सुमना र हरि ढकालबीच जुम मिटिङमा भएको थियो भनाभन, मनिष झाले के लेखेका थिए ग्रुपमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लामो समयदेखि असन्तुष्ट रहेकी सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरिदिइन् । अहिलेको यो निर्णयमा भने रवि लामिछानेको रिहाइ प्रकरण जोडिएको स्रोतहरु बताउँछन् ।

जेनजी आन्दोलनका क्रममा सभापति लामिछाने कारागारबाट बाहिर निस्किएका थिए । रास्वपा कार्यकर्तासहितको भिड कारागारबाहिर जम्मा भएर दवाव दिएपछि उनी निस्किने वातावरण बन्यो । यस क्रममा रविलाई एउटा पत्र दिइएका थियो, जुन पछि विवादित बन्न पुग्यो ।

रवि जेलबाट बाहिरिने क्रममा देखाएको विजयी भावलाई पार्टीका थुप्रै नेताहरुले सहजरुपमा लिन सकेनन् । कारागारबाट निस्किएपछि उनी एउटा क्याफेमा केही नेताहरुसहित रुफ टप गाडीको प्रतिक्षा गरेर बसेका थिए । भनेजस्तो कार आएपछि मात्रै उनी निस्किए । रविले चुनाव जितेजसरी कारको रुफटपबाट निस्किएर हात हल्लाउँदै विजयी भाव प्रस्तुत गरे । अघिपछि कार्यकर्ताहरु दौगिएका थिए ।

रवि फर्किएपश्चात उपसभापति डिपी अर्यालले अंकमाल गर्दै भावुकता प्रदर्शन गरेका थिए । यस्तै, केही नेताहरुले फेसबुकमा ‘टाइगर इज ब्याक’ भन्दै अनावश्यक गर्जन गरेपछि आलोचना खेप्नु परेको थियो । यो सबै विषयलाई लिएर सुमना लगायत सिमित नेताहरुले पार्टीभित्र असन्तोष पोखेको स्रोतको भनाइ छ ।

रविका कट्टर समर्थक रहेका प्रवक्ता मनिष झाले समेत पार्टीको ह्वाट्सएप गु्रपमा जेलबाट निस्किने क्रममा कमजोरी भएको बताएका थिए ।

उनले लेखेका छन्, ‘हिजो कारागारमा भिड जम्मा गर्नु गलत थियो । थपक्क हिँड्दै अगाडि नबढेर रेस्टुरेन्टको बरन्डामा रोक्नु गलत थियो । सन रुफ भएकै गाडी चाहिन्छ भनेर पर्खिनु गलत थियो । यहाँबाट चाँडै निस्किउँ यहाँ नबसौं भन्दै थिए, तर साथीहरुलाई तत्कालीक पब्लिक क्रेज प्यारो लाग्यो । अहिले गाह्रो भएको छ ।

केन्द्रीय सदस्य गणेश कार्कीले भने रविले प्रशासनबाट लिएको पत्रमा आपत्ति जनाएका थिए । पत्रको भाषा र भाव वैधानिक नरहेको उनको भनाइ थियो ।

एक केन्द्रीय सदस्यका अनुसार रवि निस्किएकै राति भएको भर्चुअल वैठकमा यो विषयमा चर्को वादविवाद नै भएको थियो । सुमनाले रवि कारागारबाट मौका छोपेर निस्किनु गलत भएको तर्क गरेकी थिइन् । रविलाई छुटाउन जानेहरुले गल्ति स्वीकार गर्नुपर्ने उनको माग थियो । तर, रविनिकट नेताहरुले कडा प्रतिवाद गरे । हरि ढकाल र सुमनाको केहीबेर भनाभन नै भएको स्रोतको भनाइ छ ।

ढकालले ‘बाघका छालामा स्यालका रजाईं’ भन्दै सुमनालाई खिस्याएका थिए । ‘रवि लामिछानेकै कारण सांसद बनेकाहरुले आफ्नो हैसियत बिर्सिन नहुने’ उनले बताएपछि सुमना आक्रोशित बनेकी थिइन् ।

स्रोतले भन्यो, ‘एकपटक होइन, दुईपटक होइन, पाँचसात पटक हैसियतबारे प्रश्न उठाएपछि उहाँलाई नैतिकरुपमा पार्टीमा बस्न असहज भएको थियो ।’

सुमनाले पार्टी छोड्दैछन् भन्ने भेउ रविले पनि पाइसकेका थिए । त्यसको छनक हिजो उनले कारागार निस्किनु अघि लेखेको स्टाटसमा भेटिन्छ । उनले कसैको पनि नाम उल्लेख नगरिकन पार्टीका केही नेताहरुप्रति असन्तोष पोखेका थिए ।

रविले लेखेका छन्, ‘आफ्नै पार्टी परिवारभित्र का साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु।’

स्रोतका अनुसार रास्वपाभित्र अन्य केही नेताहरु पनि बढ्दो रुपमा असन्तुष्ट छन्, तर खुल्न सकिरहेका छैनन् । केही नेताहरु पर्ख र हेरको स्थितिमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *