जेनजी आन्दोलन इतिहासको निरन्तरता मात्र होइन, समृद्धिको नयाँ चेतना हो

हरि जोशी

नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा पुगेको छ । संक्रमणका दशक, असफल नेतृत्व र नागरिक असन्तुष्टिका भारीबीच देश फेरि एक पटक नयाँ प्रश्नको घेरामा छ, देश बन्छ त अब ?

इतिहासका आन्दोलनः आशा र निराशाको चक्र
नेपालले यस्ता प्रश्नहरू पहिले पनि धेरै पटक सोधिसकेको छ । २०४६ को जनआन्दोलनले नेपालमा बहुदलीय प्रजातन्त्र फर्कायो । जनताले ठूलो मूल्य चुकाएर ल्याएको लोकतन्त्रप्रति अपार आशा राखे । तर, त्यस यता सत्ता–संघर्ष, भ्रातृघाती कलह र नेताहरूको स्वार्थी व्यवहारले छिट्टै निराशामा परिणत भयो ।

२०६२ ६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्यो । त्यो बेला पनि जनताले सोचे अब देश नयाँ बाटोमा लाग्छ । तर गणतन्त्र स्थापनापछि दलहरूको चरम विभाजन, असफल सत्ता व्यवस्थापन, चरम भ्रष्टाचार र असमानताले फेरि नागरिकको भरोसा खिइयो । यी आन्दोलनहरूले व्यवस्था बदल्ने काम त गरे, तर सोच, संस्कार र राजनीतिक कार्यशैलीमा जति सुधार हुनुपर्ने थियो, त्यो हुन सकेन । यही कारण, आजको पुस्तामा निराशा बढेको छ ।

पुरानोको विरोध, नयाँ खोजी
हालैको जेनजी आन्दोलन त्यही इतिहासको निरन्तरता मात्र होइन, समृद्धिको नयाँ चेतनासमेत हो ।

पुराना दलहरूले बारम्बार असफलता दोहोर्याएपछि, नयाँ पुस्ताले अब पुराना बाटोले हुँदैन भन्ने निष्कर्ष निकालेका छन् । उनीहरूको क्रोध र आक्रोश केवल नारा मात्र होइन, एक पुस्ताको सामूहिक बेचैनी हो, रोजगारको अवसर नपाउने, भ्रष्टाचारको दलदलमा भविष्य गुमाउने, अनि न्यायालयदेखि संसदसम्मै दलको हस्तक्षेप सहनुपर्ने स्थितिको ।

तर, जेनजी आन्दोलन केवल असन्तुष्टिको विष्फोटमात्र होइन । यसले देखायो कि, नयाँ पुस्ता व्यवस्थाभित्रै सुधार खोज्छ र क्रान्ति होइन, सुधारमार्फत भविष्य सुरक्षित गर्न चाहन्छ । नेपालको राजनीतिक इतिहास नियाल्दा, प्रत्येक पुस्ताले आफ्नै तरिकाले परिवर्तनका लागि आवाज उठाएको देखिन्छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना गर्यो, २०६२र६३ को जनआन्दोलनले गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्यो। यी आन्दोलनहरूमा युवाको अग्रसरता प्रमुख थियो ।

हालको जेनजी आन्दोलन पनि यही ऐतिहासिक यात्राको निरन्तरता हो, तर यसले पुराना आन्दोलनभन्दा फरकखालको नयाँ चेतना बोकेको छ । अघिल्ला आन्दोलनहरूको केन्द्रमा राजनीतिक दल, विचारधारा र सत्ताको पुनर्संरचना थिए । तर, जेनजी आन्दोलनको केन्द्रमा व्यवस्था भित्रै सुधार, पारदर्शिता, रोजगारी, अवसर र समान पहुँचको माग छ ।

यो पुस्ता अन्तर्राष्ट्रिय प्रवृत्तिबाट पनि प्रभावित छ– सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र वैश्विक मूल्य बोध यसको हतियार र दिशानिर्देशक बनेका छन् ।

इतिहासमा जनताले सडकमा उत्रेर अधिकार माग गरेका छन् । जेनजी आन्दोलनले पनि सडक रोज्यो, तर यसको भाषाशैली फरक छ – समानता, पारदर्शिता, सुशासन र समृद्धि ।
जहाँ पुराना आन्दोलनले संरचनात्मक परिवर्तनमा जोड दिए, यो आन्दोलनले संस्थागत अभ्यास सुधार र राजनीतिक संस्कृतिको परिमार्जनमा जोड दिएको छ । जेनजी पुस्ता केवल राजनीतिक परिवर्तन होइन, आर्थिक रूपान्तरण चाहन्छ । यसले शिक्षा, प्राविधिक सीप, रोजगारी, उद्यमशीलता, सामाजिक न्याय, वातावरणीय दिगोपन जस्ता मुद्दालाई प्राथमिकतामा राखेको छ । राजनीति सत्ता प्राप्तिको खेल भन्ने धारणालाई यस आन्दोलनले तोड्दै, राजनीति समृद्धि र सुशासनको मार्ग भन्ने नयाँ दृष्टिकोण स्थापित गर्न खोजेको छ ।

किन आवश्यक छ पार्टी पुनर्गठन ?
दलीय व्यवस्था लोकतन्त्रको आधार हो । पुराना दलहरूको पुनर्गठनबिना यो चेतना संस्थागत गर्न सजिलो छैन । नेपालका राजनीतिक दल दशकौँसम्म सत्तासंघर्षमै अल्झिए । नीति, विचार र सिद्धान्तमा भन्दा पनि सत्ता र स्वार्थमा केन्द्रित रहँदा देशले अवसर गुमायो । आन्तरिक लोकतन्त्रको अभावमा नेताहरू जीवनभर पदमा टाँसिने, नेतृत्व हस्तान्तरण नहुने परम्परा पुराना राजनैतिक दलमा व्याप्त छ । विचार र कार्यशैलीमा स्थिरता नहुँदा जनताका प्राथमिकताभन्दा पदको हिसाबले गठबन्धन बनाउने परम्परा निरन्तर चल्यो । भ्रष्टाचार र पहुँचवादी राजनीतिक अभ्यासमा लिप्त पार्टीहरू युवाको उर्जा र विशेषज्ञतालाई प्रयोग गर्ने ठाउँ नभई, पहुँच र पैसाले चल्ने संरचना बनाउनमै केन्द्रीत भए ।

यी प्रवृत्तिले दलहरूलाई संस्थागत कमजोर बनाएको छ । दल कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्ने अवस्था सिर्जना भयो । अब दलहरु व्यापक पुनर्गठनको दिशामा लाग्नुको अर्को विकल्प छैन । अब दलहरूले केवल नामका साइनबोर्ड फेरेर वा कार्यकर्तामुखी घोषणापत्र जारी गरेर मात्र जनताको विश्वास पाउने छैनन् । अहिलेको नागरिक असन्तुष्टि केवल दलहरूप्रति होइन, राजनीतिक प्रणाली नै संकटमा परेको अनुभूतिमा बदलिएको छ । दशकौँदेखि पदमा बसिरहेका नेताले मार्गदर्शन मात्र गर्ने, वास्तविक नेतृत्व युवा पुस्ताले लिन सक्ने वातावरण सृजना गर्न सक्ने प्रतिवद्धता आवश्यक छ ।

दलभित्रै पारदर्शी निर्वाचन, जवाफदेही नेतृत्व र नीति–निर्माणमा कार्यकर्ताको सहभागितामा आन्तरिक लोकतन्त्र मजबुत बनाउने अभ्यासमा सामुहिक निर्णय जरुरी छ । ठग्ने अस्थायी गठबन्धन होइन, दीर्घकालीन नीति र सिद्धान्तमा आधारित राजनीति लाई संस्थागत गर्न विचार र नीतिको स्पष्टता विना जनतालाई विश्वास दिलाउन सक्ने अवस्थामा दलहरु छैनन् । पार्टीको गतिविधि केवल चुनावको बेला मात्र होइन, निरन्तर नागरिकसँग संवादमा आधारित बनाउन जरुरी छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारिक अभ्यासमा लागु गर्नुपर्छ, जनताको सबैभन्दा ठूलो माग यही हो ।

सुशीला कार्कीको नेतृत्व र जेनजी पुस्ताको ऊर्जा मिलेर एउटा नयाँ सुरुवात गर्ने सम्भावना देखिएको छ । तर, यदि पुराना दल जस्ताको तस्तै रह्यो भने, त्यो सम्भावना पनि इतिहासकै अर्को असफलतामा परिणत हुनेछ । तर, यदि यो पुस्ता आफ्नो नैतिकता, पारदर्शिता र समृद्धिको एजेन्डामा अडिग रहनसक्छ भने, यसले नेपाललाई अवस्थामात्र होइन, दिशा बदल्ने क्षमता राख्छ । जेनजी आन्दोलन कुनै अचानक जन्मिएको घटना होइन, यो नेपालको राजनीतिक इतिहासको क्रमागत निरन्तरता हो । तर, यसको विशिष्टता भनेको– यसले केवल विगतलाई निरन्तरता दिने मात्र होइन, भविष्यलाई समृद्धि, अवसर र सुशासनको नयाँ चेतना दिने क्षमता बोकेको छ ।

यसैबीच, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिले देशको राजनीतिक दिशा फेरिएको छ । कार्कीलाई न्यायपालिकामा इमानदार, दृढ र भ्रष्टाचारविरोधी नेताको रूपमा जनताले पहिचान गरेका छन् ।

उनको नेतृत्वमा सरकार बनेपछि नागरिकमा आशा जागेको छ । अब प्रणाली सफा हुन्छ । राजनीतिक स्वार्थभन्दा इमान्दारिता अग्रसर हुन्छ । तर, चुनौति गम्भीर छ । पुराना दलले आफ्नो शक्ति र स्वार्थ गुमाउन चाहँदैनन् । कार्कीलाई असफल बनाउन, अवरोध सिर्जना गर्न र फेरि पुरानै सत्ता खेलतर्फ फर्काउने प्रयास हुने सम्भावना उच्च छ । इतिहासले देखाएको छ, २०४६ र २०६२–६३ मा नागरिकले प्रणाली बदल्न सके, तर संस्कार बदल्न सकेनन् । तर, जेनजी पुस्ता मुलुक निर्माणका निम्ति आतुर देखिन्छ । उत्साहित देखिन्छ ।

अब, जेनजी आन्दोलन र सुशीला कार्कीको नेतृत्वबीच एउटा नयाँ अवसर आएको छ । प्रश्न यहीँ छ, के हामी फेरि पुरानै गल्ती दोर्होयाउँदै रु कि, यसपटक सचेत नागरिक, दबावमूलक युवा पुस्ता र इमानदार नेतृत्वको संयोजनले वास्तवमै प्रणालीलाई सुधार गर्छ रु यदि हामीले यो अवसर गुमायौँ भने, फेरि दशकौँसम्म देश बन्छ त अब रु भन्ने प्रश्न उठिरहने छ ।

तर, यदि यसपटक नागरिक निरन्तर सचेत भए, दलहरूलाई जवाफदेही बनाउन सके र सुधारलाई संस्थागत गर्न सके नेपालले अबको यात्रा नयाँ अध्यायका रूपमा लेख्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *