भएपछि प्रहरीहरू कार्यालय छाडेर हिँडेका थिए ।

प्रहरीहरू हिँडेपछि शान्ति सुरक्षामा समस्या भएपछि आफ्नो क्षेत्रमा क्षतिग्रस्त प्रहरी कार्यालयका संरचना निर्माण गरेर प्रहरीलाई कार्यालयमा नै फिर्ता गराउने उद्देश्यका साथ स्थानीयवासी प्रहरी कार्यालय निर्माणमा जुटेका छन् ।

मध्यपुर थिमी नगरपालिकाभित्र रहेका प्रहरी वृत ठिमी,प्रहरी प्रभाग नयाँ ठिमी,ट्राफिक प्रहरी कार्यालय नयाँ ठिमी र मनोहरा पुल नजिकै रहेको अस्थायी प्रहरी पोस्ट क्षतिग्रस्त भएका थिए ।

स्थानीयको सक्रियतामा अस्थायी प्रहरी पोस्ट मनोहरा र ट्राफिक प्रहरी पोस्ट नयाँ ठिमी भने पुनर्निर्माण सकेर चिटिक्क बनाइएको छ । सोमबारदेखि दुवै कार्यालयमा प्रहरीहरू नियमित रूपमा बसेर डिउटी गर्न सक्ने अवस्थामा पुगेको ती कार्यालय निर्माणमा खटिरहेका स्थानीयले जानकारी दिए ।

मनोहरा पुल नजिकै रहेको अस्थायी प्रहरी पोस्ट मर्मतको सबै जिम्मा सिन्धुपाल्चोकका भिम श्रेष्ठले लिएका थिए ।

स्थानीयको सक्रियतामा पुनर्निर्माण भइरहेको प्रहरी वृत्त ठिमीमा पुग्दा क्षतिग्रस्त प्रहरी कार्यालय पुनर्निर्माण भइरहेको थियो,क्षतिग्रस्त कार्यालयको झ्याल,ढोका मर्मत भइरहेको थियो भने पानीले पखालेर आगोबाट कालो भएको कोठाहरुको सरसफाइ पनि भइरहेको थियो । प्रहरी कार्यालय प्रवेश गर्ने गेटमा नै स्थानीयले प्रहरी चौकी पुनर्निर्माणका लागि भन्दै डेस्क स्थापना गरेर सहयोग सङ्कलन गरिरहेका थिए ।

प्रहरी वृत्त ठिमीका प्रहरीहरू अहिले बालकोट वृत्तमा बसिरहेका छन् । स्थानीयले हामी बनाउँछौ,तपाँइहरु आउनुपर्छ भनेर भन्नु भएको छ,प्रहरी वृत्त ठिमीका डिएसपी नवराज ढुगांनाले भने–बस्नका लागि योग्य भएपछि हामी आउँछौँ ।’ रासन लगायत सबै हेडक्वाटरबाटै हुन्छ,अरू आधारभूत रूपमा निर्माण हुन साथ आफूहरू कार्यालय फर्कने डिएसपी ढुगांनाले जानकारी दिए ।

अन्यत्र प्रहरी कार्यालयहरू २४ गते दिउँसो नै आगलागीमा परेपनि प्रहरी वृत्त ठिमीमा भने आन्दोलनकारीहरुले २४ गते बेलुकी ८ बजे आगो लगाइदिएका थिए । ‘हामी अन्तिमसम्म पनि कार्यालय जोगाउन सक्छौ कि भनेर प्रयत्न गरेर बस्यौ केही नलागेपछि हतियार र सवारी साधन जोगाउँदै जिल्ला प्रहरी कार्यालयमा गएको गयौँ’ डिएसपी ढुगांनाले जानकारी दिए ।

प्रहरी प्रभाग सानोठिमी पनि स्थानीयको सक्रियतामा पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माण भइरहेको प्रहरी कार्यालयमा पुग्दा मध्यपुर थिमी नगरपालिका–२ का वडा सदस्य रविन सिजापती आफैँ निर्माण कार्यमा खटिइरहेका थिए ।

उक्त प्रहरी कार्यालय पुनर्निर्माण लागि आइतबार बेलुकीसम्म साढे ६ लाख रुपियाँ नगद सङ्कलन भएको र अन्य सामग्रीहरूको पनि सहयोग प्राप्त भइरहेको स्थानीय उत्तम फुयाँलले जानकारी दिए । ‘केही दिनभित्रै प्रहरी कार्यालयबाटै नियमित रूपमा सेवा प्रवाह हुने गरी स्थानीयले काम गरिरहनु भएको छ’,कार्यालय प्रमुख वरिष्ठ सई प्रकाश बगालेले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *